काठमाडौं- ट्यांकर चालक आन्दोलित भएसँगै पेट्रोलियम पदार्थको ढुवानी ठप्प भएको छ। अत्यावश्यक सेवामा पनि नेपाल आयल निगम व्यवस्थापनको चरम लापरबाहीका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ।
सरकारी पेट्राेल पम्पहरुमा तेल वितरण भइरहेकाले लामो लाइन लागेको छ। निजी क्षेत्रका सबै पम्पहरु आइतबार साँझदेखि नै बन्द छन्। आइतबारदेखि नै चालकहरुले आन्दोलन गर्दै ढुवानी ठप्प पारेका हुन्।
सबै चालक र सहचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र दिनुपर्ने, नेपाल सरकारले तोकेअनुसार तलब सुविधा हुनुपर्ने, सामाजिक सुरक्षाकोषमा आबद्ध गराउनुपर्ने, जोखिम भत्ता दिनुपर्नेलगायत दर्जन माग उनीहरुको छ।
गत जेठ २९ गते आफ्ना माग सम्बोधनका लागि आयल निगमलाई पत्र पठाएको थियो । साथै सात बुँदे माग पूरा नभए जेठ ३२ गते कालोपट्टी बाँधेर विरोध गर्ने, असार १ गते गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र असार २ गते पूर्णरुपमा काम छोडेर गाडीको साँचो ट्याङ्कर धनीलाई हस्तान्तरण गर्ने गरी विरोधका कार्यक्रम घोषणा गरेको थियो ।
एक साताअघि नै संघले आन्दोलन गर्ने जनाउ दिएपनि कार्यकारी निर्देशक चण्डिका भट्टले बेवास्ता गर्दा उपभोक्ता मारमा परेका हुन्। एक साताअघि नै वार्तामा बोलाएर सहकार्य र सम्झौता गर्नुको सट्टा हाहाकार भइसकेपछि बल्ल कार्यकारी निर्देशक भट्टले वार्तामा बोलाएका छन्।
यता नेपाली कांग्रेसकै जोडबलमा कार्यकारी निर्देशकमा नियुक्ति पाएका भट्टको व्यवस्थापनविरुद्ध कांग्रेसले विज्ञप्ति नै जारी गरेको छ। कांग्रेसले व्यवस्थापनकै कमजोरीका कारण सर्वसाधारणले सास्ती पाएको बताउँदै तत्काल समस्या समाधान गर्न माग गरेको छ।
अत्यावश्यक पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्री वितरणमा अवरोध आउने अवस्था आउनु गलत भएको बताउँदै तत्काल वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार, निगम सञ्चालक समिति, निगम व्यवस्थापनसमक्ष कांग्रेसले माग गरेको छ।
कालोबजारी बजारी हुँदै आपूर्ति श्रृखंलासमेत बिग्रने हुँदा अत्यावश्यक वस्तुहरुमा बन्द हड्ताल र अवरोध गर्न नपाइने व्यवस्थामा व्यवस्थापन चलाखो हुनुपर्नेसमेत कांग्रेसले जनाएको छ।