शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

पर्यटक आकर्षित गर्न ३३ लाख लगानीमा ‘इस्टर्न ट्राभल मार्ट’

images
बुधबार, जेठ २३ २०८१
images
images
पर्यटक आकर्षित गर्न ३३ लाख लगानीमा ‘इस्टर्न ट्राभल मार्ट’

विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष संवादमार्फत व्यावसायिक समझदारी बनाउने वातावरण सृजना गर्न लागिएको मार्टका संयोजक भविश कुमार श्रेष्ठले बताए।

images
images

इटहरी- पूर्वी नेपालका पर्यटन व्यवसायीलाई हौसला प्रदान गर्ने उद्देश्यअनुरूप 'इस्टर्न ट्राभल मार्ट २०२४' सुरु हुँदैछ। यही जेठ २५ देखि २७ गते (जुन ७-९) सम्म इटहरीबाट ट्राभल मार्ट सुरु हुन लागेको हो।

images
images
images

विदेशी तथा स्वदेशी पर्यटन उद्यमी तथा अभियन्तालाई प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थलको भ्रमण गराउने कार्ययोजनासहित ट्राभल मार्ट सञ्चालनमा आउने भएको छ। 

भारत, बंगलादेश, भुटानका पर्यटकलाई आकर्षित गर्न मार्टको आयोजना हुन लागेको आयोजकले जनाएको छ। २५ गते इटहरीबाट सुरु भएको कार्यक्रम २६ गते महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको भ्रमणसहित इलामसम्म पुग्ने कार्यतालिका रहेको छ। २७ गते झापाको होटेल मेची क्राउनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मार्टको समापन गर्ने भएका छन्। 

images

भारतको पश्चिम बंगाल, सिक्किम, बिहारलगायत प्रान्तबाट पर्यटन पत्रकार तथा पर्यटन उद्यमीहरू आउने आयोजकले जनाएको छ।

images

भुटानबाट पर्यावरणमा काम गर्ने पर्यटन उद्यमीदेखि बंगलादेशका व्यवसायिक पर्यटनकर्मीलाई निमन्त्रणा गरिएको छ। सन् २०१८ देखि सुरु भएको मार्ट कोरोना महामारीको कारण बीचमा स्थगित भएर यसपटक चौथो संस्करण गर्न लागिएको आयोजक समिति इस्टर्न ट्राभल मार्ट २०२४ का सचिव वासुदेव बरालले बताए। 

नेपाल पर्यटन बोर्ड र स्थानीय सरकारको संयुक्त लगानीमा मार्ट आयोजना हुन लागेको हो। पर्यटन बोर्डबाट ३० लाख र इटहरी उपमहानगरपालिकाको ३ लाख गरी ३३ लाख लगानीमा मार्ट आयोजना हुने बताइएको छ।

सोल्टी होटेल इटहरीको कार्यक्रममा कोशी प्रदेशमा हालसम्म सञ्चालित तारे होटेल तथा प्रमुख पर्यटकीय गन्तव्य र धार्मिक स्थल, हस्पीटालिटि म्यानेजमेन्ट कलेज सहित ३० वटाभन्दा बढी स्टल रहनेछन्।

कोशी प्रदेशको समग्र उत्पादनलाई सीमावर्ती भारतीय सहरमा पुर्‍याउने उद्देश्यको साथ प्रदेशका महत्त्वपूर्ण व्यापारिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गराउन लागिएको सचिव बरालको भनाइ छ। विदेशीबाहेक नेपाल भित्रैबाट लुम्बिनी, बागमती, गण्डकी, मधेश र अन्य प्रदेशका ५० जनाभन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहने उनको भनाइ छ। 

विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबीच प्रत्यक्ष संवादमार्फत व्यावसायिक समझदारी बनाउने वातावरण सृजना गर्न लागिएको मार्टका संयोजक भविश कुमार श्रेष्ठले बताए। स्वदेश तथा विदेशका व्यवसायीहरूलाई प्याकेजमा सम्झौता गराउने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम तय गरिने उनको भनाइ छ।


प्रकाशित : बुधबार, जेठ २३ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend