काठमाडौं- नेपाली निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सनले अष्ट्रेलियामा कार्यालय खोल्ने भएको छ। तुँदीले अष्ट्रेलियामा कार्यालय खोल्न पूरा गर्नुपर्ने विभिन्न चरण पार गर्दै प्रमाणपत्र प्राप्तिको क्रममा रहेको छ।
कम्पनी दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि तुँदी कन्स्ट्रक्सन विदेशमा कार्यालय नै स्थापना गर्ने पहिलो निर्माण कम्पनी हुनेछ। अष्ट्रेलियामा कार्यालय स्थापना गर्न कम्पनीले केही महिनाअघिदेखि प्रक्रिया सुरु गरेको थियो।
‘तुँदीले विदेशमा कार्यालय स्थापना गर्न केही महिना अघिबाट प्रक्रिया सुरु गरेको थियो,’ स्रोतले बिजनेस न्युजसँग भन्यो, ‘दर्ताको प्रमाणपत्र प्राप्त गर्न आवश्यक ४/५ वटा चरण पार गरिसेकका छौँ। अब प्रमाणपत्रको पर्खाइमा छौँ।’ तुँदीले प्रमाणपत्र प्राप्त गरेपछि यो नै नेपालको प्रतिनिधित्व गरेर विदेशमा कार्यालय खोल्ने पहिलो कम्पनी हुनेछ।
नेपाली कम्पनीले विदेशमा कार्यालय स्थापना गरेर ग्लोबल टेन्डरमा भाग लिन पाउने छ। अहिले ग्लाबल टेन्डरमा भाग लिन नेपाली कम्पनीहरूले विदेशी साझेदारमार्फत काम गर्दै आएका छन्। कालिका कन्स्ट्रक्सन, शैलुङ कन्स्ट्रक्सनलगायत कम्पनीले हाल विदेशी कम्पनीहरूसँग समन्वय गरेर विदेशमा निर्माणको काम गर्दै आएका छन्।
इन्टरनेशलन कम्पिटेटिभ बिडिङ (आईसीबी) टेन्डरमा नेपाली निर्माण कम्पनीले पनि लिँदै आएका छन्। यसरी टेन्डरमा भाग लिँदा नेपाली निर्माण कम्पनीहरू स्थानीय कम्पनीसँग संयुक्त उपक्रम (जेभी)मा टेन्डर गर्ने गरेका छन्। टेन्डर लिने देशको कानूनीलगायत प्रक्रियागत सहजताका लागि जेभीमा काम हुने गरेको छ।
तुँदी कन्स्ट्रक्सन प्रालि सन् १९८४ मा स्थापना भएको थियो। यो कम्पनीका संस्थापक अध्यक्ष ऋषिप्रसाद सुवेदीले तुँदी कन्स्ट्रक्सन स्थापना गरेका थिए। यो निर्माण कम्पनीमा हाल ३ सय ९० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने १ हजार ८ सय जनाभन्दा बढी दक्ष तथा अर्धदक्ष कामदारले रोजगारी पाएका छन्।
तुँदी कन्स्ट्रक्सनले हाल नेपाल तथा भुटानमा पर्याप्त मेसिन, निर्माण उपकरणलगायत सामग्रीमार्फत निर्माणको काम गर्दै आएको छ। त्यस्तै कम्पनीले नेपालका साथै भारत, भुटान र बंगालादेशमा हुने टेन्डर प्रक्रियामा भाग लिँदै आएको छ। तुँदीले खानेपानी परियोजना तथा पानी प्रशोधन केन्द्र, सडक, पुल, विमानस्थल, जलविद्युत आयोजना, सिँचाइ परियोजनामा नेपाल तथा भुटानमा काम गरिरहेको जनाएको छ।
तुँदीले अख्तियारको भवन, पाटन हस्पिटलको भवन, धरान खानेपानी आपूर्ति सहपरियोजना, भुटानमा इन्टिग्रेटेड परियोजना, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अन्तर्गतको रिमोट एयरक्राफ्ट पार्किङ निर्माणलगायतका परियोजना बनाइसकेको छ। त्यस्तै तुँदीले सेराटन काठमाडौंको भवन निर्माण, राप्ती खोला पुलको डिजाइन र निर्माण, गल्छी-त्रिशुली-मैलुङ सडकको स्तरोन्नती, संघीय संसद सचिवालयको भवन, रानी-जमरा कुलरिया सिँचाइ परियोजना, सान्जेन हाइड्रो पावरको संरचनालगायतमा काम गरिरहेको छ।
ऋषिप्रसाद सुवेदी अध्यक्ष रहेको तुँदी कन्स्ट्रक्सनमा सुमन सुवेदी प्रबन्ध निर्देशक, आनन्द सुवेदी, सुशील सुवेदी, लक्ष्मीदेवी सुवेदी निर्देशक छन् भने मञ्जु सुवेदी आचार्य लगानीकर्ता रहेकी छिन्।
तुँदी कन्स्ट्रक्सनको भगिनी कम्पनीहरूमा तुँदी इन्भेस्टमेन्ट प्रालि, तुँदी ट्रेडिङ एन्ड हाउजिङ प्रालि, तुँदी पावर कम्पनी प्रालिलगायत छन्। तुँदीको केन्द्रीय कार्यालय सानेपास्थित शान्तिबस्तीमा रहेको छ।