शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

बलियो स्थितिमा बाह्य क्षेत्र : चालुखाता १ खर्ब ९३ अर्बले बचतमा, विदेशी मुद्राको सञ्चिति १४ अर्ब ५४ करोड डलर

सोमबार, जेठ २८ २०८१
बलियो स्थितिमा बाह्य क्षेत्र : चालुखाता १ खर्ब ९३ अर्बले बचतमा, विदेशी मुद्राको सञ्चिति १४ अर्ब ५४ करोड डलर

गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब रुपैयाँले बचतमा रहेको थियो।

काठमाडौं- चालु आर्थिक वर्षको बैशाख महिनासम्मको तथ्यांकअनुसार नेपालको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको छ।

आयातमा भएको २.३ प्रतिशतको संकुचन, रेमिट्यान्समा भएको १९.२ प्रतिशतको वृद्धि र मूल्यमा आएको कमीले नेपालको बाह्य क्षेत्र बलियो स्थितिमा पुगेको छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार यस अवधिमा उपभोक्तामा आधारित मुद्रास्फीति ४.४ प्रतिशतमा सीमित भएको छ। जब कि सरकारले चालु आर्थिक वर्ष मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य राखेको थियो। 

यस्तै यस अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब रुपैयाँ भित्रिएको छ। जसले गर्दा शोधानान्तर बचतमा उल्लेखीय वृद्धि भएको छ।

चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा नेपालको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो। गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति २ खर्ब ९ अर्ब रुपैयाँले बचतमा रहेको थियो। 

समीक्षा अवधिमा चालुखाता १ खर्ब ९३ अर्ब २५ करोडले बचतमा रहेकाले पनि शोधनान्तर स्थितिको बचत बढेको हो। गत वर्षको यसै अवधिमा चालु खाता ६३ अर्ब ७४ करोड रुपैयाँले घाटामा रहेको थियो। 

चालुखाता बचत बढेकाले विदेशी मुद्राको सञ्चिति निकै सुविधाजनक अवस्थामा पुगेको छ। गत असार मसान्तको तुलनामा विदेशी मुद्रा सञ्चिति २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड डलर कायम भएको छ। यस्तो सञ्चितिले नेपालको १२.६ महिनाको वस्तु तथा सेवा र १५.१ महिनाको आयात धान्न पर्याप्त रहेको छ।

यस अवधिमा ५१ अर्ब ९२ करोड रुपैयाँ बराबरको खुद सेवा घाटामा रहेको छ। अघिल्लो वर्षको तुलनामा भने सेवा घाटामा कमी आएको छ। गत वर्षको यसै अवधिमा सेवाघाटा ६५ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : सोमबार, जेठ २८ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend