काठमाडौं- पछिल्लो समय ठूला क्षमताको जलविद्युत परियोजना निर्माणमा निजी क्षेत्र तम्सिएका छन्। विगतमा केही किलोवाटदेखि १० मेगावाटसम्मका जलविद्युत परियोजना निर्माणमा केन्द्रित निजी क्षेत्र पछिल्लो समय भने एकपछि अर्को ठूला आयोजना निर्माणमा केन्द्रित भएका छन्।
जलविद्युतमा बैंक तथा वित्तीय क्षेत्रले समेत लगानी बढाउँदै लगेका छन्। नेपाल राष्ट्र बैंकले पनि जलविद्युतमा लगानी गर्न बैंकहरूलाई अनिवार्य नै गरेको छ। जसका कारण पनि ठूला आयोजना निर्माणमा निजी क्षेत्र लागेका छन्।
पछिल्लो समय स्वदेशी निजी लगानीमा निर्माणमा जानका लागि अपर तमोर इनर्जीले वित्तीय व्यवस्थापन गरेको छ। जसले २ सय ८५ मेगावाट क्षमताको आयोजना निर्माण सुरु गर्न वित्तीय व्यवस्थापन गरिसकेको छ। जसमा ५५ अर्ब रुपैयाँभन्दा बढी लगानी हुँदै छ। निर्माण चरणमा गएको यो नेपालकै ठूलो आयोजना हो।
तमोर इनर्जी मात्रै नभएर अहिले तीन दर्जन ठूला आयोजना निर्माणमा स्वदेशी निजी लगानीकर्ता लागेका छन्। जसमा ७० मेगावाटभन्दा माथि ६ सय मेगावाट क्षमताका परियोजनासम्म निर्माणको तयारी गरेर वित्तीय स्रोत जुटाउन लागिपरेका छन्।
पछिल्लो समय ४० कम्पनीमार्फत ५ हजार ९ सय १७ मेगावाट बिजुली उत्पादनका लागि निर्माणको तयारी भइरहेको छ। जसमा सबै स्वदेशी नेपाली प्रवर्द्धकहरू रहेका छन्। ती आयोजनाहरू ७० मेगावाटदेखि ६ सय मेगावाटसम्मका रहेका छन्। अहिलेको निर्माणको अधारलाई मान्दा ५ हजार ९ सय १७ मेगावाट क्षमताको परियोजनामा ४० कम्पनीले मात्रै १० खर्ब ६५ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दैछन्।
‘विगत लामो समयदेखि सानाबाट सिक्दै जोखिम र वित्तीय अवस्था हेर्दे अहिले ठूला आयोजना निर्माणमा जान सक्ने क्षमता निजी क्षेत्रले बनाएका छन्,’ अपर तमोर इनर्जी कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले भने, ‘२१ वर्षअघि १ मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै २ सय ८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुगेका छौँ, यो नै सफलता हो।’
विगतकै सरकारले लिएको निजी क्षेत्रमैत्री नीतिका कारण लगानी गर्न सक्षम हुँदै गएपनि अहिले पनि जग्गा हदबन्दी, वन र स्थानीयको समस्या समाधानमा सधैँ जटिलता हुने गरेको उनले बताए।
सरकारले अनुमति दिने प्रक्रिया साथै अन्य काममै ३ देखि ५ वर्षसम्म लगाउने परम्पराले गर्दा लागत नै महँगो परेकोसमेत ढुंगाना बताउँछन्। ‘आगामी दिनहरूमा सरकारले सहजता दिने काम गरेमा निजी क्षेत्र अझै ठूलो लगानी जलविद्युतमा गर्न तयार भएर बसेको छ,’ ढुंगानाले भने।
७० मेगावाटभन्दा माथि ६ सय मेगावाट क्षमताका जलविद्युत परियोजना निर्माणको तयारीमा निजी क्षेत्र जुटेका छन्। जसमा ४० कम्पनीहरूले झन्डै ६ हजार मेगावाट बिजुली उत्पादनको तयारी गरेका हुन्। जसमा कुनै निर्माणमा जान अन्तिम तयारीमा छन् भने कतिपय आयोजना वित्तीय स्रोत जुटाउनमा केन्द्रित छन्। निर्माण सुरु भएपछि ३ देखि ५ वर्षभित्र निर्माण सम्पन्न गर्न निजी क्षेत्र केन्द्रित छ।
पछिल्लो समय निर्माणमा जान लागेका नेपाली प्रवर्द्धक रहेका तीन दर्जनभन्दा बढी आयोजना रहेका छन्। अपर तमोर इनर्जीले २ सय ८५ मेगावाट, समृद्धि इनर्जीले २ सय १६ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ।
त्यस्तै साहस ऊर्जाले ८६ मेगावाट, ब्लु इनर्जीले १०० मेगावाट, नेपाल पोर्टफोलियो इनर्जीले १ सय १० मेगावाट, ऊर्जा डेप्लभरर्सले १ सय ११ मेगावाट, बिजबेल इनर्जीले ७० मेगावाट, ऊर्जा डेप्लभर्सले नै १ सय ६६ मेगावाट, सानिमा मिडिल तमोर हाइड्रोले ७३ मेगावाट, सासासुङी पावर लिमिटेडले ७८ मेगावाट, दूधकोशी हाइड्रोपावरले ७० मेगावाट, मेवा डेप्लभर्सले ७३.५ मेगावाटका जलविद्युत आयोजना निर्माण गर्दै छन्।
यस्तै पान हिमालय इनर्जीले ७७ मेगावाट, निलगिरिखोलाले ७१ मेगावाट, दुगर ब्रोदर्स हाइड्रोपावरले १ सय ४० मेगावाट, गण्डकी इनर्जीले १ सय ५२ मेगावाट, हिमताल हाइड्रोपावरले ३ सय २७ मेगावाट, तपोवन हाइड्रोपावरले ७२ मेगावाट, अभियान पावरले ८० मेगावाट, एमए पावरले १ सय मेगावाट, स्पार्क हाइड्रोइलेक्ट्रिकले १ सय २८ मेगावाट, बुटवल पावरले १ सय ४० मेगावाट, नासा हाइड्रोपावरले १ सय ६० मेगावाट क्षमताको परियोजना निर्माण गर्दै छन्।
क्रिस्टल पावरले १ सय ६६ मेगावाट, टाइम्स इनर्जीले ३ सय ४१ मेगावाट, अन्नपूर्ण विद्युत विकासले ८५ मेगावाट, केबिएनआर इुसुवा पावरले ९७.२ मेगावाट, हिमाताल हाइड्रोपावरले ६ सय मेगावाट, एमपीक इनर्जीले १ सय ३२ मेगावाट, युनियन हाइड्रोपावरले ७२ मेगावाट, सूर्य इनर्जीले ९१ मेगावाट, बुटवल पावरले १ सय ५९ मेगावाट, समिट पावरले १ सय ८८ मेगावाट, रुरु जलविद्युतले २ सय ३५ मेगावाट, रुरु जलविद्युतले नै अर्को ३ सय ३५ मेगावाट आयोजना निर्माणको प्रक्रिया सुरु गर्दै छ।
त्यस्तैगरी इन्टरग्रेटेड मोबिलिटी सोलुसनले ३ सय २५ मेगावाट र एनडब्लूइडब्लू इनर्जीले पनि २ सय १६ मेगावाटको आयोजना निर्माणको प्रक्रिया सुरु गर्दै छन्।