काठमाडौं- पेट्रोलियम इन्धनबाट सञ्चालन हुने कारमा असावधानीवश भ्याट छुट दिइएपछि त्यसलाई सच्याउनका लागि अर्थमन्त्री वर्षमान पुनले संसद सचिवालयलाई अनुरोध गर्ने निर्णय गरेका छन्।
आर्थिक विधेयकमा मूल्यअभिवृद्धि कर (भ्याट) छुट हुने अनुसूची १ मा पेट्रोलियम गाडीको सूची परेपछि त्यसलाई सच्याउनका लागि मन्त्री पुनले निर्णय गरेका हुन्। भाषिक त्रुटि भएको भन्दै छुट सूचीलाई प्रष्ट पार्नका लागि मन्त्री पुनले निर्णय गरेका हुन्। मन्त्रालय उक्त निर्णय लिएर संसद सचिवालय पुग्दै छ।
आर्थिक विधेयक संसदमा टेबुल भएसँगै त्यसैदिन रातिदेखि भ्याटको छुट सूची लागु भइसक्छ। तत्काल कार्यान्वयन हुने विषयमा असावधानीवश गाडी पनि भ्याट छुटको सूचीमा परेपछि अन्यौल सिर्जना भएको छ।
आर्थिक विधेयक लेखनको क्रममा त्रुटि भएको अर्थका अधिकारीहरूले बताउँदै आएका छन्। यो वर्षदेखि भन्सार महसुल विधेयक छुट्टै लेखन हुँदा टेम्पलेट परिवर्तन भएको र त्यसमा एम्बुलेन्स शववहानमात्र छुटको सूचीमा हुनुपर्नेमा सबै परेको छ।
त्रुटि भएको भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूले त्यसलाई सच्याउन संशाेधन प्रस्ताव लिएर आउन लागेको जानकारी आएको संसदका प्रवक्ता एकराम गिरीले बताए।
नयाँ कानून (आर्थिक विधेयक) आइसकेपछि पुरानोअनुसार जाँचपास गर्न पाइँदैन। आर्थिक विधेयक जेठ १५ मा संसदमा पेश भएपछि सोहीदिन राति १२ बजेबाट नयाँ करको दर लागु हुन्छ। तर अहिले नयाँ दर भन्सारको सिस्टममा अपलोड गरिएको छैन।
सरकारले गरेको कमजोरी बाहिर आएपछि अर्थ मन्त्रालयले भन्सार विभागमार्फत मातहतका सबै भन्सार कार्यालयहरूमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी तत्काल जाँचपास नगर्न मौखिक सर्कुलर गरिसकेको छ। साथै भन्सारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा भ्याट छुट नहुने भनेर कर्मचारीहरूलाई प्रष्ट पारेको छ।
तर अहिले कानूनी रुपमा भने सवारी जाँचपास गर्न आए त्यो नहुने अवस्था सृजना भएको छ। आर्थिक विधेयक संसदमा पेश भइसकेकाले अब त्यसको संशोधन प्रस्ताव पेश गर्नु पर्ने हुन्छ। यसको प्रक्रिया केही दिन लाग्ने छ।
भन्सार कार्यालयहरूलाई अर्थको मौखिक सर्कुलर : गाडीमा भ्याट छुट होइन, तत्काल जाँचपास नगर्नू