बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

१५ वर्षदेखि चित्रकलामा रमाइरहेका पवन

मंगलबार, जेठ २९ २०८१
१५ वर्षदेखि चित्रकलामा रमाइरहेका पवन

उनले पछिल्लो पटक आँबुखैरेनीस्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ।

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिकामा कार्यरत पवन नेपाली चित्रकलामा पोख्त छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै उनी चित्र बनाइरहन्छन्। गाउँपालिकाले यहाँका विद्यालयमा सञ्चालन गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत चित्र बनाउने सीप सिकाउने प्रशिक्षकसमेत हुन् उनी।

विगतमा फुर्सदको समयलाई सदुपयोग गर्दै चित्रकला बनाउँदै आएकामा पछिल्लो समय पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत आँबुखैरेनी-१ स्थित मित्रता माध्यमिक विद्यालयका २० जना विद्यार्थीलाई चित्रकलाको सीप सिकाउन थालेको उनले बताए।

'चित्र बनाउने पहिल्यैदेखिको सोख हो, अहिले सिकेको सीप गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई सिकाउन पाउँदा निकै खुशी छु। यसले आम्दानी गर्न पनि सहज भएको छ', नेपालीले भने।

नेपालीले ढुंगा, पीपलको बोट, नाङ्लोमा चित्र कोरिसकेका छन्। एसएलसी दिएपछि नै चित्रकला सुरु गरेका उनले विगत १५ वर्षदेखि यसलाई निरन्तरता दिएको सुनाए। 'पहिलेदेखि नै अलिअलि चित्र कोर्ने काम गर्थे तर अलि बढी सक्रिय हुन थालेको १५ वर्ष भयो। सुरुमा त खासै केही लाग्थेन, अहिले भने चित्र बनाउन पाइन भने नराम्रो लाग्छ, यसबाट आनन्दित छु, आम्दानीको स्रोत पनि भइरहेको छ चित्रकला', उनी भन्छन्।

पहिले शिक्षण पेसामा आबद्ध उनी हाल आँबुखैरेनी गाउँपालिकामा कार्यरत छन्। तर फुर्सदको समयमा विद्यालयका बालबालिकालाई सिकाउने र घरमा समेत चित्र कोर्ने गर्छन्। उनले पछिल्लो पटक आँबुखैरेनी गाउँपालिका-१ स्थित अकला मन्दिर परिसरमा रहेको पीपलको बोटमा बनाएको गणेशको आकृतिले निकै चर्चा कमाएको छ।

पर्यटकीय तथा धार्मिक क्षेत्र अकलालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रुखमा गणेश आकृति कोरेको उनी बताउँछन्।

उनले अगाडि थपे, 'धार्मिक पर्यटकीयस्थल अकला मन्दिर परिसरमा रहेका रुखलाई कसरी आकर्षक बनाउन सकिन्छ भनेर सोच्दा गणेशको आकृति बनाउने सोच आयो। यत्तिकै रहेको रुखलाई सिँगार्ने काम गरेको हुँ। अहिले धेरैले मन पराएको देख्दा खुसी लागेको छ।' रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend