शनिबार, साउन १२ गते २०८१    
images
images
images

जीवनका कथैकथा जोडिएका ‘यादहरु’

images
सोमबार, जेठ २८ २०८१
images
images
जीवनका कथैकथा जोडिएका ‘यादहरु’

उनी भन्छन्, 'यस्तो काम वा कन्सेप्ट मेरो दिमागले देखेपछि गर्नु नै पर्छ भन्ने लाग्यो, किन कि नगर्दा छुट्न जान्छ। हिमाल, पहाड, भगवानका चित्रहरू मैले नगर्दा नि अरू कसै न कसैले गरिरहेको हुन्छ। यो त कसैले गर्न सक्दैन, त्यसैले प्रदर्शनीमा ल्याएँ।'

images

काठमाडौं- डुंगाको अस्तित्व पानी र त्यसको बहावसँग जोडिएको हुन्छ तर त्यही डुंगालाई विम्ब बनाएर जमिनसँग नाता जोड्ने प्रयत्नमा लागेका छन् कलाकार रवीन्द्र श्रेष्ठ। नयाँ सोच र अवधारणालाई कलामार्फत प्रस्तुत गर्ने खुबी उनीमा देखिन्छ।

images
images

गत वर्षको राष्ट्रिय कला प्रदर्शनीमा ‘डुंगा चियाघर’ शीर्षकमा आफ्नो सृजना प्रस्तुत गरेर वाहवाही कमाएका श्रेष्ठले यस वर्ष पनि डुंगालाई नै आधार बनाएर फरक स्वरुपमा नौलो अनुभूति पस्किएका छन्।

images

नारायणी, राप्ती, कोशीजस्ता ठूला नदीमा मानिस बोकेर बग्दाको स्मरण अनि काठमाडौंकै ठूला पोखरीमा तैरिँदाको स्मृति त्यो डुंगासँग हुन्छ। तर यहाँ आउँदाको स्मृति भने त्योभन्दा निकै फरक छ। राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको जारी ‘राष्ट्रिय कला प्रदर्शनी २०८१’ मा उनले त्यही पुरानो डुंगामा चलनचल्तीमा हराएका पुरानादेखि नयाँ सबै सिक्का भरेर प्रतिस्थापन कलामा रुपान्तरण गरी ‘यादहरु’ शीर्षकमा कथैकथाका पोका खोलिदिएका छन्।

उनले यहाँ नेपाली इतिहासका सबै खाले सिक्का ल्याउन जमर्काे गरेका छन्। परिवर्तित समयसँगै कुनै बेलाका दैनिक प्रचलनमा रहेका सिक्काहरू हराए तर ती केवल सिक्काहरू मात्र थिएनन्, ती सिक्काहरुसँग मानिसको समय, सभ्यता, संस्कृति र विविधखाले गहिरा यादहरू पनि जोडिएका छन्।

images

यो पैसा, पैसा मात्रै रहने, त्यसमा हरेक नागरिकका आ-आफ्ना कथा जोडिएको छ। पैसा देख्नेबित्तिकै बालापनका यादहरु झल्किन्छ। रुँदाखेरि आमाबुबाबाट प्राप्त पाँच पैसामा फुलिन्थ्यो। सिक्का लङ्गुरबुर्जा खेल्न, चंगा उठाउन, मिठाइ खान, कापी, किताब किन्नलगायतमा प्रयोग गर्दा फुरुंग होइन्थ्यो। यहाँको प्रदर्शनी देख्नेबित्तिकै ती यादहरु स्मृतिमा फर्किन्छ।

'यसमा मान्छेले आफैलाई जोड्न सक्छ, पुराना यादहरु स्मृतिमा ल्याइदिन्छ', कलाकार श्रेष्ठ भन्छन्, 'अर्काे भाषा, धर्म, संस्कृतिसँग पनि जोडिन्छ। पैसा लुगामा बुनेर लगाइन्छ, देवीदेवताका मालामा उनिन्छ, कतै पूजाआजामा प्रयोग हुन्छ। नागमा टाँसेर राखिन्छ।'

पैसामा समय अनुसारका भाषा प्रयोग गएिकाले पनि भाषा, संस्कृतिलाई झल्काइदिने हुँदा हरेक यादहरु जोडिने उनी बताउँछन्। डिजिटल जमानामा प्रत्यक्ष पैसाबाटै हुने कारोबार हराइसक्यो। नयाँ पुस्ताले पैसा देखिरहेको वा छुन पाइरहेको छैन। अन्य कलाहरु छुन पाइँदैन तर यहाँ भने पैसा छुन पाइने अवसर प्राप्त छ। 'मेरो यो कलामा अर्काे पुस्ताले पैसालाई प्रत्यक्ष छोओस्, पैसासँग खेलोस् र यादहरु सँगालोस् भन्ने हो, त्यो अवसर मिलिरहेको छ, पैसा अँजुलीमा लिएर पानीझैँ खन्याउँदै, सेल्फीमा खेलिरहेका पाउँदा उद्देश्य पूरा भएको महसुस भएको छ', कलाकार श्रेष्ठले अनुभव सुनाए।

उनी कला हेर्न आएका कला पारखी १० जनाले १० थरी अर्थ लगाइहेका देख्छन्। कला अवलोकनमा आएकी सांसद जयन्तीदेवी राईले त डुंगामा पैसा र पात चढाएर ढोगिन्। राष्ट्रियसभा विधायन व्यवस्थापन समितिका सभापति उनले अनि आफ्नो विगत समयलाई सम्झिइन्।

यहाँ कसैले बालापनको याद गर्नुहुन्छ। कसैका मानसपटलमा पैसा प्राप्तिका लागि गरेका संघर्ष झल्किदिन्छ। देख्नेबित्तिकै फरकफरक कथाहरु जोडिएर आउँछ। पानीमा रहने डुंगाले यहाँ मान्छेको सट्टामा पैसा बोकेर थुप्रै कुरा र कथा भनिरहेको छ। अहिलेको डिजिटल दुनियाँमा यी नेपाली सिक्काहरू र यससँग जोडिएका कथाहरू एकै ठाउँमा देख्न सकुन् भन्ने नै प्रदर्शनीको मूल उद्देश्य हो भन्छन् कलाकार श्रेष्ठ।

उनले दुर्लभ सिकाहरूलाई डुंगामार्फत प्रस्तुत गरेका हुन्। डुंगालाई यहाँ एउटा रुपकमा प्रयोग गरिएको छ। यसले सिक्कासँग जोडिएका यी तमाम कुराहरूलाई एक ठाउँबाट अर्को ठाउँ, एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्‍याइरहने छ। यहाँ अल्मुनियमका साथै सय वर्ष पुराना चाँदी, तामालगायत सिक्काहरू छन्। डुंगा भने दोलालघाटबाट ल्याइएको हो। यसरी प्रस्तुत गर्नुको कारणबारे कलाकार श्रेष्ठ थप्छन्, 'एकै ठाउँमा सिक्काहरू आफ्नै आँखाले देख्न र छुन सकून्, जुन हाम्रो समय, सभ्यता, धर्म, संस्कृति र विविध गहिरा यादहरू पनि हुन् भन्ने लाग्यो।'

कला अवलोकनपछि मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपाने कलाकारले दिमागको बत्ती बालिदिने र यो कलामा कलाकार श्रेष्ठले हृदयमा बत्ती बालिदिएको उल्लेख गरे। पैसा स्पर्श गर्दै न्यौपानेले भने, 'यो डुंगामा राखेको पैसा, पैसा मात्रै होइन, यसले इतिहास, समाज बताइरहेको छ। थुप्रै हातहरुको स्पर्शलाई बोकेर बाँचिरहेको छ। एउटा पैसामा थुप्रै कथाहरु छन्। यहाँ जति पैसाहरु छन् सबै कथैकथाको थुप्रो जस्तो लागिरहेको छ।'

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीमा ४८२ कलाकारका पाँच सय २२ कला कृति छन्। त्यसमध्ये वास्तुकला तथा अन्य सृजनात्मक (बहुआयामिक) कला विधाअन्तर्गत छवि कलाका ३३, प्रतिस्थापन कलाका सात, कार्टुनका १२, क्यारिकेचरका तीन, डिजिटलका एक, भिडियो आर्टका एक, भावभंगीका दुई कलाकृति छन्। त्यसमध्ये प्रतिस्थापन कलामा वाग्मतीबाट उनको यो सृजनाले प्रादेशिक ललितकला विधागत पुरस्कार प्राप्त गरेको छ।

यहाँ सय वर्षभन्दा पुराना नेपाली सिक्कादेखि २०५४ सालसम्मको विभिन्न सिक्काहरू (बुलेट सिक्का) चाँदी, तामाको र बढी मात्रामा आल्मुनियमका करिब ८० किलो सिक्का राखिएको छ। प्रदर्शनीमा कला देख्नेबित्तिकै एउटै प्रश्न आउँछ, 'आम्मै, यति धेरै सिक्काहरू कहाँबाट आयो? कसरी र कहिलेदेखि जम्मा गरेको? यो डुंगा कहाँदेखि ल्याउनुभयो?'

प्रश्नले झन् उत्सुक कलाकार श्रेष्ठ जवाफ दिन झिँजो मान्दैनन्। 'डुंगा दोलालघाटस्थित कोशी नदीबाट ल्याइएको हो। सिक्काहरू २०६८/६९ सालदेखि विभिन्न मन्दिर र केही किनबेच गर्ने ठाउँबाट किनेर जम्मा गर्न थालेको हुँ, अहिलेसम्म ८० किलो भएको छ', आगन्तुकका जिज्ञासा मेटाउँदै भन्छन्। 

डुंगा ल्याउँदाको दुःख 

उनीसँग डुंगा ल्याउँदाको कहानी छुट्टै छ। डुंगा खोज्ने र ल्याउने क्रममा तीन पटक दोलालघाट पुगे। पहिलो पटक डुंगा देख्दा कोही थिएन। पानीमा हावाको लयमा हल्लिरहेको एउटा डुंगा देखे। लाग्यो उ पानीसँग खेलिरहेको छ।

'पानीबाट कसरी छुटाएर ल्याउँ', उनको मनमा सोच पलायो। श्रेष्ठ दोधारमा परे। डुंगालाई यहाँबाट निकालेर लग्नु के ठीक थियो त? यिनको ठाउँ त यो पो हो त। यसको सम्बन्ध त पानीसँग पो छ। अब यो काम गर्ने वा नगर्ने सोच्दा सोच्दै केही दिन बिते। 

नयाँ प्रविधि फाइबरलगायतका डुंगाका कारण काठका डुंगा हराउँदै गएको थाहा पाएपछि बल्ल उनी डुंगा ल्याएर प्रदर्शनीमा राख्दा राम्रै हुने निर्णयमा पुगे। उनलाई धेरैले स्पर्श गरिसकेको पुरानो डुंगा चाहिएको थियो। डुंगा खोज्नेक्रममा त्यहाँका रामबहादुर माझी साथी बने। धेरै चहार्दा कहीँ नपाएपछि उही रामबहादुरसँगै भएको डुंगा ४० हजार रूपैयाँमा किनेर ल्याए। डुंगा ल्याउँदा ठाउँठाउँमा प्रहरीले दिएको दुःख, काटेको चिट उनले अनुभवमा सँगालेका छन्।

प्रदर्शनीको छेउमा उनले लेखेका छन्, 'यहाँबाट कुनै सिक्का ननिकाल्नु होला, बरु, आफ्नो कलेक्सनमा रहेको तर यहाँ नभएका सिक्काहरू इच्छाअनुसार दान गर्न सक्नुहुन्छ। इच्छाअनुसार अर्को प्रदर्शनीमा नाम र फोटो डकुमेन्ट गरिने छ। यो कला देशभित्र वा बाहिरको कुनै सङ्ग्रहालय, ग्यालरी वा पब्लिक प्लेसमा कलेक्सन होस् भन्ने चाहना रहेको छ।'

तर कलाकार श्रेष्ठको त्यहाँको अनुभव नौलो छ। धेरै सिक्का त्यहाँबाट झिकेर लगिए। कतिपयले त सम्झनाका लागि मागेरै लगे। धेरैले चाहिँ आफ्नो जन्मिएको सालको सिक्का खोजे। उनले दिन अनकनाएनन्। 'झिकेर वा मागेर लगे पनि आखिर उहाँहरुले आफ्नो जीवनको याद र कथा बोकेर लैजानुभएको छ, त्यसैमा म खुसी छु, सिक्का तर फेरि खोजेर ल्याउँला नि', हाँस्दै भने।

उनको कला प्रदर्शनी हजारौँले अवलोकन गरिसकेका छन्। जेठ अन्तिमसम्म हुने प्रदर्शनीमा रामबहादुर माझी, त्यो माझी बस्ती, ती प्रहरीहरु, सिक्का दिने पुजारीहरू र अरू थुप्रै अनुहारहरू सहभागी हुने छैनन् तर कलाकार श्रेष्ठ उनीहरुलाई सम्झिरहेका छन्। उनका हरेक कलाले समय, अवधारणाअनुसार फरकफरक तरिकामा कुरा गरिरहेको पाइन्छ। कुनै बेला चिच्याएर, कुनै बेला दुःखी भएर। यो काम चाहिँ अलि बिस्तारै पछिसम्मका लागि केही भनिरहेको जस्तो फिल हुन्छ। थुप्रै व्यक्तिले थुप्रै दृष्टिकोणबाट कामसँग जोडिरहेको पाइन्छ।

कलाकार श्रेष्ठले यसअघि राष्ट्रिय पुरस्कारहरू पाइसकेका थिए। तर यो अलि विशेष प्रस्तुति रहेकाले फेरि ३० हजार राशिको प्रादेशिक पुरस्कार पाए। त्यसबापत पाएको केही रकम डुंगा दिने रामबहादुर माझीलाई प्रदान गर्ने सोच बनाएका छन्।

उनी भन्छन्, 'यस्तो काम वा कन्सेप्ट मेरो दिमागले देखेपछि गर्नु नै पर्छ भन्ने लाग्यो, किन कि नगर्दा छुट्न जान्छ। हिमाल, पहाड, भगवानका चित्रहरू मैले नगर्दा नि अरू कसै न कसैले गरिरहेको हुन्छ। यो त कसैले गर्न सक्दैन, त्यसैले प्रदर्शनीमा ल्याएँ।' 

यसरी जोडिन्छ जीवनका कथा 

यी सिक्काहरू जीवनकै एक उत्कृष्ट यादहरू हुन्, बालापन झक्झक्याउने आधार हुन्। पाँच पैसाको एउटा सिक्काले पाँचवटा पीपलमेठ किनेर खाएको मीठो सम्झना गराउँछ। एक हिसाबमा यी पैसाहरू आमा, बुबा, आफन्तझैँ थिए। एउटा पैसा पायो कि खुसीले गद्गद् हुने जमाना थियो।

यही पैसाले लङ्गुर्बुर्जा खेलिन्थ्यो। चंगा किनेर आकाशमा उडाइन्थ्यो। ठूलाठूला चाडपर्वहरू मनाइन्थ्यो। अनि यही पैसा पाउनकै लागि घण्टौँसम्म भगवानका मूर्तिहरू ढुकेर बसिन्थ्यो। पैसा नचढाउने व्रतालुलाई मनमनै गाली पनि गरिन्थ्यो। लाग्थ्यो, ढुंगाका यी मूर्तिहरू पनि यही पैसाहरू कुरेर बसिरहेका थिए।

विभिन्न समुदाय र देवदेवीको गरगहना, पूजाहरूमा, खोला, पोखरीहरूमा चढाउने प्रचलनहरू अहिले पनि छ। पैसा ढोग्ने, चढाउने क्रम पनि छ। हिन्दूहरुका शुभ कार्यमा तामाका पैसा नभइ हुन्न। त्यसैले नेपाली सिक्काहरू इतिहास मात्र नभएर सिक्कासँग जोडिएका हाम्रो समय, सभ्यता, संकृति र यादहरूको संकलन पनि हो। 

कलाकार श्रेष्ठका अनुसार अहिलेको भौतिक दुनियाँमा यो डुंगा यति सामान्य छ कि, एउटै काठले बनेको तर पनि यसले एक ठाउँको कुरा अर्को ठाउँमा पुर्‍याइदिने वा सम्बन्धहरू जोड्ने काम गर्छ। यहाँ पनि यी सिक्कासँग जोडिएका यी कुराहरूलाई एक ठाउँबाट अर्को ठाउँ, एक पुस्ताबाट अर्को पुस्तासम्म पुर्‍याउने माध्यम बनोस् भन्ने चाहना उनको हो। रासस


प्रकाशित : सोमबार, जेठ २८ २०८११५:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend