आइतबार, भदौ २३ गते २०८१    
images
images

बैंकिङ समूहतर्फ आकर्षित हुँदै लगानीकर्ता, आगामी साता के होला?

images
शनिबार, जेठ १२ २०८१
images
images
बैंकिङ समूहतर्फ आकर्षित हुँदै लगानीकर्ता, आगामी साता के होला?

वाणिज्य बैंकमध्ये सबैभन्दा महँगो स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर नेटवर्थको २ दशमलव ८६ गुणा अर्थात ५ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- पछिल्ला वर्षहरूमा वाणिज्य बैंकमा भन्दा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूमा लगानीकर्ताको रोजाइ र आकर्षण बढ्दो थियो। पछिल्लो साता भने वाणिज्य बैंकहरूको सेयरमा उभार देखिएको छ। जसका कारण समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको छ।

images
images
images

ठूलो चुक्ता पुँजीका कारण सेयर मूल्य बढ्न कठिन भइरहेका बेला लगानीकर्ताहरू वाणिज्य बैंकहरूतर्फ केन्द्रित देखिएका छन्। पछिल्लो एक महिनामा नेप्से परिसूचक ७.४१ प्रतिशत वृद्धि भएको छ। गत बैशाख ९ गते नेप्से परिसूचक १९८४.४३ बिन्दुमा रहेकोमा जेठ ९ गते बुधबारसम्म २१३१.४९ बिन्दुमा पुगेको छ। 

कारोबारमा आएका १३ समूहगत सूचकमध्ये सबैभन्दा पहिल्लो एक महिनामा सबैभन्दा बढी बैंकिङ समूहको सूचक १५.३३ प्रतिशत वृद्धि भएको छ। बैशाख ९ गते यस समूहको सूचक १०३४.१९ रहेकोमा जेठ ९ गते बढेर ११९२.७३ बिन्दुमा पुगेको छ। 

विगतमा आधारभूत रुपमा कमजोर भएपनि न्यून चुक्ता पुँजी भएका कम्पनीहरू मात्रै पालैपालो बढ्ने गरेको थियो। अहिले उक्त क्रम भत्किएको छ।

images

विश्लेषकहरूले अब वाणिज्य बैंकहरूको सेयर मूल्य बढ्ने अनुमानसमेत गरेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत बैंकहरूले एक वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म बेच्न पाउने प्रावधान ल्याएको थियो। 

यसअघि सो अवधिका लगानीमध्ये प्राथमिक पुँजीको एक प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो। यसले गर्दा बजारमा संस्थागत लगानीकर्ता आकर्षित भएका छन्।

राष्ट्र बैंकको त्यो निर्णय आगामी दिनमा बैंकको नाफा बढ्ने पनि देखिन्छ। राष्ट्र बैंकको उक्त नीतिले सेयर खरिदकर्ता आकर्षित भएका छन्। साथै लामो समयदेखि वाणिज्य बैंकको सेयर मूल्य निरन्तर घटेर निकै तल्लो बिन्दुमा आएकोले भविष्यमा थप फाइदा हुने भन्दै लगानीकर्ता आकर्षित देखिन्छन्। 

राष्ट्र बैंकको पछिल्लो कदमले बैकिङ प्रणालीमा थुप्रिएर रहेको रकम सेयर बजारमा आउने आकलन गरिएको छ। जसको असर स्वरुप मौद्रिक नीतिको समीक्षापछि सेयर कारोबार रकम पनि बढेर ५ अर्ब माथि पुगेको छ।

बुधबार नबिल, एनएमबी र कृषि विकास बैंकको सेयर मूल्य बढेको छ। एनएमबीको मात्रै बुधबार ८.४७ प्रतिशत सेयर मूल्य बढेर २०५ रुपैयाँ पुगेको छ। त्यस्तै कृषि विकास बैंकको ७.०७ प्रतिशत बढेर २८० रुपैयाँ सेयर मूल्य पुगेको छ भने नबिल बैंकको ६.८८ प्रतिशत सेयर मूल्य बढेर ५१४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

दोस्रो बजारमा सूचीकृत भएका १९ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नेटवर्थ भएको कम्पनी नै १३६ रुपैयाँभन्दा बढी छ। वाणिज्य बैंकहरूमध्ये नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बैंकको नेटवर्थ भन्दा पनि तल्लो बिन्दुमा गएर कारोबार भइरहेको छ।

त्यस्तै लक्ष्मी सनराइज बैंकको सेयर मूल्य नेटवर्थकै हाराहारीमा कारोबार भइरहेको छ। लक्ष्मी सनराइजको नेटवर्थ १७१.५९ पैसा छ भने बुधबार यो बैंकको सेयर १७२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

वाणिज्य बैंकमध्ये सबैभन्दा महँगो स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर नेटवर्थको २ दशमलव ८६ गुणा अर्थात ५ सय ९८ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको नेटवर्थ २०८ रुपैयाँ ८५ पैसा रहेको छ। कम्पनीको सेयर मूल्य पछिल्लो समय सबैभन्दा उच्च रहनुमा कम्पनीको न्यून चुक्ता पुँजीलाई पनि लिने गरिएको छ। 

१९ वटा सूचीकृत वाणिज्य बैंकमध्ये २ सय रुपैयाँभन्दा बढी नेटवर्थ भएका ६ वटा वाणिज्य बैंक रहेका छन्। नेपाल बैंकसँगै एभरेष्ट बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एनआईसी एसिया बैंकको नेटवर्थ २ सय रुपैयाँभन्दा माथि रहेको छ।

सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकको नेटवर्थ भने १ सय ५० रुपैयाँ भन्दा माथि नै रहेको छ। त्यसबाहेकका बैंकहरूमध्ये १ सय ५० भन्दा मुनि रहेको छ।

अन्य समूहको कति बढ्यो?

१३ समूहगत सूचकमध्ये दोस्रोमा लघुवित्त समूहको सूचक पनि एक महिनाको अवधिमा लघुवित्त समूहको सूचक पनि १५.३२ प्रतिशत वृद्धि भएको छ। यस समूहको सूचक गत बैशाख ९ गते ३९७५.९५ बिन्दुमा रहेकोमा जेठ ९ गते बढेर ४५८५.३४ बिन्दुमा पुगेको छ। 

समूह बढ्नेको कारण तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार अधिकांश लघुवित्त कम्पनीको नाफामा वृद्धि भएको छ भने निष्क्रिय कर्जामा पनि सुधार भएको छ। सोही कारण लघुवित्त कम्पनीको सेयर लगानीकर्ताको रोजाइमा परेको हो। त्यस्तै वित्त समूहको सूचक ८.७७ प्रतिशत र विकास बैंक समूहको सूचक ६.८१ प्रतिशत वृद्धि भएको छ। 

उत्पादन तथा प्रशोधन समूहको सूचक भने घटेको छ। पछिल्लो एक महिनामा यस समूहको सूचक १.५१ प्रतिशत घटेको छ। गत बैशाख ९ गते यस समूहको सूचक ६५९७.४४ बिन्दुमा रहेकोमा जेठ ९ गते ६४९८ बिन्दुमा कायम भएको हो। 


प्रकाशित : शनिबार, जेठ १२ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend