चितवन- चालु आर्थिक वर्षमा डिभिजन सडक कार्यालय भरतपुरमार्फत निर्माण सम्झौता भएका सात मोटरेबल पुलको निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएका पुलमा २० मिटरदेखि दुई सय मिटरसम्मका मोटरेबल दुई लेनका पुल रहेका छन्।
डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहका अनुसार यस आर्थिक वर्षमा चितवनमा छ र नवलपुरमा एक पुलको निर्माण सम्पन्न भएको हो। उनले यस वर्ष ठूला पुलमध्येका चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सम्पन्न भएको बताए।
२० करोड रूपैयाँ लागतको पुलको विसं २०७१ मा सम्झौता भएको र पटकपटक म्याद थप्दै नौ वर्षपछि गत पुसमा मात्र निर्माण सम्पन्न भएको उनको भनाइ थियो।
शाहका अनुसार निर्माण सम्पन्न भएका अन्य पुलमा चितवनको खैरहनी नगरपालिका-६ नमूना पेट्रोल पम्प नजिकको पम्फा खोला पुलको निर्माण यस वर्ष सम्पन्न भएको छ। चार करोड रूपैयाँमा निर्माण सम्पन्न भएको सो पुलको विसं २०७३ असारमा निर्माण सम्झौता भएको थियो।
त्यस्तै, चितवनको राप्ती-६ र १० जोड्ने पम्फा खोला पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ। विसं २०७५ जेठमा निर्माण सम्झौता भएको सो पुलको यस वर्ष निर्माण सकिएको सूचना अधिकारी शाहले जानकारी दिए। सो पुलको लागत चार करोड छ।
त्यसैगरी, ढुङ्ग्रे खोला कठार चितवनको पुलको यस वर्ष निर्माण सम्पन्न भएको छ। विसं २०७५ जेठमा सम्झौता भएर यसवर्ष कठार पुलको निर्माण सकिएको इन्जिनियर साहले बताए। सो पुलको लागत चार करोड ५० लाख रूपैयाँ रहेको छ।
चितवनकै इच्छाकामना गाउँपालिकामा पर्ने थाङ खोलामा पनि यस वर्ष नयाँ पुल बनेको छ। सम्झौता भएको मितिले २ वर्षमा निर्माण सम्पन्न सो पुलको बजेट चार करोड ५० लाख रूपैयाँ रहेको छ। शाहले भने, 'थाङखोला पुल अब छिट्टै सञ्चालनमा आउँछ।'
भरतपुर महानगरपालिकामा पर्ने केरुंगा खोलाको पुलको पनि यस वर्ष निर्माण सम्पन्न भएको छ। साहका अनुसार चार करोड रूपैयाँमा निर्माण सम्झौता भएको सो पुल तीन वर्षमा निर्माण सम्पन्न भएको हो।
कार्यालयमार्फत यसवर्ष पूर्वी नवलपरासीमा पर्ने गैँडाकोट नगरपालिका-१३ र १६ जोड्ने अभिछेक खोलाको पुल पनि निर्माण सम्पन्न भएको छ। पाँच करोड १७ लाख रूपैयाँमा निर्माण भएको सो पुलको विसं २०७८ मा निर्माण सम्झौता भएको थियो।
सूचना अधिकारी साहले यस वर्ष नयाँ पुलको योजना नरहेकोे र रातो किताब आएपछि आगामी आर्थिक वर्षका योजनाहरुको जानकारी प्राप्त हुने बताए। कार्यालयको कार्य क्षेत्र चितवन र नवलपरासी (सुस्ता पूर्व) पर्दछ। रासस