मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

संसदमा सांसदले राखे खर्च कटौतीको प्रस्ताव, मन्त्रालयका पदाधिकारीको भत्ता शीर्षकमा एक रूपैयाँ राख्न माग

images
आइतबार, असार २ २०८१
images
संसदमा सांसदले राखे खर्च कटौतीको प्रस्ताव, मन्त्रालयका पदाधिकारीको भत्ता शीर्षकमा एक रूपैयाँ राख्न माग

सांसद डा अमरेशकुमार सिंहले साधारण खर्च कटौती गर्नसक्नुपर्ने उल्लेख गर्दै आर्थिक मन्दी हटाउने विषय बजेटले समेट्न नसक्ने बताए।

images
images

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्।

images
images
images

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे। उनले नीतिगत असहमतिको व्यहोरा प्रस्तुत गर्दै यस मन्त्रालयका पदाधिकारीहरुले पाउने विभिन्न शीर्षकको भत्ताको खर्च कटौती गर्नुपर्ने बताए।

images
images

'पदाधिकारीहरुको पारिश्रमिक र अन्य तलबभत्तालगायत व्यवस्था गरिएको छ', सांसद खतिवडाले भने, 'यसबाट खर्चमा अपारदर्शीता, फजुल खर्च देखिने हुँदा आव २०८९/८० मा  एक लाख रूपैयाँ र आगामी आव २०८१/८२ मा पनि एक लाख रूपैयाँ विनियोजन गरिएको छ। तसर्थ यस शीर्षकलाई एक रूपैयाँ गरियोस्।'
  
सांसद खतिवडाले आगामी आव २०८१/८२ को बजेट संघ केन्द्रित भएको टिप्पणी गरे। 'हामीले स्थानीय तह बलियो बनाउनुपर्ने हो। तर स्थानीय तहभन्दा बजेट संघमा बढी केन्द्रित भएको छ', उनले भने।

images
images

सुशासन कायम गर्नुपर्नेमा जोड दिँदै सांसद खतिवडाले सरुवा बढुवामा पारदर्शीता हुनुपर्ने बताए। संघीय संसद्मा आन्दोलनरत कर्मचारीको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै सांसद खतिवडाले भने, 'संसद्‌मै कर्मचारीहरु कालोपट्टी बाँधेर बस्नुभएको छ। उहाँहरुको माग सम्बोधन हुनुपर्छ। संसद् चलाउन उहाँहरुको पनि आवश्यकता छ।'

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च कटौती प्रस्ताव प्रस्तुत गरे। उनले बजेटमा सबै सांसदले अपनत्व ग्रहण गर्न नसक्ने टिप्पणी गरे। 'अर्थमन्त्रीको निर्देशनमा यो बजेट माओवादी केन्द्रका सांसद र व्यापारीले बनाएको जस्तो देखिन्छ', उनको आरोप थियो। सांसद सिंहले साधारण खर्च कटौती गर्नसक्नुपर्ने उल्लेख गर्दै आर्थिक मन्दी हटाउने विषय बजेटले समेट्न नसक्ने बताए।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयका शीर्षकको खर्च कटौती प्रस्ताव प्रस्तुत गरे। उनले कर प्रणाली सुधारबारे बजेटमा स्पष्ट नभएको टिप्पणी गर्दै विद्युतभार कटौतीका विषयमा ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै शीर्षक नखुलेका रकममा व्यापक अनियमितता हुने गरेको भन्दै खर्च कटौतीको माग गरे।

तराई-मधेसमा सिँचाइको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले सिँचाइ र विद्युत् मिटर निःशुल्क गर्न माग गरे। दुई सयभन्दा बढी पालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोप्रति उनले ध्यानाकर्षण गराए। तुरुन्तै प्रतिफल दिने आयोजनामा अर्थमन्त्रालयले लगानी गर्नुपर्ने सांसद यादवको भनाइ थियो।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सोही पार्टीका सांसद रोशन कार्की र नेपाली कांग्रेसका श्यामकुमार घिमिरेले खर्च कटौतीको प्रस्ताव राखे। अध्यक्ष लिङ्देनले भने, 'हामीले सदनमा जति छलफल गरे पनि संशोधन हुँदैन, परिवर्तन हुँदैन। रेकर्डका लागि मात्र हामी यो बजेटप्रति असहमति जनाउन यहाँ उभिएका छौँ।'

नेपाली कांग्रेसका सांसद घिमिरेले चालु खर्च मुलुकले धान्न नसक्ने गरी बढेकामा चिन्ता व्यक्त गर्दै रणनीतिक सडकका लागि तीन करोड रूपैयाँमात्र विनियोजन भएकामा असन्तुष्टि व्यक्त गरे। रासस


प्रकाशित : आइतबार, असार २ २०८११४:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend