शुक्रबार, असार २६ गते २०८३    
शुक्रबार, असार २६ २०८३

वित्तीय संस्थाविरुद्ध लक्षित गरिएका आक्रमण तत्काल रोक्न माग

मंगलबार, जेठ ८ २०८१
वित्तीय संस्थाविरुद्ध लक्षित गरिएका आक्रमण तत्काल रोक्न माग

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूमा भएको आक्रमण तत्काल नियन्त्रण गर्न तीन संस्थाले संयुक्त रुपमा माग गरेका छन्। पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाविरुद्ध लक्षित क्रियाकलाप झन् बढ्दै गएको भन्दै सरोकारवालाहरूको ध्यानकर्षण गराएका हुन्।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै वित्तीय क्षेत्रमा व्याप्त अवाञ्छित गतिविधिहरूलाई तत्काल नियन्त्रण गर्न मागसमेत गरेका छन्।

अत्यावश्यक सेवाअन्तर्गत रहेका बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा प्रदान गर्ने वातावरण बनाइदिन र आवश्यक सुरक्षाको व्यवस्था मिलाइदिनका लागि सरकारसँग माग गरेका छन्। 

विगत केही समययता केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थपूर्ति गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाविरुद्ध अनर्गल प्रचार गर्ने, ती संस्थाका कार्यालय तोडफोड गर्ने, कर्मचारीहरूलाई तर्साउने तथा धम्क्याउने काममा अवरोध पुर्‍याउने जस्ता अराजक क्रियाकलाप गर्दै आएको उनीहरूको भनाइ छ।

पछिल्ला दिनहरूमा यस्ता क्रियाकलाप झन् बढ्दै गएको र विशेष गरी लघुवित्त वित्तीय संस्थाहरूलाई त्यस्ता अराजक व्यक्ति तथा समूहहरूले थप लक्षित गरेको देखिएको छ।

पछिल्लो समययता विभिन्न लघुवित्त संस्थाहरूका केही शाखाहरूमा केही अप्रिय घटनाहरू भएका छन्। कर्मचारीहरूलाई भौतिक आक्रमण गर्ने, तर्साउने, धम्क्याउने, कार्यालय तोडफोड गर्ने लगायतका निन्दनीय कार्यहरू भएकोप्रति गम्भिर ध्यानकर्षण गराएका छन्।

'आफ्ना ग्राहकहरूलाई सेवा दिन अहोरात्र खटिएका कर्मचारीहरू माथि गरिएको यस प्रकारको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। करौडौँ व्यक्तिहरूको श्रम र पसिनाले आर्जित निक्षेपलाई सुरक्षाको जिम्मेवारी लिएर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना निहित स्वार्थपूर्तिका लागि नियोजित रुपमा आक्रमण गर्ने त्यस्ता व्यक्ति तथा समूहहरूको अराजक क्रियाकलापको हामी भर्त्सना गर्दछौँ' संयुत्त विज्ञप्तिमा भनिएको छ।

लघुवित्त क्षेत्रमा व्याप्त अन्यौलको स्थितिलाई समाधानका लागि नेपाल सरकारले कार्यदल गठन गरी कार्य गरिरहेको अवस्थामा समेत भईरहेका यस्ता अवाञ्छित गतिविधिले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट ग्राहकवर्ग वञ्चित हुन पुगेको जनाइएको छ। प्रचलित ऐन, कानूनबमोजिम स्थापित संस्थाहरूले कानूनबमोजिम सहज रुपमा कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुगेकोमा खेद प्रकट गरेका छन्।

त्यस्तैगरी व्यवसायिक सहजीकरणका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा आवश्यक सहयोग र सुरक्षा प्रदान गरिदिनका लागि स्थानीय सरकार तथा सम्बन्धित अन्य निकायहसँग अनुरोध समेत गरेका छन्।

ग्राहक र बैंक तथा वित्तीय संस्थाबीचमा सुमधुर सम्बन्ध कायम गर्न दृढ रही, ग्राहकको हित संरक्षणलाई सदैव मुख्य प्राथमिकतामा राखी यस्ता किसिमका घटनाहरूबाट कत्ति पनि विचलित नभइ आगामी दिनमा निरन्तर रुपमा ग्राहकलाई अझ उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न पूर्णरुपमा प्रतिवद्ध रहेकोसमेत जनाएका छन्।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिइ ऐन, नियम, कानून र नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही पब्लिक लिमिटेड कम्पनीको रुपमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले छरिएर रहेको रकमलाई संकलन गरी देशको विभिन्न ठाउँमा रहेका व्यवसायी, उद्योगी र दुर्गम क्षेत्रमा समेत सरल र सहज तरिकाले वित्तीय सेवा प्रदान गर्दै देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुयाउँदै आइरहेका छन्।


प्रकाशित : मंगलबार, जेठ ८ २०८१०९:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend