मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

महाभारतमा विद्युतीकरणले सहज बन्दै जनजीवन

images
मंगलबार, असार ४ २०८१
images
महाभारतमा विद्युतीकरणले सहज बन्दै जनजीवन

यसअघि कुटनीपिसनी तथा तोरी पेल्नका लागि भकुण्डे र बनेपासम्म पुग्नुपर्ने बाध्यता थियो। अहिले गाउँमा नै मिल सञ्चालन भएपछि सहज भएको छ।

images
images

काभ्रेपलाञ्चोक- जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका-४ का देव तामाङले मःम पसल सञ्चालन गर्दै आएको पाँच वर्ष भयो। वडा नं ५ को किल्लामा पसल सञ्चालन गर्दै आएका उनले गाउँमा विद्युतको सुविधापछि आम्दानी पनि बढेको अनुभव सुनाए।

images
images
images

यसअघि सोलार प्रयोग गरी मःम बनाउने र विभिन्न सामान तयारी गर्दा घाम लाग्ने समयमा मात्रै मेसिन चल्दा कहिलेकाहीँ अप्ठ्यारो हुने भए पनि अहिले केन्द्रीय विद्युतीकरणको सेवा विस्तारले निकै सहज भएको उनको भनाइ छ। 'अहिले बत्तीको उपभोग गर्न पाएपछि सामान तयार गर्न र फ्रिजमा राख्न सजिलो भएको छ', उनले भने।

images
images

रोशी गाउँपालिका घर भइ महाभारत गाउँपालिका-५ मा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएका महेश सुन्दासले पनि बत्तीको सुविधाले काममा सहज भएको बताए। बत्तीको सुविधापछि मेसिन चलाएर चाँडो काम गर्न सकिएको उनले सुनाए।

images
images

केन्द्रीय प्रसारण लाइन पुगेपछि वडा नं ५ चारकिल्लाका कान्छामान ग्लानले गाउँमा नै कुटानी/पिसानी मिल सञ्चालन सुरु गरेका छन्। आफूले सुरु गरेको सो व्यवसायले गाउँमा पनि सुविधा पुगेको उनले बताए। गाउँमा नै मिल सञ्चालमा आएपछि मकै, कोदो, फापर र गुहँलगायत तोरी र सस्र्युं पेल्नका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ। यसअघि कुटनीपिसनी तथा तोरी पेल्नका लागि भकुण्डे र बनेपासम्म पुग्नुपर्ने बाध्यता थियो।

महाभारत-४ कलवानका स्थानीय दीपेश लामा र वडा नं ३ का दिलकुमार आले मगरले बत्ती पुगेपछि विद्यार्थीको पढाइमा सहयोग पुगेको बताए। महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मुलुक संघीय संरचनामा गएपछि विकट बस्तीमा विद्युत् र सडक सञ्जाल पुर्‍याउन स्थानीय जनप्रतिनिधिले खेलेको भूमिका महत्वपूर्ण भएको बताए।

नेपाल विद्युत् प्राधिकरणको आयोजना तथा विश्व बैंकको लगानीमा २०७७ सालबाट सुरु भइ महाभारत गाउँपालिकालाई २०८१ मा पूर्ण विद्युतीकरण भएको पालिका घोषणा गरिएको थियो। 'पहिले टुकी बत्तीदेखि केही ठाउँमा साना लघुजलविद्युत् र सोलारमा आश्रित यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन विस्तारपछि खुसी भएका छन्।'

अहिले गाउँमा योजनाबद्ध विकासका आयोजना अघि बढाइएको उल्लेख गर्दै उनले डेढ वर्षभित्र कालोपत्र सडकको पनि पहुँच विस्तार हुने बताए। साथै खानेपानी, मुख्य सडकदेखि वडाहरु जोड्ने साना सडक निर्माण र कृषि उत्पादनका लागि कफी पकेट क्षेत्र घोषणा गरिएको उनको भनाइ छ। यसका लागि पालिकाले आवश्यक सहजीकरण गरिरहेको उनले बताए।

पूर्ण विद्युतीकरण घोषणाका अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अब काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत र खानीखोला गाउँपालिकाले काभ्रेको कर्णाली भनिरहनुपर्ने स्थिति नरहने अवस्था बनाउने बताएका थिए।

विकटका बस्तीलाई विकासको मूल प्रवाहमा ल्याउन आवश्यक विद्युतीकरणको काम भइरहेको र सडक सञ्जालले जोड्नका लागि जनमुक्ति मार्ग निर्माणको अभियान तीव्र गतिमा भइरहेको उनको भनाइ थियो। मन्त्री बस्नेतले महाभारत गाउँपालिकालाई गत जेठ ३१ गते पूर्ण विद्युतीकरण पालिका घोषणा गरेका थिए। रासस


प्रकाशित : मंगलबार, असार ४ २०८११५:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend