मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

विकल पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचारको मुद्दा, सरकारी नियुक्ति, विदेशी कम्पनीको एजेन्ट, नेपालदेखि सिंगापुर र अमेरिकासम्म लगानी

बुधबार, जेठ ९ २०८१
विकल पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचारको मुद्दा, सरकारी नियुक्ति, विदेशी कम्पनीको एजेन्ट, नेपालदेखि सिंगापुर र अमेरिकासम्म लगानी

विकल पौडेलले दुईवटा विदेशी कम्पनी र चारवटा स्वदेशी आपूर्तिकर्तासँगको सेटिङबाट करोडौँ रुपैयाँ कमिसन लिएको पाइएको छ।

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ।

अख्तियारले पौडेलले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक हुँदा ६२ करोडको आम्दानीको स्रोत खुलाउन नसकेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यसअघि नै तीनवटा मुद्दा खेपिरहेका पौडेलविरुद्ध अख्तियारले चौथो मुद्दाका रुपमा आज दर्ता गराएको छ। 

विकल पौडेलले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक हुँदाको अवधिमा वैध स्रोतबाट गरेको आम्दानीभन्दा अधिक सम्पत्ति तथा स्रोत पाइएको अख्तियारको अनुसन्धानबाट देखिएको छ।

पौडेलले दुईवटा विदेशी कम्पनी र चारवटा स्वदेशी आपूर्तिकर्तासँगको सेटिङबाट करोडौँ रुपैयाँ कमिसन लिएको पाइएको छ। केन्द्रको उपकरण तथा सेवा खरिदमा हुने टेन्डरमा नेपालका चारवटा आपूर्तिकर्ता डब्लुडीएन, ओम्नी, म्याक्स र नेक्स्टजेन सोलुसन कम्पनीसँग मिलेर टेन्डरको कोटेशन सोही अनुसार बनाएर ठेक्का दिने र त्यसबापतको कमिसन सिंगापुर र अमेरिकामा बुझ्ने गरेको पाइएको छ। यसरी पौडेलले २८ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेका थिए।

त्यस्तै पौडेलले नेपालमा जुन कम्पनीले सामग्री आपूर्ति गर्छन् त्यही कम्पनीको परामर्शदाता र एजेन्ट नियुक्ति लिएर थप आम्दानी गरेको पाइएको छ। नेपालका तीनवटा आपूर्तिकर्तलाई सामान आपूर्ति गर्ने कम्पनीलाई विदेशबाट सामान आपूर्ति गर्ने ब्यानकोटेक र इन्स्टास‍ेफ नामका कम्पनीबाट एजेन्सी लिने त्यही कम्पनीका स्थानीय साझेदारलाई ठेक्का दिएको पाइएको छ। यी कम्पनीबाट उनले ११ लाख डलर भुक्तानी लिएको अख्तियारले प्रमाण फेला पारेको छ।

यसमा पहिलो कुरा त नेपाल सरकारको पदमा भएको मान्छेले विदेशी कम्पनीको परामर्शदाता नियुक्ति लिनु गैरकानूनी हुने र अर्कोतिर सोही कम्पनीलाई ठेक्का दिएर चौतर्फी मिलेमतोबाट आम्दानी गरेको पाइएको छ।

यो बीचमा पौडेलले वैध आम्दानी २ करोडमात्र गरेको तर कुल सम्पत्ति ६४ करोड देखिएको छ। यसरी भएको आम्दानीबाट पौडेल परिवारका सदस्य तथा आफ्नै नाममा नेपाल, सिंगापुर र अमेरिकामा घर जग्गा तथा वित्तीय माध्यममा लगानी गरेका छन्। 


प्रकाशित : बुधबार, जेठ ९ २०८११८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend