आइतबार, भदौ २३ गते २०८१    
images
images
काठमाडौं-तराई द्रुतमार्ग

लेनडाँडापछि नेपाली सेनाले धेद्रेसहितका दुई सुरूङमार्ग दुई महिनाभित्रै ‘ब्रेकथ्रु’ गर्दै

images
मंगलबार, जेठ ८ २०८१
images
images
लेनडाँडापछि नेपाली सेनाले धेद्रेसहितका दुई सुरूङमार्ग दुई महिनाभित्रै ‘ब्रेकथ्रु’ गर्दै

काठमाडौंतर्फ आउने सुरूङ भने छेडिन अझै बाँकी छ। सेनाका अनुसार लेनडाँडाको राइट टनेल १५० मिटर छेडिन बाँकी छ।

images
images

काठमाडौं- केही दिनअगाडि काठमाडौं-तराई द्रुतमार्गअन्तर्गतका तीन सुरुङमध्ये लेनडाँडा सुरुङ छिचोलेको नेपाली सेनाले थप दुई सुरूङमार्ग आगामी असारसम्म 'ब्रेकथ्रु' गर्ने भएको छ। 

images
images
images

द्रुतमार्गमा निर्माण हुने तीन सुरुङमार्ग साढे ३ वर्षमा सम्पन्न गर्ने भनिए पनि बल्ल एउटा मात्रै छिचोलिएको छ।

नेपाली सेनाले निर्माणको जिम्मा पाएको आयोजनाले अहिले पुल र सुरुङ निर्माणलाई तीव्रता दिएको छ। लामो समयसम्म निर्माण कम्पनी छनोटसम्म हुन नसक्दा निर्माणको गति सुस्त भएको थियो।

प्रस्थान बिन्दु खोकना रहेको आयोजनाको अन्तिम बिन्दु निजगढसम्म सडकको चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर हुने छ। ६ स्थानमा हुने सुरुङ मार्गको लम्बाइ नै १०.०५५ किलोमिटर हुने छ।

images

द्रुतमार्गका तीन स्थान महादेवटार, लेनडाँडा र धेद्रेमा सुरूङमार्ग बनाउन २०७८ बैशाख ३१ गते ठेक्का सम्झौता भएको थियो। त्यसको ३ वर्षमा लेनडाँडा सुरूङमार्गमात्र छेडिएको छ। गत साता छिचोलिएको लेनडाँडा सुरूङमार्ग निजगढतर्फ जाने हो।

काठमाडौंतर्फ आउने सुरूङ भने छेडिन अझै बाँकी छ। सेनाका अनुसार लेनडाँडाको राइट टनेल १५० मिटर छेडिन बाँकी छ।

धेद्रेस्थित सुरूङको धेद्रेको ४० मिटर (दायाँ) र धेद्रेकै बायाँ २८० मिटर टनेल खन्न बाँकी रहेको छ।

fast.JPG

तीन सुरूङमार्गमध्ये महादेवटार सुरूङ सबैभन्दा लामो हो। पछिल्लो विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा ६ वटा सुरूङमार्ग बन्नेछन्। 

नेपाली सेनाले उपलब्ध गराएको प्रगति विवरणअनुसार महादेवटारको कुल ३ दशमलव ३३५ किमी सुरूङमध्ये अझै १ दशमलव १९७ किमी सुरूङ खन्नै बाँकी छ।

यस्तै धेद्रे सुरूङ भने अब १२९ मिटर मात्रै खन्न बाँकी रहेको सेनाले जानकारी दिएको छ। यी सुरूङमार्गबाहेक पछिल्लो समय द्रुतमार्गमा थप ३ वटा सुरूङमार्ग थपिएका छन्। ती थपिएका सुरूङमार्ग अहिले डिजाइनको क्रममा रहेको उल्लेख गरिएको छ।

नेपाली सेनाले २०७८ बैशाख ३१ गते २ वटा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पाेरेशन लिमिटेड र पोली च्याङदा इन्जिनियरिङ कर्पाेरेशन लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो। ५० अर्ब १४ करोड रूपैयाँ लगानीमा साढे ३ वर्षभित्र सुरूङमार्गसहितका विशेष पुल निर्माण गर्ने गरी ती कम्पनीले ठेक्का पाएका थिए। 

नेपाली सेनाका अनुसार द्रुतमार्गमा बन्ने सुरूङमार्गसहितका ती पुलको पहिलो प्याकेजको लागत २१ अर्ब ६१ करोड र दोस्रो प्याकेजको लागत २८ अर्ब ५३ करोड रहेको छ। सुरूमा सम्झौता भएअनुसार ४ वर्षमा द्रुतमार्ग बनाइसक्ने गरी सेनालाई सरकारले यो आयोजना सुम्पिएको थियो। तर पटक-पटक म्याद थप गरेर सरकारले आयोजना सम्पन्न गर्ने मिति २०८३ चैतसम्म पुर्‍याइएको छ। 

नेपाली सेनाका अनुसार द्रुतमार्गमा बन्ने विभिन्न ८९ स्थानका पुलमध्ये हालसम्म ८५ स्थानका पुल बनाउन खरिद सम्झौता सम्पन्न भएको छ। यस्तै ५ वटा पुल निर्माण भइसकेका छन्। द्रुतमार्गको सुरूबिन्दु खोकनामा पर्ने प्याकेज नं. ११ अन्तर्गतका ४ वटा पुलको खरिद प्रक्रिया भने बाँकी नै रहेको छ। 

कहाँ कहाँ बन्दैछ सुरुङ र पुल? 

६ स्थानमा गरेर १०.०५५ किलोमिटर लम्बाइ हुने सुरुङमा यतिवेला काम आयोजनाले गरिरहेको छ। जसमा देविचौर सुरुङ १ किलोमिटर, सिसौटार सुरुङ ०.३९ किलोमिटर, चन्द्रम भीर सुरुङ २.२५ किलोमिटर, महादेवडाँडा सुरुङ ३.३५५ किलोमिटर, धेद्रे सुरुङ १.४३०, लेनडाँडा १.४३० किलोमिटरको सुरुङ बन्ने छ। 

द्रुत मार्गमा ठूला र लामो पुल पनि तयार हुँदैछ। ८९ वटा पुलको लम्बाइ १२.८८५ किलोमिटर रहने छ। अहिले पुलको काम समेत आयोजनमा धमाधम भइरहेको छ। लामो समयदेखि सुरुङ र पुलको ठेक्का लगाउन नसकेको सेनाले चालु वर्षदेखि भने धमाधम काम गरिरहेको छ। निर्माण कम्पनीहरूलेले पनि कामलाई तीव्रता दिएका छन्। 

आयोजना निर्माणको लागि अधिग्रहण गर्नुपर्ने जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा मध्ये सरकारी जग्गा १० हजार २ सय ४४ र व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको छ। अधिग्रहणको सूचनामा प्रकाशित व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी मध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइसकेको छ भने ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको रहेको सेनाले जनाएको छ।

हालसम्म कटान गरिएका रुखहरूको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरुवाहरू रोप्नु पर्नेमा हालसम्म जम्मा ५४५ हेक्टरमा ६ लाख ६५ हजार २ सय ८५ विरुवा रोप्ने कार्य सम्पन्न भइसकेको छ।

नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा लिएपछि काठमाडौं-तराई द्रुतमार्ग आयोजनाको लागत १ खर्ब १० अर्ब रुपैयाँबाट १ खर्ब ७५ अर्ब रुपैयाँ पुर्‍याइएको छ। पछिल्लो पटक यो आयोजनाको घोषित लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।


प्रकाशित : मंगलबार, जेठ ८ २०८१०७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend