काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बंगलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री साबेर हुसेन चौधरीले शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारमा आज भएको उक्त भेटमा उनीहरूबीच विद्युत् व्यापार, जलवायु परिवर्तन एवं द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल-बंगलादेशबीच हुने विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने अवस्थामा रहेको र छिट्टै दुई देशबीच व्यापार सुरु हुने विश्वास व्यक्त गरे।
आगामी दिनमा विद्युत् व्यापार क्षेत्रीय स्तरमै सहजरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै उनले त्यसका लागि आवश्यक नियमन एवं भौतिक संरचना तयार हुँदै गएकामा खुसी व्यक्त गरे।
प्रधानमन्त्री दाहालले नेपाल र बंगलादेश दुवैले जलवायु परिवर्तनको असर व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता साझा मुद्दामा दुवै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
बंगलादेशका मन्त्री चौधरीले नेपाल-बंगलादेशबीच ऊर्जा सहकार्य अगाडि बढेको उल्लेख गर्दै ऊर्जा व्यापारबाट दुवै देश लाभ लिन सक्ने अवस्थामा पुगेका बताए। उनले प्रधानमन्त्री दाहाललाई नेपाल-बंगलादेशबीच हुने ऊर्जा व्यापारका सबै तयारी पूरा भएको जानकारी गराए।
मन्त्री चौधरी नेपालले आयोजना गरेको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा भाग लिन नेपाल आएका हुन्।
उक्त भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटा, प्रधानमन्त्रीका जलवायु तथा वातावरण सल्लाहकार डा पपुलर जेन्टलसहित वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो।