बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

५४ वर्षदेखि नेपालमा रहेकाे कर्पोरेट अफिस हटाउँदै एयर इन्डिया, सिद्धार्थ राणाको कम्पनीले जीएसए पाउँदै

images
आइतबार, जेठ २७ २०८१
images
images
५४ वर्षदेखि नेपालमा रहेकाे कर्पोरेट अफिस हटाउँदै एयर इन्डिया, सिद्धार्थ राणाको कम्पनीले जीएसए पाउँदै

पछिल्लो समय आक्रामक सेवा विस्तार गर्दै आएको एयर इन्डियाले एकैपटक ५ सय जहाज खरिदको तयारी गरिरहेको छ।

images
images

काठमाडौं- एयर इन्डियाले नेपालमा ५४ वर्षपछि कर्पोरेट अफिस हटाउने तयारी गरेको छ। सरकारी स्वामित्वबाट टाटा समूहले खरिद गरेपछि एयर इन्डियाले खर्च कटौती र सेवा विस्तारलाई तीव्रता दिइरहेको छ। सोही क्रममा नेपालको अफिस हटाएर जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गर्ने भएको छ।

images
images

एयर इन्डियाको जीएसए सिद्धार्थ शमशेर राणा अध्यक्ष रहेको अमरावती ट्राभल्सले पाउने लगभग निश्चित भएको छ। जीएसएका लागि नेपालका दर्जनौँ ट्राभल कम्पनीहरूको दौड चलेता पनि नेपालमा टाटा गाडी बिक्री गर्दै आएका राणाले नै एयर इन्डियाको जीएसए पाउने निश्चित भएको हो।

images
images

दिल्ली-काठमाडौं-दिल्ली रुटमा एयर इन्डियाले दैनिक दुईवटा उडान गर्दै आएको छ। दशकौँदेखि आफ्नै अफिस राखेर व्यवस्थापन गर्दै आएको एयर इन्डियाले अफिस हटाएर जीएसए नियुक्त गर्न लागेको हो।

images
images

सन् १९७० मा इन्डियन एयरलाइन्सले नेपालमा पहिलो पटक उडान गरेको थियो। पछि इन्डियन एयरलाइन्सले एयर इन्डियाको नाममा उडान गरेको हो। जुन उडान अहिलेसम्म पनि निरन्तर छ।

सुरुदेखि नै नेपालमा कर्पोरेट अफिस राखेर उडान सुरु गरेको एयर इन्डियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङको पनि व्यवस्थापन गर्दै आएको छ।

५४ वर्षपछि एयर इन्डियाले नयाँ नीति ल्याएर अब कर्पोरेट असिफ हटाउने र जीएसए नियुक्त गर्न लागेको हो। तारा म्यानेजमेन्ट ग्रुप अन्तर्गगतको अमरावती ट्राभल्सले हङकङको क्याथे ड्रयागन, ओमनको ओमान एयर, टर्कीको टर्किस एयरलाइन्समा कार्गोतर्फको एजेन्ट सम्हाल्दै आएको छ।

एयर इन्डियासँग टाटा जोडिएसँगै नेपालमा पनि जीएसए राणाले पाउने भएका हुन्। पछिल्लो समय आक्रामक सेवा विस्तार गर्दै आएको एयर इन्डियाले एकैपटक ५ सय जहाज खरिदको तयारी गरिरहेको छ। एयर इन्डियाले चारसय न्यारोबडी तथा एकसय वाइडबडी जहाज खरिदको तयारी गरेको छ। कम्पनीले एयरबस तथा बोइङका जहाज खरिदको तयारी गरिरहेको छ।

टाटा समूहअन्तर्गतको एयर इन्डियाले भिस्तारा एयरसँग मर्जरको अन्तिम तयारी गरिरहेको छ। नयाँ जहाज खरिद तथा मर्जरपछि विशाल उडान सञ्जाल भएको एयरलाइन्स हुनेछ। एयर इन्डियाले अहिले १ सय ४२ हवाई जहाजमार्फत ८४ गन्तव्यमा उडान गर्दै आएको छ। 

डेढ वर्षअघि टाटा समूहले भारत सरकारसँग १ खर्ब ८० अर्ब भारुमा एयर इन्डिया खरिद गरेको थियो। 

भारत सरकारले एयर इन्डियाको शतप्रतिशत र एयर इन्डिया एसेट्सको ५० प्रतिशत सेयर बिक्री गर्नका लागि खुला प्रस्ताव आह्वान गरेको थियो। एयरलाइन्स खरिदका लागि भारतीय बहुराष्ट्रिय व्यापारिक समूह टाटा सन्सले हालेको प्रस्ताव स्वीकृत भएको थियो।

व्यावसायिक रुपमा खराब प्रदर्शन गर्दै आएपछि सरकारले २००० मै एयर इन्डिया बिक्रीको प्रयास गरेको थियो। त्यतिबेला बिक्रिका लागि प्रस्ताव गरेपनि सफल भएको थिएन। 

एयर इन्डियाको स्थापना नै टाटा समूहले गरेको थियो। १९३२ मा जेआरडी टाटाले यसको स्थापना गरेका थिए। आफै पाइलट रहेका टाटाले यसको नाम टाटा एयर सर्भिस राखेका थिए। दोस्रो विश्वयुद्ध सुरु भएपछि एयरलाइन्स बन्द भएको थियो।

त्यसपछि १९४६ मा सेवा सुरु भएपछि सरकारले सेयर खरिद गरी नाम परिवर्तन गरिदिएको थियो। त्यतिबेला नै यसको नाम एयर इन्डिया भएको थियो। १९५३ मा भारत सरकारले एयर इन्डियालाई राष्ट्रियकरण गरेको थियो। भिस्तारा एयरलाइन्सबाट अहिले फेरि नागरिक उड्डयनमा हात हालेको टाटाले एयर इन्डिया पुन: लिएर मर्जर प्रक्रिया अगाडि बढाएको छ। 

सिप्रदी ट्रेडिङका समेत अध्यक्ष सिद्धार्थ शमशेर राणा नेपालमा हरेक वर्ष व्यक्तिगततर्फ आयकर तिर्ने उत्कृष्टको सूचीमा पर्दे आएका छन्।

राणाको सिप्रदीसँगै हस्पिटालिटी, उत्पादनमूलक उद्योग, जलविद्युतलगायतमा लगानी रहेको छ। सिप्रदी ट्रेडिङ, सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाललगायतका कम्पनीमा उनको लगानी छ। 


प्रकाशित : आइतबार, जेठ २७ २०८११३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend