काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ का लागि जेठ १५ मा आएको बजेटले विद्युतीय सवारीमा कर बढाएको थियो। बजेटमा कर बढेसँगै विद्युतीय सवारीको मूल्य बढेको घोषणा गर्ने क्रम जारी छ। यस्तैमा टाटा टियायो ईभीको मूल्य पनि १ लाख रुपैयाँ बढेको हो।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बजेटमा बढेकाले टियागो ईभीको मूल्य बढाएको जनाएको छ। बजेटअघिको करअनुसार टियागो ईभीको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेको थियो।
सरकारले ५० किलोवाटसम्मको ईभीमा ५ प्रतिशत भन्सार बढाएर ५ प्रतिशत अन्तःशुल्क लगाएको हो। यसरी बढाइएको करका कारण यो सेगमेन्टका विद्युतीय कारको मूल्य १३ देखि १५ प्रतिशतसम्म बढ्न सक्छ। मूल्यको हिसाबमा उक्त प्रतिशत कर बढ्ला २ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म बढ्न सक्छ।
तर सिप्रदीले भने १ लाख रुपैयाँमात्र मूल्य बढाउने घोषणा गरेको छ। सिप्रदीबाहेक एमएडब्लू अटोकर्पले दिपलको मूल्य ३ लाख रुपैयाँ बढाएको छ। अन्य कम्पनीहरुले बढेको करअनुसार मूल्य सार्वजनिक गरिसकेको छैनन्।
बजेटमा कार बढेकाले सिप्रदीले टियागो ईभीको मूल्य १ लाख रुपैयाँ बढाएर २९ लाख ९९ हजार रुपैयाँ तोकेको छ। नयाँ मूल्य आजैदेखि लागु हुने कम्पनीले जनाएको छ। तर बजेटअघि ल्याइएका टियागो ईभीको बजेटअघिकै मूल्यमा ग्राहकलाई उपलब्ध गराइने कम्पनीले जनाएको छ।
तीन वटा भेरियन्टमा उपलब्ध टियागो ईभीको मूल्य बजेटअघि क्रमशः २६ लाख ४९ लाख, २७ लाख ९९ हजार र २८ लाख ९९ हजार रुपैयाँ थियो। बजेटमा कर बढेका कारण कायम भएको नयाँ मूल्य क्रमशः २७ लाख ४९ लाख, २८ लाख ९९ हजार र २९ लाख ९९ हजार रुपैयाँ मूल्य तय गरेको छ।
कम्पनीले बजेटअघि आयात गरिएका टियागो ईभी पुरानै मूल्यमा बिक्री गरिने र यो मूल्य सीमित संख्यामा रहेको स्टक रहुन्जेलका लागिमात्र लागु हुनेछ। स्टक सकिएपछि बजेटमा बढेको करपछिको मूल्य लागु हुनेछ।
टियागो ईभी दुई ब्याट्री प्याक अप्सनमा उपलब्ध रहेको छ। १९.२ किलोवाट आवर र २४ किलोवाट आवर ब्याट्री उपलब्ध छ। १९.२ ब्याट्री प्याक रहेको यो ईभीले २ सय ५० किलोमिटर र २४ किलोवाट आवर ब्याट्रीयुक्त टियागो ईभीले ३ सय १५ किलोमिटर रेन्ज दिने दाबी कम्पनीको छ।
सिप्रदीले टियागो ईभी ४ कलर अप्सनमा उपलब्ध गराएको छ। टाटाले हाल भारतीय बजारमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स, टिगोर ईभी र टियागो ईभी बिक्री गर्दै आएको छ। टाटाका सबै विद्युतीय कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ।
लिक्युड-कुल्ड ब्याट्री र मोटरका साथ उपलब्ध टियागो ईभीमा कम्पनीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म वारेन्टी दिएको छ। विद्युतीय कारको बिक्री बढेसँगै सिप्रदीले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा चार्जिङ नेटवर्क विस्तारमा समेत विशेष ध्यान दिएको छ।
टियागो ईभीमा १५ एम्पियर प्लगबाट चार विभिन्न चार्जिङ अप्सन दिइएको छ। ३.३ केडब्लू एसी र ७.२ केडब्लू एसी होम फास्ट चार्जरले ३० मिनेट चार्ज गर्दा ३५ किलोमिटर कार कुदाउन सकिन्छ। १० देखि सय प्रतिशत पुग्न ३ घण्टा ३६ मिनेट लाग्ने छ भने टियागो ईभीका लागि डीसी फास्ट चार्जिङ पनि उपलब्ध छ।