काठमाडौं- चौधरी समूह र एमएडब्लू समूहले संयुक्त रुपमा नेपाल भित्र्याएको अवतार ब्रान्डको नयाँ कार दुई साता भित्र आएपुग्ने भएको छ। कम्पनीले एलसी खोलेर पठाइसकेकाले अवतारको प्लान्टबाट पहिलो लटको कार नेपालतर्फ हिँडिसकेको छ।
एमएडब्लू र चौधरी समूहले संयुक्त रुपमा ल्याउन लागेकाले उक्त ब्रान्ड सीजी मोटर्सबाट नभइ नयाँ कम्पनीमार्फत आयात गरिएको छ। सीजी इभोलुसन वा यस्तै नामबाट अवतार ब्रान्ड आयात भएको हो। केही महिनाअघि चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले अवतारसँग आधिकारिक बिक्रेताको सम्झौता गरेका थिए।
सम्झौतापछि अवतारले राइट ह्यान्ड ड्राइभमा कार उत्पादन गरेपछि नेपाल ल्याउने प्रक्रिया थालिएको थियो। सुरुमा चार वटा ‘अवतार ११’ नेपाल आउने छ। त्यसपछि कम्पनीले थप कार आयात गर्नेछ। उत्पादन प्लान्टबाट ४ वटा अवतार ११ नेपालका लागि हिँडेकाले बाटोमा कुनै अवरोध नभए दुई सातामा भन्सार नाकामा कार आइपुग्ने छ। त्यसपछि जाँचपास गरेर त्यसको अर्कोसाता अर्थात असार अन्तिम सातासम्ममा अवतार ११ काठमाडौं आइपुग्ने छ।
विद्युतीय कार व्यापारमा दुई प्रतिस्पर्धी व्यावसायिक घराना एकै ठाउँमा उभिएर एउटा ब्रान्ड ल्याएको यो पहिलो पटक हो। पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी भित्र्याउन चौधरी समूह र एमएडब्लू समूहबीच प्रतिस्पधौ नै चलिरहेको छ। दुवै समूह एकपछि अर्को नयाँ चिनियाँ ब्रान्ड ल्याउने घोषणा गर्दै गइरहेका छन्।
दुई समूहले संयुक्त रुपमा नयाँ चिनियाँ प्रिमियम विद्युतीय सवारी ल्याउने भएको सम्झौतालाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ। चिनियाँ सवारी उत्पादक कम्पनी चाङगनको धेरै स्वामित्व भएको ब्रान्ड हो अवतार टेक्नोलोजी।
चौधरी समूहले पछिल्लोपटक अटोमोबाइल व्यापारमा प्रवेश गरेको दुई वर्षमै ठूलो सफलता हात पारिसकेको छ। करिब एक दर्जन चिनियाँ विद्युतीय सवारी ब्रान्ड ल्याउन सम्झौता गरिसकेको छ भने ६/७ वटा ब्रान्डका विद्युतीय सवारी बिक्री गरिरहेको छ।
हाल सीजी मोटर्सले होजोनको निटा, जीएसीको आयोन, केवाईसी र किङलङका विद्युतीय भ्यान ल्याएर बिक्री गरिसकेको छ। त्यस्तै स्मार्ट, एक्सपाङ, लोटसलगायत ब्रान्डको आधिकारिक बिक्रेता नियुक्त भएर कार ल्याउने प्रक्रियामा रहेको छ।
त्यस्तै एमएडब्लू समूहअन्तर्गत आईसी इन्जिनका एक दर्जनभन्दा बढी ब्रान्डका सवारी बिक्री गर्दै आएको छ। यसका साथै एमएडब्लू समूह विद्युतीय सवारी आयातमा पनि आक्रामक देखिएको छ। एमएडब्लू वृद्धि अटोकर्पले चाङगनको सब-ब्रान्ड दीपल, फोटोनका विद्युतीय भ्यान, सेरेका विद्युतीय कार बिक्री गरिरहेको छ। यसका साथै एमएडब्लूले नामी ब्रान्ड ल्याएसकेको र लिपमोटरलगायत ब्रान्ड ल्याउने सम्झौता गरेर आयात गर्ने प्रक्रियामा रहेको छ।
कम्पनीले अवतारको शोरुमका लागि उपयुक्त स्थान खोजिरहेको छ। थापाथलीस्थित सीजी मोटर्सकै एउटा ठाउँमा राख्ने सम्भावनासमेत रहेको छ। अवतार ११ को मूल्यलगायत बारे भने कम्पनीले केही खुलाएको छैन।
‘अवतार ११’
अवतार ११ विद्युतीय कार २ ब्याट्री अप्सनमा उपलब्ध छ। ९०.३८ किलोवाट आवर र १ सय १६.७९ किलोवाट आवर ब्याट्रीमा उपलब्ध यो विद्युतीय कारमा रेयर ह्वील ड्राभइ अप्सनमा २ सय ३० किलोवाटको मोटर र अलह्वील ड्राइभ अप्सनमा ४ सय २५ किलोवाटको विद्युतीय मोटर रहेको छ। सानो ब्याट्रीले एक पटकको फुल चार्जमा ५ सय ५५ किलोमिटर र ठूलो ब्याट्रीले ६ सय ८० किलोमिटर रेन्ज रहेको सीएलटीसीले प्रमाणित गरेको छ।
यो कारको लम्बाई ४८ सय ८० एमएम, चौडाई १९ सय ७० एमएम र उचाई १६ सय १ एमएम रहेको छ। त्यस्तै यसको ह्वील बेस २९ सय ७५ एमएम छ।
के हो अवतार ब्रान्ड
अवतार टेक्नोलोजी कम्पनी लिमिटेड सन् २०१८ मा स्थापना भएको हो। सुरुमा चाङगन र नियोबीच समान ५०÷५० प्रतिशत हिस्सेदारी रहनेगरी संयुक्त कम्पनी बनेको थियो। तर त्यसको दुई वर्षपछि सो कम्पनीबाट नियोले हात झिक्यो। त्यसपछि चाङगनले ४०.९९ प्रतिशत हिस्सा आफूसँग राखेर सीएटीएललगायत विभिन्न सरकारी तथा अन्य कम्पनीलाई सेयर बिक्री गरेको थियो।
अवतारमा सीएटीएलको १४.१ प्रतिशत हिस्सेदारी रहेको छ। सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी ब्याट्री उत्पादक कम्पनी हो। अवतार टेक्नोलोजीले चिनियाँ प्रविधि जायन्ट हुवावेसँग पनि सहकार्य गरेको छ। हुवावे अवतारको संस्थापकमध्येको एक कम्पनीसमेत हो।
२०२२ मा अवतारको पहिलो विद्युतीय कार ‘अवतार ११’ सार्वजनिक भएको थियो। मिडसाइज एसयूभी सेगमेन्टको यो कार निकै आकर्षक रहेको छ। त्यस्तै सेडान सेगमेन्टमा अवतारको दोस्रो कार ‘अवतार १२’ २०२३ मा सार्वजनिक भएको थियो। २०२५ सम्ममा अवतार टेक्नोलोजीले ४ नयाँ मोडल बजारमा ल्याउने जनाएको छ।
चाङगन अटोमोबाइल, हुवावे र सीएटीएल मिलेर अवतार ब्रान्डका लागि ‘सीएचएन’ प्लेटफर्म विकास गरेको छ। यो प्लेटफर्ममा ६ तहको मेकानिकल लेयर, इनर्जी लेयर, इलेक्ट्रोनिक एन्ड इलेक्ट्रिकल आर्किटेक्चर लेयर, भेहिकल अप्रेटिङ सिस्टम लेयर, भेहिकल फङसन एप्लिकेसन लेयर र क्लाउड बिग लेयर रहेको छ।