काठमाडौं- सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाइएको छ।
काठमाडौं महानगरपालिकाको शिक्षा विभागले आइतबार ४ वटा सामुदायिक विद्यालयले भाडामा लगाएका ६१ वटा सटरमा ताला लगाएको हो। विभागसँगै प्रमुखको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा आएका सटर तथा टहराहरुमा ताला लगाएको हो।
यसरी ताला लगाइएका सटरहरुमध्ये रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा सटर, बागबजारमा रहेको सहिद शुक्र माविले भाडामा दिएका २२ वटा सटर रहेका छन्।
यस्तै विजय स्मारक मावि डिल्लीबजारले भाडामा लगाएका ८ वटा सटर र पदमकन्या मावि डिल्लीबजारले भाडामा लगाएका १४ वटा सटरमा पनि ताला लगाइएको काठमाडौं महानगरले जनाएको छ।