बिहीबार , भदौ २७ गते २०८१    
images
images

बागमतीमा प्रदेश भ्रमण वर्षलाई निरन्तरता, प्राथमिकतामा पर्यटन पूर्वाधार विकास

images
आइतबार, असार २ २०८१
images
images
बागमतीमा प्रदेश भ्रमण वर्षलाई निरन्तरता, प्राथमिकतामा पर्यटन पूर्वाधार विकास

बागमती प्रदेशलाई आकर्षक पर्यटक गन्तव्यका रुपमा विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण तथा सुधार गरिने सरकारको योजना रहेको छ।

images
images

मनहरी- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा संस्कृति, पर्यटन तथा सहकारीका लागि दुई अर्ब ४६ करोड विनियोजन गरेको छ। शनिबार आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाद्वारा प्रस्तुत बजेटमा प्रदेश भ्रमण वर्ष २०२४ को निरन्तरतासहित प्रदेशभित्रका पर्यटकीय गन्तव्य तथा पर्यटन क्रियाकलापहरुको प्रवर्द्धन गरिने उल्लेख छ।

images
images
images

उनले थप पर्यटकीय गन्तव्यको पहिचान गरिने र पर्यटकहरुको भ्रमणमा सहजीकरण गर्न ट्राभल बुक तयार गरिने बताए। बाह्य पर्यटकको सङ्ख्या वृद्धि गर्न छिमेकी मुलुकका प्रमुख सहरहरुमा पर्यटकलक्षित रोड सो, मेला, महोत्सवजस्ता कार्यक्रम सञ्चालन गरिने जानकार दिए।

मन्त्री थपलियाले अन्तर प्रदेश समन्वयमा जनकपुर, लुम्बिनी, देवघाट र मुक्तिनाथ जोड्ने सांस्कृतिक सम्पदा परिपथ विकास गरिने बजेट वक्तव्यमार्फत भने। चितवनका सौराह, मेघौली, माडी र सिराइचुली जोडेर पर्यापर्यटन परिपथ निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ। पाटन दरबार क्षेत्र, वसन्तपुर, कीर्तिपुर, भक्तपुर र चाँगुनारायण क्षेत्र जोडेर सम्पदा परिपथ र काठमाडौंको पशुपतिनाथ, डोलेश्वर, दत्तात्रय, सुवर्णेश्वर, अनन्त लिंगेश्वर, सन्तानेश्वर, महादेव पोखरी जोडेर शिव परिपथ विकास गरिने मन्त्री थपलियाले बताए।

उनले चितवनको सौराह, मेघौली, गोलाघाट, भक्तपुरको नगरकोट, दोलखाको सैलुङ क्षेत्रलाई खुला चलचित्र छायांकन क्षेत्रका रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको बताए। बागमती प्रदेशका विभिन्न जात्रा तथा पर्वहरुको संरक्षण, संवर्द्धन र सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न पाँच करोड रूपैयाँ विनियोजन गरेको जानकारी दिए।

images

बागमती प्रदेशभित्र रहेका कला, संस्कृति, भाषा, लिपि, जातजाति, धर्म, बाजागाजा आदिका बारेमा अध्ययन अनुसन्धान गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ। 

प्रदेश सरकारले नेपालको विभिन्न कालखण्डमा भएका राजनीतिक क्रान्ति र परिवर्तनको इतिहास प्रतिविम्बित हुने क्रान्ति स्मृति सङ्ग्रहालय स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गरेको जनाएको छ। बागमती प्रदेशलाई आकर्षक पर्यटक गन्तव्यका रुपमा विकास गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटन पूर्वाधार निर्माण तथा सुधार गरिने सरकारको योजना रहेको छ। मन्त्री थपलियाले भने, 'हामीले प्रदेशसभाको प्रत्येक निर्वाचन क्षेत्रमा एक विशेष पर्यटकीय क्षेत्र पहिचान गरी एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न बजेट व्यवस्था गरेका छौँ।'

प्रदेशभित्र रहेका मूर्त र अमूर्त संस्कृति, सम्पदा संरक्षण गर्न आवश्यक रहेकाले सरकारले नीति तर्जुमा गरी समुदायको सहभागितामा विभिन्न जातजाति, भाषा, साहित्य, दर्शन, संस्कृति, कला, पुराना बाजा, संगीत, नाच र नाट्यलगायतका अमूर्त सांस्कृतिक सम्पदाको सूचीकरण, संरक्षण र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने मन्त्री थपलियाले बताए। रासस


प्रकाशित : आइतबार, असार २ २०८११२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend