काठमाडौं- ‘डिशहोम’ भन्नेवित्तिकै तपाईंलाई के कुराको याद हुन्छ? सायद धेरै नेपालीलाई टीभी प्रसारणको सेवा दिने कम्पनी वा ब्रान्डका रुपमा यसलाई चिन्छन् र जान्छन्।
पछिल्लो दशकमा डिशहोमले ग्रामीण क्षेत्रसम्म पनि टीभी प्रसारणलाई विस्तार गर्यो। नेपालमा धेरै क्षेत्रमा पुगेको एउटा ब्रान्ड डिशहोम पनि हो। तराईदेखि हिमालसम्मका जनताले चिन्ने र जान्ने ब्रान्ड बनेको डिशहोम पछिल्लो समय टीभीमा मात्र सीमित छैन।
बजारमा उपभोक्ताको माग र व्यवसाय विविधीकरणको अंगका रुपमा डिशहोमले टीभीबाहेक अरु सेवामा पनि हात हालेको छ।
सन् २०१० देखि २०२१९ सम्मको अवधिमा नेपालमा टीभी सेवाको विस्तार तीव्र बनेको थियो। यही समयमा नेपालमा बिजुलीको उपलब्धतामा सुधार आयो र बिजुलीको विस्तार पनि भयो। वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै गाउँ गाउँमा टीभी पुग्ने क्रम पनि बढ्यो। सहरमा सीमित रहेको टीभी गाउँमा पनि त्यही समयमा पुग्यो। यही बेला डिशहोमले गाउँ गाउँमा सेवा दिएर विस्तारलाई तीव्र बनायो। तर पछिल्ला केही वर्ष त्यस्तो वृद्धिमा शिथिलता आयो।
प्रविधिमा भएको रूपान्तरण र उपभोक्ताको रुचिमा आएको परिवर्तनले टीभीको विस्तार पहिलेकै गतिमा नबढ्ने बुझेको कम्पनीले इन्टरनेटमा पनि हात हाल्यो। डिश मिडिया नेटवर्कले २०७६ सालको चैतमा इन्टरनेट सेवाप्रदायकको अनुमति लिएको थियो।
यो बीचमा कम्पनीले ग्राहक संख्यामा राम्रै सुधार गरेको छ। डिशहोम फाइबरनेट सेवा अहिले देशका प्रमुख सहरमा पुगेको छ। फाइबरनेट अधिकांश मुख्य सहरमा पुग्नुका साथै अझै विस्तारकै क्रममा रहेको छ। यही क्रममा डिशहोमले ग्राहक संख्या पनि उल्लेखनीय सुधार गरेको छ। पूर्वाधार निर्माण सँगसँगै ३४ हजार ग्राहक पुर्याएको छ।
अझै पनि पूर्वाधार तथा सञ्जाल विस्तारकै क्रममा रहेको बजारीकरणमा ध्यान नदिँदा पनि अहिले भएका ग्राहक उल्लेखनीय रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यको भनाइ छ।
‘हामी अहिलेसम्म पूर्वाधार निर्माण अर्थात् भनौँ सेवाको मेरुदण्डकै काममा छौँ। बजारीकरणमा गएकै छैनौँ। यही बीचमा हाम्रो बजार आधार जे निर्माण भएको छ त्यो सन्तोषजनक छ’ आचार्यले भने।
नेपाल दूरसञ्चार प्राधिकरणले असोजसम्मको तथ्यांकमा ३४ हजारमात्र देखिए पनि अहिलेसम्म ६० हजारसम्म ग्राहक पुगिसकेको उनको भनाइ छ।
डिशहोमले अहिलेसम्म पूर्वाधार विस्तारमा बढी ध्यान केन्द्रित गरेको थियो। यसको सेवा हालसम्म काठमाडौं, पोखरासँगै पूर्वपश्चिम राजमार्गका सहरहरूमा पुगिसकेको छ। दाङ, सुर्खेतलगायतका सहरमा सेवा विस्तारकै क्रममा रहेको आचार्यले जानकारी दिए।
पहिलो चरणमा सहज अवस्था भएका सहरी क्षेत्रमा सञ्जाल विस्तार गर्ने र त्यहीँ बजार खोज्ने रणनीतिमा कम्पनी गएको छ। घनत्व धेरै भएका सहरमा सेवा विस्तार भएर व्यवसायको आधार तय भएपछि त्यस्ता सहरसँगै जोडिएका साना सहर हुँदै गाउँसम्म पुग्ने रणनीति रहेको आचार्यले बताए।
‘पहिले त हामी घनत्व धेरै भएका ठाउँमै केन्द्रित हुन्छौँ। कुनै पनि सेवा तथा व्यवसाय भनेकै माग धेरै भएको ठाउँमा पहिला जान्छ। त्यसपछि विस्तारै न्यून माग भएका ठाउँमा जान्छ। डिशहोम पनि यसैगरी अघि बढ्छ’ उनले भने।
पहिलो चरणको पूर्वाधार विस्तारको काम भएको र अब बजारीकरणको आधार तयार भएको आचार्यको बुझाइ छ। यसअघिका दुई वर्ष जसरी कम्पनीले पूर्वाधारमा काम गर्यो अबका पाँच वर्ष यसैगरी बजारीकरणमा काम गर्ने उनको भनाइ छ।
२०७८ सालभित्र १ लाख ग्राहक पुग्ने र अबको पाँच वर्षमा १० लाख ग्राहक पुर्याउनेगरी काम गरिने उनको भनाइ छ। यो लक्ष्य सहजै पूरा हुनेमा उनी विश्वस्त छन्।
‘पहिलो कारण त हाम्रो सेवा गुणस्तरीय छ। हाम्रो पूर्वाधारमा आधुनिक प्रविधि छ। पूर्वाधार राम्रो छ। हाम्रो सेवा सुरक्षित छ। यो कुरा उपभोक्तामाझ हामीले पुर्याउँछौँ र हाम्रो सेवा रोजाइमा पुग्छ’ आचार्यले भने।
पछिल्लो समय इन्टरनेटमा गतिको वार चलिरहेको छ। सय, दुईसय एमबीपीएस भनेर सेवाप्रदायकहरू प्रतिस्पर्धामा उत्रिएका छन्। यो प्रतिस्पर्धाले कुनै फरक नपार्ने आचार्यको बुझाइ छ। गुणस्तरीय सेवा महसुस गर्ने र देखिने कुरा भएकाले यति र उति एमबीपीएसको भरमा ग्राहक नलाग्ने उनको भनाइ छ।
‘अहिलेसम्मको हाम्रो अनुभवले पनि यही देखाउँछ कि ग्राहक त्यसमा छैनन्। उनीहरू मूल्य र गुणस्तरमा केन्द्रित छन्। सस्तो मूल्यमा गुणस्तरीय सेवा जसले दिनसक्छ त्यसैमा जान्छन्’ आचार्यले भने।
बजारीकरण र उपभोक्ता आकर्षित गर्नका लागि डिशहोमलाई अरुको भन्दा केही सजिलो छ। अहिले देशभर ग्रामीण क्षेत्रसम्म डिशहोमको आफ्नै सञ्जाल छ। यही सञ्जाललाई इन्टरनेटको बजारीकरणमा पनि कम्पनीले परिचालन गर्ने छ।
इन्टरनेटमै कम्पनीले अहिलेसम्म १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी लगानी गरिसकेको छ। अबका पाँच वर्षमा कम्तिमा पनि २ अर्ब रूपैयाँ लगानी हुने प्रक्षेपण छ। १० लाख ग्राहक पुर्याएर नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक हुने महात्वकांक्षामा अघि बढेको कम्पनीले सेवासँग जोडिएर आउने डेटा सेन्टर लगायतका पूर्वाधारमा पनि लगानी गर्ने छ।