बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

५५ अर्बभन्दा बढी लगानी हुने माथिल्लो तमोर आयाेजनामा एभरेष्ट बैंकको नेतृत्वमा ऋण लगानी

निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो लगानी हुने २८५ मेगावाटको माथिल्लो तमोरमा जुट्यो लगानी

बुधबार, जेठ २३ २०८१
५५ अर्बभन्दा बढी लगानी हुने माथिल्लो तमोर आयाेजनामा एभरेष्ट बैंकको नेतृत्वमा ऋण लगानी

५५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनमा २२ अर्ब इक्विटी लगानी हुँदै छ भने ४ अर्ब हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ऋण लगानी गर्दैछ। एचआईडीसीएलले अहिलेसम्मकै ठूलो ऋण लगानी माथिल्लो तमोरमा गर्न लागेको छ।

काठमाडौं- निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो लगानी हुन लागेको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी जुटेको छ। आयोजनाको प्रवर्द्धक कम्पनी तमोर इनर्जीले ताप्लेजुङ जिल्लामा निर्माण गर्न लागिएको २ सय ८५ मेगावाट क्षमताको माथिल्लो तमोरमा वित्तीय व्यवस्थापन भएको जनाएको छ।

एक वर्षअगाडि नै लगानी जुटाएर निर्माणमा जाने तयारी गरेता पनि एकवर्ष ढिलागरी आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। जसमा एभरेष्ट बैंकको नेतृत्वमा बैंकहरूले ३८ अर्ब रुपैयाँ लगानी गर्न लागेका हुन्।

५५ अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनमा २२ अर्ब इक्विटी लगानी हुँदै छ भने ४ अर्ब हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले ऋण लगानी गर्दैछ। एचआईडीसीएलले अहिलेसम्मकै ठूलो ऋण लगानी माथिल्लो तमोरमा गर्न लागेको छ।

नेपालमा निजी क्षेत्रले ठूला जलविद्युतमा लगानी गर्न सक्दैनन् भन्ने चर्चाकाबीच माथिल्लो तमोरमा ठूलो लगानी हुन लागेको हो।  

जलविद्युत् आयोजना निर्माण कार्य २०७९ पुस महिनाबाट सुरु गर्ने घोषणा गरिए पनि वित्तीय व्यवस्थापन हुन नसक्दा रोकिएको थियो। अबको केही महिनाभित्रै आयोजना निर्माण सुरु हुने जनाइएको छ।

ताप्लेजुङको तापेथोकमा बन्ने आयोजनाको मेजर प्रोजेक्टको आउट लेट ताङलुङ गाउँपालिकामा पर्छ भने पावर हाउस फुङलिङ नगरपालिकामा पर्छ।

निर्माण सुरु भएको ६ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको माथिल्लो तमोर आयोजनाको व्यापारिक उत्पादन २०८५ जेठ १९ गतेबाट गर्ने योजना रहेको थियो। अब २०८६ सम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ। 

आयोजनाको जेनेरेसन लाइसेन्स क्षमता २८५ मेगावाट रहेको छ। पीपीए २५५.२८१ मेगावाटको लागि रहेको छ। वार्षिक १४७९.८७ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ। यस आयोजनाले बर्सेनि कुल १ अर्ब ४७ करोड ९८ लाख ७७ हजार ९ सय ३९ किलोवाट विद्युत् उत्पादन गर्ने अनुमान गरिएको छ।

आयोजनाको ड्राइ सिजनमा पिक इनर्जी २६ करोड ५३ लाख १९ हजार ९ सय ४२ किलोवाट विद्युत् उत्पादन हुन्छ। ड्राइ सिजनको नन् पिकमा १८ करोड ८ लाख ९६ हजार २ सय ९० किलोवाट विद्युत् उत्पादन हुनेछ। यसरी ड्राइ सिजनमा कुल ४४ करोड ६२ लाख १६ हजार २ सय ३२ किलोवाट विद्युत् उत्पादन हुनेछ। वेट सिजनमा १ अर्ब ३ करोड ३६ लाख ६१ हजार ७० सय ७ किलोवाट विद्युत् उत्पादन हुने छ।

बिजुली उत्पादनबाट सरकारले बर्सेनि ९ अर्ब २८ करोड २ लाख ३० हजार ४ सय १६ रुपैयाँ राजस्व आम्दानी गर्ने अनुमान गरिएको छ। कम्पनीले उत्पादनपछि ड्राइ पिक सिजनमा १०.५५ रुपैयाँमा नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् बिक्री गर्नेछ। ड्राइसिजनको नन् पिक इनर्जीलाई ८.४० रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ। वेट सिजनमा ४.८० रुपैयाँमा ऊर्जा बिक्री हुनेछ।

पिकिङ रन अफ रिभर प्रकारको यो जलविद्युत् आयोजनाको पिकिङ क्यापासिटि ६ घण्टा रहेको छ। झण्डै ५ किलोमिटरको ट्रान्समिसन लाइन माथिल्लो तमोरको जिआइएस विस्चार्जबाट मिडल तमोरको विस्चार्जसम्म निर्माण गर्नुपर्नेछ। त्यसपछि पहिले नै निर्माण भएको मिडल तमोरको ट्रान्समिसन लाइनमार्फत सबस्टेसनसम्म इनर्जि इभ्याकुएट गरिनेछ।

यो आयोजनाका लागि सन् २००७ मा सर्वेक्षण लाइसेन्स दिइएको थियो। यसमा सन् २०१२ मा वातावरणीय अध्ययन स्वीकृत भएको थियो। त्यसपछि २८५ मेघावाट स्वीकृत भएर त्यसको आधारमा विद्युत् विकास विभागलाई विद्युत् उत्पादन लाइसेन्सका लागि निवेदनको आधारमा २०७५ जेठ २६ गते लाइसेन्स प्राप्त गरेको थियो।

ताप्लेजुङस्थित माथिल्लो तमोरबाट उत्पादन हुने बिजुलीलाई २२० केभी प्रसारणलाइनमा जडान गरिने छ। माथिल्लो तमोर जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणले ढुङ्गेसाँघुमा निर्माण गरिरहेको २२० केभी क्षमताको प्रसारणलाइनमा जडान गरिने भएको हो। 


प्रकाशित : बुधबार, जेठ २३ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend