शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

गण्डकीका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार, सेवाग्राहीलाई सहज

images
मंगलबार, जेठ २९ २०८१
images
images
गण्डकीका यातायात कार्यालयमा अनलाइन सेवा विस्तार, सेवाग्राहीलाई सहज

अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सवारीसाधन नामसरी र नवीकरणको काममा सहज भएको छ। सवारी जाँचपाँस र रुट इजाजतबाहेकका सेवा अनलाइनमार्फत दिन थालिएको हो।

images
images

म्याग्दी- गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले सवारी दर्ता र नामसारीसम्बन्धी अनलाइन सेवा विस्तार गरेको छ।

images
images
images

यसअघि कास्कीस्थित यातायात व्यवस्था कार्यालय सवारीमा सुरु भएको सवारी साधनको दर्ता र नवीकरण गर्न प्रयोग गरिने अनलाइन (ईभीआरएस) सेवा पछिल्लो पटक बागलुङ, नवलपुर र डुम्रेमा रहेको कार्यालयमा पनि विस्तार गरिएको छ। 

मन्त्रालयको यातायात शाखा प्रमुख अनिल सुवेदीले गण्डकी प्रदेशमा रहेका सबै यातायात कार्यालयबाट सेवाग्राहीले अनलाइनमार्फत नयाँ सवारीसाधन दर्ता र नवीकरणको आवेदन दिन पाउने व्यवस्था मिलाइएको जानकारी दिए।

images

'कार्यालयमा सेवाग्राहीको भीड घटाउने र तेस्रो व्यक्तिको सहयोग लिनुपर्ने बाध्यता हटाउन ईभीआरएस प्रणाली विस्तार गरेका हौँ,' सुवेदीले भने 'सवारीसाधन दर्ता प्रमाणपत्र, (ब्लूबुक) नवीकरणका लागि घण्टौँ लाइन बस्नुपर्दा हुने झन्झट हटाउने र भीड घटाउन यो सेवा प्रभावकारी देखिएको छ।'

images

अनलाइन सेवा सुरु भएपछि सेवाग्राहीलाई सवारीसाधन नामसरी र नवीकरणको काममा सहज भएको छ। सवारी जाँचपाँस र रुट इजाजतबाहेकका सेवा अनलाइनमार्फत दिन थालिएको हो। सबै कागजात अनलाइनबाट प्रविष्ट गराएर कार्यालयमा जानेबित्तिकै काम सकेर फर्किएको बेनी नगरपालिका-२ का भीमबहादुर रिजालले बताए।

यसैगरी बागलुङ, नवलपुर र डुम्रेको यातायात कार्यालयमा रहेका सवारी साधनको अभिलेख र सबै कागजातसहितको विवरण स्क्यान गरेर सफ्टवेयरमा प्रविष्ट गराउन थालिएको छ। बागलुङ र नवलपुरमा थप जनशक्तिमार्फत डिजिटलाईजेशनको काम भइरहेको छ।

डुम्रेमा दर्ता भएका सवारीसाधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत काम भइरहेको मन्त्रालयले जनाएको छ। कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउँदा सवारीसाधन दर्ता र नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन सकिने यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले बताए।

बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार बढी सवारीसाधन दर्ता भएका छन्। यसअघि यातायात व्यवस्था कार्यालय कास्की (सवारी) मा दर्ता भएका तीस लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखिसकिएको छ।

सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुपर्ने समस्या हटेको, फाइल र ढड्डा खोज्दा हुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजालले बताए।

सबै फाइलहरू विद्युतीय अभिलेखीकरण भएपछि फाइल, ढड्डा हराउने, सेवाग्राहीलाई असहजता हुने अवस्थाको अन्त्य हुने उनले बताए। फाइलहरूलाई विद्युतीय अभिलेखीकरण गरेपछि दराजमा राखिएको फाइल खोजी रहनुपर्ने समस्या पनि अन्त्य हुने छ।

कार्यालयमा भीड घटाउन बिहान ८ बजेदेखि नै सेवा सञ्चालन गरेको यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) कास्कीका नायब सुब्बा नवीन क्षेत्रीले लाइसेन्सको लाइसेन्स नवीकरणको राजस्व पनि अनलाइनमै तिर्न सकिने बताए। 

बिहानी सत्रमा नयाँ सवारी चालक अनुमति पत्रको आवेदन पेस गर्ने, लाइसेन्स वितरण, वर्ग थप गर्ने, वायोमेट्रिक गर्ने, राजस्व तिर्ने, मेडिकलसम्बन्धी सेवा दिने गरिएको उनले जानकारी दिए। रासस


प्रकाशित : मंगलबार, जेठ २९ २०८११५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend