आइतबार, भदौ २३ गते २०८१    
images
images

उद्योगहरूले अर्बौं लगानी गरेपछि सीमित उद्योगका लागि स्टिलको कर नीति उल्ट्याउने तयारी

images
बुधबार, जेठ ९ २०८१
images
images
उद्योगहरूले अर्बौं लगानी गरेपछि सीमित उद्योगका लागि स्टिलको कर नीति उल्ट्याउने तयारी

पछिल्लो समय जनार्दन शर्माको कर नीति सच्याउने नाममा अर्थमन्त्री वर्षमान पुन उद्यत देखिएका छन्। यसका लागि केही उद्योगी व्यवसायीले लविङ पनि तीव्र बनाएका छन्।

images
images

काठमाडौं- दुई वर्षअघिको आर्थिक ऐनबाट सरकारले परिवर्तन गरेको कर नीतिपछि उद्योगहरूले अर्बौं लगानी गरिसकेको अवस्थामा अहिले फेरि उक्त नीति उल्ट्याउने तयारी भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत् स्टिल उद्योगको कर नीतिमा 'रिभर्स' गर्ने तयारी तीव्र बनेको छ। 

images
images
images

आर्थिक वर्ष २०७८/०७९ मा अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्टिल उद्योगको कर नीतिमा व्यापक हेरफेर गरेका थिए।

निकै विवादित र नीतिगत भ्रष्टाचार भएको भन्दै आलोचनाकै बीचमा पछिल्लो दुई वर्षदेखि उक्त नीति निरन्तर रहेको छ। यही नीति आएपछि उद्योगहरूले धमाधम लगानी विस्तार गरेपछि अहिले एउटा उद्योगका लागि फेरि त्यो कर नीति उल्ट्याउने तयारी अघि बढेको छ। 

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले डन्डी उद्योगमा नेपालमै एक तह बढीको प्रशोधन गर्नका लागि भन्दै बिलेटको आयातमा कर बढाएर स्पञ्ज आइरनको आयातमा कर घटाएका थिए। विदेशबाट बिलेट ल्याएर नेपालमा उत्पादन गर्नेहरूका लागि प्रतिमेट्रिक टन १६५० रुपैयाँबाट बढाएर २५०० रुपैयाँ पुर्‍याएर स्पञ्ज आइरनको भन्सार दर पाँचबाट एक प्रतिशतमा झारिएको थियो। 

images

यो कर नीति त्यस्तो समयमा आएको थियो जतिबेला सीमित उद्योगमात्र नेपालमै स्पञ्ज आइरन ल्याएर बिलेट बनाउनसक्ने क्षमतामा थिए। त्यो नीतिले अधिकांश उद्योगलाई हानी हुने अवस्था थियो। तर त्यसपछि कर नीतिमा फेरबदलको सम्भावना नदेखेपछि अधिकांश उद्योगले स्पञ्ज ल्याएर बिलेट बनाउने गरी उद्योगमा लगानी बढाइसकेका छन्। आजका मितिमा ठूलो उद्योगमा पञ्चकन्या स्टिलमात्र बिलेट विदेशबाट ल्याएर डन्डी बनाउँदै आएको छ। 

‘कति यो बीचको शिथिलताका कारणले बन्द भए, तर जति छन् उनीहरूले लगानी गरेर बिलेट बनाउने भइसकेका छन्, एउटा उद्योगका लागि हामीले फेरि कर नीति बदल्ने हो भने लगानीको वातावरण झन बिथोलिन्छ’ एक उद्योगीले भने, ’कि त त्यतिबेलै सच्याउनुपर्ने थियो, अहिले आएर फेरि पछाडि फर्किने हो भने के सन्देश जान्छ?’ 

कर नीतिमा एक तहको नीतिगत स्थिरताको सन्देश सरकारले दिनुपर्ने हुन्छ। एक पटक नीति आएपछि सोहीअनुसारको लगानी भएपछि बीचमै नीति परिवर्तन हुँदा त्यो बीचमा भएको लगानी जोखिममा पर्ने भन्दै उद्योगीहरूले विरोध गरेका छन्। 

तर पछिल्लो समय जनार्दन शर्माको कर नीति सच्याउने नाममा अर्थमन्त्री वर्षमान पुन नै उद्यत देखिएका छन्। यसका लागि केही उद्योगी व्यवसायीले लविङ पनि तीव्र बनाएका छन्। 

मन्त्रीपिच्छेका स्वार्थले लगानीजस्तो विषय जोडिएको कर नीति फेरबदल हुँदा सन्देश राम्रो नजाने भन्दै अर्थ मन्त्रालयका अधिकारीहरूले गत वर्ष प्रकाशशरण महतलाई रोकेका थिए।

यसमा पछिल्ला प्रत्येक वर्ष पञ्चाकन्याका प्रदीप श्रेष्ठ तीव्र लविङमा लागेका छन्। तर उनको साथ छाड्दै धेरै उद्योगले लगानी विस्तार गर्दै बिलेट बनाउनेतिर लागिसकेका छन्। उनै श्रेष्ठ यो वर्ष पनि नीतिगत फेरबदलका लागि सक्रिय भएका छन्। विशेषगरी जनार्दन शर्मा र वर्षमान पुनबीचको खराब सम्बन्धको फाइदा उठाउँदै श्रेष्ठ लगायतका व्यवसायीले फेबदलका लागि लविङ तीव्र बनाएका छन्। 

ऊर्जा खपत, मध्यवर्ती मूल्यअभिवृद्धिका लागि भन्दै नीति ल्याइएपनि त्यसको परिणाम आइसकेको छैन। यद्यपि उद्योगीको अर्बौं लगानी भएपछि फेरि पछाडि फर्किँदा लगानीको सुरक्षा नभएको सन्देश प्रष्ट हुने एकथरी उद्योगीहरूको मत छ। 


प्रकाशित : बुधबार, जेठ ९ २०८१०७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend