काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ।
गत आर्थिक वर्षको बजेटमार्फत सरकारले आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर लगाएको थियो।
सरकारले मदिरा, वियर, सुर्ती र चुरोटको अन्त:शुल्क भने बढाएको छ। यस्तै आगामी वर्षको बजेटमार्फत मूल्य अभिवृद्धि कर छुटको सूची घटाउने घोषणा गरिएको छ।
कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर सरकारले लगाएको छ। दरमा समयसापेक्ष समायोजन गरिँदै लैजाने बजेटमा उल्लेख गरिएको छ।
गैरकर राजस्वलाई लागत प्रभावी बनाइने बजेटमा उल्लेख गरिएको छ।