काठमाडौं- पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकटतिर लाग्दै गएको छ। जुन राष्ट्र बैंकको वित्तीय तथ्याङ्कका पछिल्ला सूचकहरूले पनि देखिएको छ।
चालु आर्थिक वर्षको सुरुवातसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ। बजार तरलता अभाव हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा आयात अत्याधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकले बताउँदै आएको छ।
यसरी मुलुकको अर्थतन्त्र संकटउन्मुख भएको र बजारमा तरलता अभाव झेलिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर माहाप्रसाद अधिकारीले केही दिन अगाडि आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा बैंकहरूको ‘लिभरेज रेसियो’ को विषय उठाउँदै मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको देखाउन खोजेका थिए।
गभर्नर अधिकारीले उठाएको बैंकहरूको ‘लिभरेज रेसियो’ को विषयले बजारमा अर्को तरङ्ग पैदा भएको छ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा कुनै समस्या छैन भन्न बैंकहरूको ‘लिभरेज रेसियो’ किन देखाए भन्ने प्रश्न उठ्न थालेको छ। अधिकारीले उक्त कार्यक्रमा ‘बासेल-३ कार्यान्वयनमा २, ३ आउँदा लिभरेज रेसियो भएको बताएका थिए।
'बासेल-३ कार्यान्वयनका बेला अर्थात ५ वर्ष पहिला महत्वपूर्ण मानिएको लिभरेज रेसियो मुस्किलले ९ गुणामा थियो, अहिले १७ गुणामा चलेको छ, यो महत्वपूर्ण कुरा कसैले हेर्नु भएकै छैन। हामीले यस्ता सकरात्मक कुराहरू पनि हेर्नुपर्छ', उनले भनेका थिए, 'बैंकहरूको सीसीडी रेसियो ८० प्रतिशतको व्यवस्था निकै अघिदेखि रहँदै आएको हो। गत साल कोभिडको बेला ८५ प्रतिशत पुर्याएको थियो। हामीले सीसीडी हटाएर सीडी ल्याउनुको पछाडि कारण लिभरेज जुन छ त्यो रेसियोको इन्डिकेसन हामीले अगाडिबाट हेर्दै गर्दा ठाउँमा राख्नुपर्छ भनेर ल्याएको हो।'
उनले अघि भने- 'सिसिडी खारेज गरेर सिडी रेसियो नल्याएको भए अझ समस्या ल्याउने देखियो। राष्ट्र बैंकले सीसीडी दैनिक अपडेट गरिरहेका छौँ। बैंकले सम्पूर्ण सूचना वेवसाइटमा राखेको छ। ९१ प्रतिशत सीसीडी पाउन सकिन्छ। ८५ बाट ९१ प्रतिशत हुँदाखेरी ६ प्रतिशत ‘ननकम्लायन्स’ बैंकको रेट पाइन्छ। त्यो भने कम्लाई गर्नुपर्ने विषय थियो। तर, ९० हुँदा ९१ हुँदा २ प्रतिशत मात्रै ‘ननकम्लाइन्स’ पाइन्छ। त्यसमा हामीले ‘ननकम्लाइन्स’ भनेको छैन। हामीले असारमा मात्रै गएर ‘ननकम्लाइन्स’ भन्छौँ। यसले गर्दा बैंकिङ क्षेत्र सजिलो अवस्थामा बस्नुपर्छ। तर, किन बजारमा अर्कै खालको क्यान्सर आइरहेको छ। मैले बुझ्न सकेको छैन। तरलतामा कर्जा प्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ।’
तर, गभर्नर अधिकारीले पत्रकारसँगको अन्तरक्रियामा मात्रै लिभरेज रेसियो कुरा राख्नु अर्थतन्त्र राम्रो देखाउनको लागि मात्रै भएको हो की भन्ने बाहिर चर्चा भएको छ। गभर्नर अधिकारीले ठिक १४ दिनअगाडि मंसिर २३ गते बसेको अर्थसमितिको बैठकमा भने यो विषय उठान गरेका थिएनन्। समितिलाई मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको विषयमा जानकारी दिँदा लिभरेज रेसियोको कुरा किन नउठाएर पत्रकारहरूसँग मात्रै उठाए भन्ने विषयमा चर्चा भइरहेका छन्।
गभर्नर अधिकारीले अर्थ समितिमा बजारका तरलताको विषयमा बोल्दै चालु आर्थिक वर्षको सुरुवातदेखि तरलतामा चाप परेको बताएका थिए। उनले बैंकिङ प्रणालीमार्फत ४ सय ११ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप भने ६४ अर्बले मात्रै बढेको बताएका थिए। कर्जा प्रवाह र निक्षेप बीचको ३ खर्बले बैंकिङ प्रणाली ड्राईभ अफ हुने स्थिति देखिएको उनको भनाइ थियो।
‘साउन महिनादेखि मंसिरसम्ममा ४ सय ११ अर्बको कर्जा प्रवाह हुँदा ६४ अर्ब मात्रै निक्षेप वृद्धि भएको छ। यसरी प्रवाह भएको पैसा सबै देश बाहिर गयो। देश भित्र नै रहेको हुने थियो भने अहिलेको अवस्था आउने थिएन। अहिले कर्जा प्रवाह भएको ५० प्रतिशत आयातमा गएको देखिन्छ’ उनले भनेका थिए।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा जस्तै भएको टिप्पणी गरेका छन्।
उनले राष्ट्र बैंकले अहिलेकै अवस्थामा लिभरेज रेसियोसँग जोड्नु पर्ने अवस्था नआएको बताए। पूर्वगभर्नर नेपालले बैंकहरूको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी नभएको र त्यसमा बैंकको लिभरेज रेसियोलाई ल्याएर घुसाउन खोज्नु गभर्नरमाथि राजनीतिक दबाव हो कि भनेर बुझ्नुपर्ने बताए।
नेपालको अर्थतन्त्र संकट आउँदा विभिन्न दृष्टिकोणबाट हेर्नु पर्ने उनको धारणा छ। उनले यस्तो अवस्थामा राष्ट्र बैंक सतर्क हुनु आवश्यक भएको बताए। नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्स घट्यो र पुँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प सोच्नुपर्ने तर बैंकहरूको लिभरेज रेसियो देखाएर अर्थतन्त्रका सूचक राम्रो देखाउनु आवश्यक नभएको बताए।
गभर्नर अधिकारीले लिभरेज रेसियोको कुरा बाहिर ल्याउनु बासल थ्री प्रयोग गर्न खोजेको अधिकारीको भनाइ छ। उनले तत्काल नै बासल थ्री लागू गर्ने अवस्था नभएको उनले न्युज एसेन्सी नेपालमार्फत बताएका छन्।
यस्तो छ पूर्वगभर्नर चिरिञ्जीवी नेपालको भनाइ-
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा बैंकहरूको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी थिएन।
गभर्नर अधिकारीले स्पष्ट रुपमा बताउन खोज्नु भएको हुन सक्छ, तर उहाँले कुन दृष्टिकोणबाट भन्नु भयो? त्यो उहाँको ठाँउमा छ तर, यो विषय उठाउनु पर्ने जरुरी थिएन।
पछिल्लो समय बजारमा ठूलो हल्ला भएकाले पनि राष्ट्र बैंकले केही बोल्नुपर्ने स्थिति आएको हुनसक्छ। नेपालमा हरेक कुरामा राजनीति घुसेको हुन्छ। गभर्नरले बैंकको लिभरेज रेसियोलाई देखाएर अर्थतन्त्र राम्रो छ भन्नुमा पनि राजनीति सामेल भएको हुनसक्छ।
यस्तो कुरा म आफैले भोगेको छु। म गभर्नर हुँदा बैंकको पुँजी २ अर्बबाट ८ अर्ब पुर्याउँदा बैकिङ क्षेत्र सकियो भन्नेहरू थिए।
८ अर्ब नपुर्याएको भए धेरै बैंकहरू डुब्ने थिए, पछिल्लो डेढ वर्षमा कर्जा विस्तार समेत उठ्न सकेको थिएन। बैंक तथा वित्तीय संस्थालाई निकै अफठ्यारो पर्ने थियो। बैंकको पुँजी वृद्धि गर्दा बैंकिङ फाउण्डेशन पनि मजबुद भएको छ। यसले गर्दा कर्जा विस्तार हुँदा आर्थिक वृद्धिदर पनि बढेको थियो। यसरी केन्द्रिय बैंकले जुन नीति लिन्छ त्यो एउटा गभर्नर मात्रैले लिने होइन। नीति बनाउने काम राष्ट्र बैंकको टिमले गर्दछ।
यसले गर्दा गभर्नर अधिकारीले अहिले तत्काल लिभरेज रसियोको विषयमा बोल्नु आवश्यकता थिएन। तर, उहाँले अर्थतन्त्रमा संकट नै परेमा विकल्प यो पनि छ भन्न खोज्नु भएको हुनसक्छ।
उहाँले लिभरेज रेसियोलाई नदेखाएर 'अर्थतन्त्रका सूचक धेरै नराम्रो छैनन्। अर्थतन्त्र राम्रो नै छ। केही संकट आएमा राष्ट्र बैंकले अन्य विकल्पका विषयमा पनि हेरिरहेको छ' भन्नु पर्ने थियो। किनभने सरकारलाई भन्दा पनि विश्वले राष्ट्र बैंकलाई हेर्ने गरेको हुन्छ। राष्ट्र बैंकले लिएको नीतिले मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्ने हो। बैंकले नीति राम्रो लिए अर्थतन्त्र पनि राम्रो हुन्छ।
सरकार परिर्वतन हुन्छ, मन्त्री हुन्छन्, नीतिहरू परिर्वतन हुन्छन् तर एउटै मात्र संस्था हो जहाँ गभर्नर पाँच वर्ष परिर्वतन हुँदैन। अन्य नीतिलाई पनि मौद्रिक नीतिले नियमन गर्छ। अहिलेको अवस्थामा राष्ट्र बैंक सर्तक हुनु पर्छ। किनभने नेपालको अर्थतन्त्रमा सधैँ यस्तै अवस्था आउँछ। राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्स घट्यो, पुँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प खोज्नुपर्छ। त्यसले गर्दा अहिलेको समय जोखिमको समय हो। यस्तो समयमा अर्थतन्त्रका सूचकहरू तलमाथि भए पनि राज्यसँग पैसा छ र बैंकहरूको पुँजी बलियो रहेको छ भन्न खोज्नु भएको हुनसक्छ।
वास्तवमा अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग पैसा नभएको होइन। अहिले अन्य क्षेत्रभन्दा सबैभन्दा मजबुद क्षेत्रमा बैंकिङ क्षेत्र बलियो छ। अहिले मान्छेहरूले बाहिर बोलेर मात्रै सन्त्रास फैलिएको हो। अहिलेको अवस्थाले मूल्य वृद्धि बढ्न सक्छ।
सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धि हुन ठूलो चुनौती रहेको छ। यस्तो अवस्थामा राष्ट्र बैंकले समग्र अर्थतन्त्रको विषयमा आफ्नै तरिकाले हेर्ने गर्दछ। त्यसैले गभर्नर अधिकारीले बासल थ्री प्रयोग गर्ने संकेत गर्नु भएको हुन सक्छ। बासल थ्रीअनुसार पहिले नै त्यो लागू गर्नु पर्ने हो। तर, विस्तारै लगाउँदा पनि हुन्छ। गभर्नरले बासल थ्री अनुसार बैकको लिभरेज रेसियो राखेर पुँजी र निक्षेप दुई पोइन्ट प्रयोग गर्नु पर्ने हो। उहाँले अहिलेको अवस्थामा बासल थ्री प्रयोग गर्नु खोज्नु भएको हुनसक्छ। यसलाई पनि नराम्रो मान्नु हुँदैन।