शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वृद्धितर्फ लाग्ने अपेक्षाविपरीत घट्यो सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

बुधबार, जेठ १६ २०८१
वृद्धितर्फ लाग्ने अपेक्षाविपरीत घट्यो सेयर बजार, विश्वस्त देखिएनन् लगानीकर्ता

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न विभिन्न कामहरू गरिने घोषणा गरेपछि पनि लगानीकर्ता भने विश्वस्त देखिएका छैनन्। उकालोतर्फ लाग्ने अपेक्षा गरिएको सेयर बजार कमजोर देखिएको छ।

सेयर बजारमा गएको साता चार कारोबारमा नै ११२.७१ अंकले बढेको बजार यो साता धरमर गरिरहेको छ। यो साता आइतबार २२.१४ अंकले घटेको बजार सोमबार ३.९३ अंकले बढेको थियो। मंगलबारको बजेट भाषणपछि बुधबार पुन: बजार ओरालोतिर नै लागेको छ।

बुधबार २३.८१ अंकले घटेर बजार २०८९.४२ बिन्दुमा झरेको छ। ५६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ। १९१ कम्पनीको सेयर मूल्य घटेको छ। 

सुधारतर्फ जाने अपेक्षाविपरीत लामो समयदेखि उतारचढाव हुँदै ओरालो गति नै बढी देखिएको बजारले सुधारतर्फको संकेत गरे पनि त्यो निरन्तर हुन सकेन। उतारचढावबीच लगातार ओरालो लागिरहेको सेयर बजार उल्लेख्य वृद्धितर्फ जाने आशमा लगानीकर्ताहरू रहेका थिए। 

स्थायी सुधारको आधारहरू स्पष्ट नदेखिँदा बजार अघि बढ्न धरमर गरिरहँदा संगठित लगानीकर्ताहरू बजार बढाउने जोडबलमा छन्। केही संगठित लगानीकर्ताको जोडबलमा कुनै दिन वृद्धितर्फ देखिए पनि बजारले आम लगानीकर्ताको साथ पाउन भने सकेको देखिँदैन। अहिलेको अवस्थामा अब सरकारले लिने नीति, ठूला लगानीकर्ताले लिने बाटो र विश्वासयोग्य वातावरणले थप सुधारको अपेक्षा गर्न सकिने उनीहरूको भनाइ छ। 

सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने घोषणा बजेटमार्फत गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्दै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने जानकारी दिएका थिए।

सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सीडीएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्ने, वस्तु विनिमय बजार सञ्चालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने घोषणा गरेको छ। अर्थमन्त्री पुनले निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्यरुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिनेसमेत बताएका थिए। 


प्रकाशित : बुधबार, जेठ १६ २०८११५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend