बुधबार, असार १७ गते २०८३    
बुधबार, असार १७ २०८३

युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेला

बिहीबार , जेठ १७ २०८१
युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेला

यस्तो मेला सातवटै प्रदेशमा आयोजना गरिने श्रममन्त्री डिपी अर्यालले बताए।

विराटनगर- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले युवा पुस्तालाई स्वरोजगार बनाउन श्रमाधान मेलाको आयोजना गरिएको बताएका छन्।

विराटनगरमा आयोजित श्रमाधान रोजगार मेला सफलताको शुभकामना दिँदै उनले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाबीचको दुरी हटाउन मेला फलदायी हुने बताए। मन्त्रालयले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न र स्वदेशमै रोजगार दिन आवश्यक सल्लाह र सुझाव आदानप्रदान गर्न श्रमाधान कल सेन्टर स्थापना गरेको मन्त्री अर्यालले जानकारी दिए।

तीनै तहका सरकार तथा निजी क्षेत्र मिलेर रोजगार सिर्जना गर्नुपर्ने उल्लेख गर्दै उनले स्वदेशी उद्योगमा विदेशी कामदार हुने र स्वदेशी कामदार विदेश जाने प्रवृतिलाई चिर्न पनि यो मेला सहयोगी हुने बताए। यस्तो मेला सातवटै प्रदेशमा आयोजना गरिने उनले जानकारी दिए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजी कमजोर भएकाले रोजगार सिर्जना कम भएको बताए। उनले भने, 'पुँजी कमजोर भएका कारण उद्योग फस्टाउन सकेनन साथै रोजगार पनि सिर्जना हुन सकेन।'

बैंकको चर्को ब्याज र कोभिड-१९ का कारण थला परेका उद्योगलाई फस्टाउन सरकारले आवश्यक नीति बनाउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री कार्कीले समाजवादको नारालाई पूरा गर्न राष्ट्रिय पुँजी बलियो बनाउनुपर्ने जोड दिए। उनले विराटनगरको जोगबनीदेखि चीन जोड्ने किमाथांका बाटो निर्माण भए हजारौँ रोजगारी सिर्जना हुने बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले मुलुकमा थुप्रै रोजगारको अवसर भएको उल्लेख गर्दै रोजगारदाता र रोजगारी खोज्नेबीच दुरी घटाउन मेला आयोजना गरिएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानी गर्ने वातावरण सिर्जना भएमा रोजगारीको समस्या त्यसै समाधान हुने भन्दै निजी क्षेत्रको विकास गर्न सरकारबाट भएका काम सराहनीय रहेको बताए। राजस्व वृद्धिमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका रहने भएकाले स्वदेशी लगानीलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अहिले पनि देशमा सबैभन्दा बढी रोजगार निजी क्षेत्रबाट नै उलब्ध भइरहेको उल्लेख गर्दै सरकार निजी क्षेत्रको मागप्रति गम्भीर बन्नुपर्ने धारणा राखे।

निजी क्षेत्रले संयोजन गरेको उक्त मेला शुक्रबारसम्म चल्ने छ। रासस


प्रकाशित : बिहीबार , जेठ १७ २०८११४:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend