शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

दोस्रो बजारमा लगानी गर्नेका लागि उत्कृष्ट दुई वाणिज्य बैंक, कुनको सेयर किन्दा के फाइदा?

शनिबार, जेठ २६ २०८१
दोस्रो बजारमा लगानी गर्नेका लागि उत्कृष्ट दुई वाणिज्य बैंक, कुनको सेयर किन्दा के फाइदा?

काठमाडौं- अधिकांश वाणिज्य बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक हुने सम्भावना बढ्दो छ। बढ्दो वितरणयोग्य घाटाका कारण दुई वाणिज्य बैंकबाहेक अन्यले लाभांश दिने सम्भावना कम देखिन्छ। 

अर्थतन्त्रमा ठूलै सुधार भएर बैंकहरूको खराब कर्जा उठ्ने अवस्थामा मात्रै अन्य बैंकहरूले लाभांश दिने अवस्था देखिन्छ।

राष्ट्र बैंक कठोर भएकै कारण आगामी आर्थिक वर्ष पुँजीकोष सहज भएका एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले मात्रै लाभांश दिने क्षमता देखिन्छ।

दोस्रो बजारमा सस्तो मूल्यमा पाइने एभरेष्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंक दुवैको सेयर लगानीकर्ताका लागि आकर्षक बन्न सक्दछ। 

एभरेष्ट बैंक 

एभरेष्ट बैंकको दोस्रो बजारमा प्रतिकित्ता ५२८ रुपैयाँमा कारोबार भइरहेको छ। बैंकका सूचकका हिसाबले अब्बल भएतापनि सेयर मूल्य भने बढ्न सकेको छैन। बैंकको पछिल्लो ५२ हप्तामा बढेर ६३३ रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो।

पछिल्लो ९ महिनाको सूचक भने अब्बल नै देखिएको छ। चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

गतवर्ष १ अर्ब ६ करोड बोनस सेयर र १ अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिएकाले बैंकको वितरणयोग्य नाफा गत वर्षको यसै अवधिको तुलनामा केही कम देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा गत वर्षको तुलनामा बढेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा करिब १४ करोड रुपैयाँ बढेको छ।  

चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड रहेको थियो। गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेको हो र इम्पियरमेन्ट चार्ज सामान्यरुपमा मात्रै बढेको हो। 

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज ५५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष बढेर ६२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ।

गत वर्ष ०‍.७० नै रहेको खराब कर्जा चालु आर्थिक वर्षको ९ महिना पनि ०.७ प्रतिशत नै रहेको छ। यस अवधिमा बैंकको आधार दर ८.१३ प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.५० प्रतिशत रहेको छ।

स्टाण्डर्ड चार्टर्ड बैंक

चालु आर्थिक वर्षको ९ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंक प्रमुख सूचाङ्कहरू घटेपनि बैंक अन्य बैंकहरूको तुलनामा राम्रो अवस्थामा छ।  

बैंकको दोस्रो बजारमा सेयर ५६० रुपैयाँमा कारोबार भएको छ। जुन बाणिज्य बैंकहरुमध्ये सबैभन्दा महंगो सेयर मूल्य समेत हो। पछिल्लो ५२ हप्तामा बैंकको सेयर मूल्य ६१२ रुपैयाँसम्म पुगेको थियो।

गत वर्षको ९ महिनामा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। चालु आर्थिक वर्ष सोही अवधिमा बैंकको खुद नाफा करिब १७ करोडले घटेको छ।

गत वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४० करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ अर्ब ९० करोड कायम भएपछि बैंकको नाफामा सामान्य गिरावट देखिएको हो।  

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब ४४ करोड रहेकोमा चालु आर्थिक वर्ष घटेर २५ करोडमा सीमित भएको छ। 

गत वर्षको तुलनामा बैंकको खराब बर्जा बढेको असर वितरणयोग्य नाफामा देखिएको छ। गत वर्ष यस अवधिमा बैंकको खराब कर्जा ०.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यस अवधिमा बढेर २.१४ प्रतिशत कायम भएको छ।

यस अवधिमा बैंकले पाकेको तर नउठेको ब्याज बापत १ अर्ब ५७ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको थियो। 

जसले गर्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँमा खुम्चिएको छ। खुद नाफा घटेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा घटेको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

गत आर्थिक वर्ष बैंकले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेकाले सञ्चित नाफा घट्न गएकाले वितरणयोग्य नाफा कम भएको हो। यस अवधिमा स्टाण्डर्ड चार्टर्ड बैंकको आधार दर ६.५३ प्रतिशत र कर्जा निक्षेप अनुपात ७८ प्रतिशत कायम भएको छ।


प्रकाशित : शनिबार, जेठ २६ २०८१०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend