बिहीबार , मंसिर १३ गते २०८१    
images
images

सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान

images
आइतबार, असार २ २०८१
images
images
सुदूरपश्चिममा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान

महिलालाई उद्यम र रोजगारीतर्फ प्रोत्साहन गर्न ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पालले बजेट भाषणमार्फत बताएका छन्।

images
images

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आव २०८१/८२ मा ‘सानै छु, बढ्न देउ, बालविवाह होइन, पढ्न देउ’ अभियान सञ्चालन गर्ने भएको छ।

images
images
images

शनिबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आवका लागि प्रस्तुत गरेको बजेटमा उक्त अभियान सञ्चालन गर्ने उल्लेख छ।

images

स्थानीय तहसँगको साझेदारीमा सञ्चालन हुने अभियानका लागि दुई करोड रूपैयाँ बजेट विनियोजन गरिएको मन्त्री पालले बताए। प्रदेशभित्रका १० हजार किशोरकिशोरीलाई यौनजन्य हिंसा र बालविवाहविरुद्ध अभिमुखीकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

images

विशेष संरक्षणको आवश्यकता भएका हिंसा तथा जोखिममा परेका बालबालिकाका लागि ‘प्रदेश बाल कोष’ स्थापना गरिने उनको भनाइ छ। महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा र दुर्व्यवहार अन्त्यका लागि संरक्षणात्मक र निरोधात्मक उपाय अवलम्बन गरिने बजेटमा उल्लेख गरिएको छ।

लैंगिक हिंसा निवारण लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि सुरक्षा निकायसँगको साझेदारीमा सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। महिलालाई उद्यम र रोजगारीतर्फ प्रोत्साहन गर्न ‘द्वारिकादेवी ठकुरानी महिला सशक्तीकरण कार्यक्रम’ सञ्चालनका लागि बजेट विनियोजन गरिएको मन्त्री पालले बजेट भाषणमार्फत बताएका छन्।

दलित अधिकार दशक घोषणा

विसं २०८१ देखि विसं २०९० सम्मलाई दलित अधिकार दशक घोषणा गरी दलितहरुको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको अध्ययन गरी गुरुयोजना तयार गरिने बजेटमा उल्लेख छ।

‘दलित विकास समिति’ गठन गरी दलित समुदायको परम्परागत सीप तथा व्यवसायलाई आधुनिकीकरण गर्न ‘टीकाराम पार्की दलित विकास सशक्तीकरण कार्यक्रम’ सञ्चालन गरिने तथा सो कार्यक्रम सञ्चालनका लागि प्रदेशका नौवटै सामाजिक विकास कार्यालयमा आवश्यक बजेटको व्यवस्था गरिएको मन्त्री पालले बताए।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ६२ करोड ९८ लाख ५८ हजार रूपैयाँको बजेट ल्याएको छ। सरकारले बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतलाई प्राथमिकतामा राखेको छ। रासस


प्रकाशित : आइतबार, असार २ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend