काठमाडौं- कोशी प्रदेशले क्यासिनो सञ्चालनमा मनोरञ्जन कर लिने भएको छ। प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको कोशी प्रदेश आर्थिक ऐन २०८१ मा क्यासिनो सञ्चालनमा वार्षिक मनोरञ्जन कर लगाउने विषय उल्लेख छ।
यसअघि क्यासिनो ग्राहकबाट प्रतिव्यक्ति एकसय रूपैयाँ मनोरञ्ज कर लिने व्यवस्था थियो। यसलाई संशोधन गर्दै प्रतिव्यक्ति १ सय ५० रूपैयाँ र होटल वर्गीकरणअनुसार क्यासिनो सञ्चालनबापत वार्षिक कर लिने गरी ऐन प्रस्ताव गरिएको हो।
तीनतारे स्तरको होटलको हकमा वार्षिक ५ लाख, चारतारेको हकमा १० लाख र पाँचतारेमा सञ्चालन हुने क्यासिनोले १५ लाख रुपैयाँ वार्षिकरुपमा मनोरञ्जन कर तिर्नुपर्ने छ। यो व्यवस्था कोशीले पहिलोपटक गरेको हो।