शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालमै हुन्डाईको भेन्यू बनाएको लक्ष्मी मोटर कर्पोरेसनको योजनामा ग्रान्ड आईटेन र क्रेटा

विद्युतीय कार एसेम्बलबाट उत्पादनतर्फको लक्ष्य

images
मंगलबार, जेठ १ २०८१
images
images
नेपालमै हुन्डाईको भेन्यू बनाएको लक्ष्मी मोटर कर्पोरेसनको योजनामा ग्रान्ड आईटेन र क्रेटा

सीकेडीका सबै कम्पोनेन्ट प्लान्टमा आइपुगेपछि एसेम्बल, सबएसेम्बल, उपकरण टेस्टिङ, रोड टेस्टिङ, वाटर सावर टेस्टिङ र फाइनल इन्स्पेक्सनको चरण पार गर्दै गाडी तयार भइरहेका छन्।

images

काठमाडौं- सन् २००९ बाट नेपालमा कोरियाली सवारी उत्पादक हुन्डाई मोटर कर्पोरेसनको आधिकारिक बिक्रेता बनेको लक्ष्मी समूहले त्यसको १५ वर्षपछि नेपालमै हुन्डाईका कार बनाउन थालेको छ। लक्ष्मी समूहअन्तर्गको लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीको रामग्राममा बनाएको एसेम्बल प्लान्ट गत २८ गते प्रधानमन्त्रीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। 

images
images

परीक्षण उत्पादन सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)को एसेम्बल प्लान्टबाट उत्पादन भएको हुन्डाई भेन्यू कार अब केही दिनमै बिक्रीका लागि उपलब्ध हुनेछ। सुरुमा भेन्यू एसेम्बल गरेको एलएमसीले अर्को चरणमा हुन्डाईको ह्याचब्याक कार ग्रान्ड आईटेन र एसयूभी क्रेटा एसेम्बल गर्ने योजना बनाएको छ। 

images

कम्पनीले हाल एसेम्बलबाट सुरु गरेको र तत्कालका लागि पेट्रोलियम कार एसेम्बल गर्ने र दीर्घकालीन रुपमा विद्युतीय सवारीसमेत एसेम्बल गर्ने योजनासहित एसेम्बल फ्यासिलिटी तयार पारेको छ। एसेम्बलसँगै जोडिएर आउने अन्य पेन्टिङलगायत धेरै काम गर्न मिल्ने गरी एलएमसीले अत्याधुनिक पूर्वाधार तयार पारेको छ। 

एसेम्बलका सबै प्रक्रिया र परीक्षण सफल भएर उद्घाटन भइसकेकाले एलएमसीले अबको एक साताभित्रै नेपालमै बनेका भेन्यू बिक्रीका लागि उपलब्ध गराउने जनाएको छ।

images

त्यस्तै एलएमसीले नेपाल एसेम्बल भेन्यूको मूल्य पनि सार्वजनिक गरिसकेको छैन। भेन्यूको औपचारिक बिक्री सुरु गर्दा नै मूल्य सार्वजनिक गरिने लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्ठले बताए। ‘भेन्यूको परीक्षण सफल भएर उद्घाटन भएकाले अबको केही दिनमै मूल्य तय गरेर बिक्रीका लागि सार्वनिक गर्छौँ,’ उनले भने, ‘योसँगै क्रमिक रुपमा अन्य कारहरु पनि एसेम्बल गर्दै जानेगरि दीर्घकालीन योजनाका साथ काम गरिरहेका छौँ।’ 

हाल आईसी इन्जिन कार बनाउन सुरु गरेको र सोही प्लान्टमा विद्युतीय कार बनाउन पनि सकिने गरी संरचना तयार गरिएको छ। हुन्डाईले विद्युतीय गाडी ल्याए पनि तत्कालका लागि ईभी एसेम्बल हुने छैन। नेपालमा एसेम्बल गर्न ठूलो संरचनासहित तयारी गरेकाले आवश्यक पर्दा र बजारको मागअनुसार विद्युतीय कार एसेम्बल गर्न इन्जिनको ठाउँमा ब्याट्री फिट गरेर गर्न सकिने लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले बताए। 

१० बिघामा प्लान्ट, अर्बौँको लगानी 

एलएमसीले नवलपरासीको रामग्राम नगरपालिकामा रहेको १० बिघा क्षेत्रफलमा एसेम्बल प्लान्ट स्थापना गरेको छ। अहिले एसेम्बली प्लान्टमा १४ हजार वर्गमिटरमा निर्माण भएको छ। पहिलो चरणमा यो प्लान्टमा २ सय जनालाई रोजगारी दिइएको छ। 

प्लान्टमा पेन्टिङसहितको काम र दोस्रो चरणमा अन्य कार बनाउन सुरु हुँदा करिब ५ सयलाई रोजगारी दिन सकिने कम्पनीले जनाएको छ। लक्ष्मी मोटर कर्पोरेसनले हाल भारतमा नै कलर भएका गाडीको सीकेडी ल्याएर एसेम्बल सरु गरेको हो। एलएमसीले भारत र कोरियाबाट सीकेडी आयात गरिरहेको छ। 

hyundai ass2.jpg

कम्पनीले आगामी दिनमा नेपालमै पेन्टिङको काम गर्ने योजना बनाएको छ। पेन्टिङको काम गर्दा भ्यालु एड बढ्ने, रोजगारी थलिने छ। विभिन्न तहगत रुपमा गरिनु पर्ने पेन्टिङको कामलाई जटिल नै मानिन्छ। 

एलएमसीले कोरियन प्राविधिक पर्यवेक्षणमा प्लान्ट निर्माण भएकाले सुरक्षा र गुणस्तर सुनिश्चित हुने बताएको छ। प्लान्ट बनाउनेदेखि परीक्षण उत्पादनसम्मका हुन्डाई कोरियाका प्रविधिकहरुले प्रत्यक्ष सुपरिवेक्षण गरिरहेका छन्।

कम्पनीको अनुसार ६५ हजार वर्ग मिटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुन्डाई मोटर एसेम्बलीप्लान्ट जसमा १४ हजार वर्ग मिटरको भव्य निर्माण क्षेत्र रहेको छ। यो नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी गर्ने दृढताको उदाहरण हो। वार्षिक ५ हजार वटा कार उत्पादन क्षमता भएको यस संरचनाले हुन्डाई मोटर कम्पनी (एचएमसी) को सबै मापदण्डहरुको पालना गर्दै नेपालभर हुन्डाई मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य राखेको छ। 

एचएमसीको प्राविधिक पर्यवेक्षणमा एलएमसीले निर्माण गरेको प्लान्टमा उत्पादित हरेक सवारी साधनमा  कार्य सम्पादन, सुरक्षा र विश्वसनीयताका उच्चतम गुणस्तर सुनिश्चित हुने कम्पनीको भनाइ रहेको छ। आयात गरिएका पूर्ण रुपमा विभाजित हुने पाटपुर्जाहरुको सदुपयोग गरी यस आधुनिक संरचनामा त्यसको सतर्कता साथ संयोजन गर्ने प्रणालीले एलएमसीको गुणस्तर प्रतिको प्रतिबद्धतालाई देखाएको छ।

हुन्डाईले एसेम्बल प्लान्ट सुरु गरेसँगै नेपालमा औद्योगीकरणको सुरुवात हुने विश्वास प्रधानमन्त्री दाहालले गरेका छन्। यसको अर्थ सरकार एसेम्बल उद्योगका लागि दिइरकेको सुविधालाई निरन्तरता दिने र बढाउनेतर्फ अग्रसर हुनेछ।  

हुन्डाई मोटर इन्डिया लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत किमले परासीको रामग्राममा रहेको नेपालको नयाँ हुन्डाई मोटर एसेम्बली प्लान्टप्रति उत्साहित रहेको र उन्नत प्रविधि र सीप हस्तान्तरणका लागि उपयुक्त अवसरका रुपमा रहने बताएका थिए।

हुन्डाईले कोरियामा ५० वर्षअघि अहिले नेपालमा भएकै जत्रो तर यस्तो प्रविधि नभएको एसेम्बल प्लान्टबाटै आफ्नो गाडी बनाउने यात्रा सुरु गरेको थियो। अहिले प्रविधिले निक्कै फड्को मारिसकेकाले सरकार दिने सहुलियत कायम रहे वा बढ्दै गए एसेम्बलबाट उत्पादनतर्फ अटोमोबाइल उद्योग अघि बढ्ने छ। 

सरकारले हाल कार एसेम्बल प्लान्ट स्थापना गरेर सीकेडी आयात गर्ने कम्पनीलाई ३० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तःशुल्कमा छुट दिने व्यवस्था गरेको छ। नेपालमै बनेका गाडीको मूल्य घट्छ वा घट्दैन भन्ने विषय आम चासोमा रहेको छ।

एलएमसीले यसअघि नै सरकारबाट पाएको छुट सुविधा उपयोग गरेर केही भ्यालु एडसहित उपभोक्तालाई केही न केही ट्रान्सफर हुने बताउँदै आएको छ। अर्बौँ रुपैयाँ लगानी गरेर गाडी बनाउन सुरु गरेको एलएमसीले आगामी सातासम्ममा नेपालमै बनको भेन्यूको मूल्य सार्वजनिक गर्ने बताएको छ। 

hyundai ass.jpeg

एक घण्टामा तीन गाडी 

लक्ष्मी मोटर कर्पोरेसन भारत र कोरियाबाट सीकेडी ल्याएर एसेम्बल थालेको छ। गाडीको सीकेडीका केही पार्टस भारतबाट आयात हुन्छन् भने केही पार्टस कोरियाबाटै आयात हुन्छन्।  

सीकेडीका सबै कम्पोनेन्ट प्लान्टमा आइपुगेपछि एसेम्बल, सबएसेम्बल, उपकरण टेस्टिङ, रोड टेस्टिङ, वाटर सावर टेस्टिङ र फाइनल इन्स्पेक्सनको चरण पार गर्दै गाडी तयार भइरहेका छन्।

कम्पनीका अनुसार सबएसेम्बल युनिटबाट मुख्य एसेम्बल युनिटमा ११ सय पार्टपुर्जा जडान गरिन्छ। पार्टस जडान, परीक्षणबाट प्रतिघण्टा ३ वटा गाडी उत्पादन गर्न सकिन्छ। अहिले एसेम्बल प्लान्ट एउटा सिफ्टमा मात्रै सञ्चालन भएको छ। यसबाट मात्रै वार्षिक ५ हजार उत्पादन गर्न सकिन्छ। एलएमसीले गाडी तयार भइसकेपछि परीक्षणका लागि करिब डेढ किलोमिटरको ट्रयाकसमेत बनाएको छ। 

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

हाल आयात गरेर बिक्री भइरहेको हुन्डाईको पेट्रोल भर्सनको भेन्यूको बजार मूल्य कम्पनीको वेवसाइटमा राखिएअनुसार २०२४ मोडलको ई १.२ को ४१ लाख ९६ हजार रुपैयाँदेखि ५८ लाख ९६ हजार रुपैयाँ मूल्य कायम रहेको छ। नेपालमा एसेम्बल भएका भेन्यूको मूल्य आयातितको तुलनामा १० प्रतिशतसम्म कम हुने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८१०६:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend