काठमाडौं- विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा ८ हजार ४ सय ९७ वटा विद्युतीय गाडी नेपाली बजारमा भित्रिएको छ।
बैशाख महिनामा मात्र १ हजार ४ सय वटा विद्युतीय कार भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। सरकारले विद्युतीय सवारीको आयातमा कर सहुलियतन दिएकाले विद्युतीय सवारीको आयात र स्वीकार्यता बढेको हो।
चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्ममा २१ अर्ब ८ करोड ८० लाख ३९ हजार रुपैयाँ बराबरको ८ हजार ४ सय ९७ वटा विद्युतीय कार आएको हो। यो कार आयात गर्दा सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व पाएको छ।
गत वर्ष २ हजार ९ सय ५५ वटा विद्युतीय कार आयात भएको थियो। ८ अर्ब ४१ करोड ६४ लाख १२ हजार रुपैयाँको विद्युतीय कार आयात हुँदा सरकारले २ अर्ब ३० करोड ८८ लाख ५५ हजार रुपैयाँ रावस्व पाएको थियो।
आर्थिक २०७८/७९ वर्षको १० महिनामा १ हजार ५ सय ५१ वटा विद्युतीय कार भित्रिएको थियो। ४ अर्ब ५२ करोड ६८ लाख ३ हजार रुपैयाँ बराबरको १ हजार ५ सय ५१ वटा विद्युतीय कार आएको थियो। यी सवारी भित्रिँदा सरकारले १ अर्ब २२ करोड ४८ करोड ८४ हजार रुपैयाँ राजस्व पाएको थियो।
यो अवधिमा सबैभन्दा धेरै विद्युतीय कार चीन र भारतबाट आयात भएको छ। यसमा पनि ५० देखि १ सय किलोवाट माटर पिकपावर भएका विद्युतीय कार धेरै आयात भएका छन्।