काठमाडौं- जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षेप तथा साधारण निक्षेपको ब्याजदर घटाएका छन्। जेठमा बैंकहरूले १ वर्षभन्दा कम अवधिको साधारण मुद्दती निक्षेपको ब्याजदर ५.५ प्रतिशत देखि ६ प्रतिशतसम्म कायम गरेका छन्।
१ वर्षभन्दा बढी अवधिको मुद्दतीमा ६ देखि ६.७५ प्रतिशत र २ वर्षदेखि ५ वर्ष अवधिको मुद्दती ७ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। साधारण मुद्दती निक्षेपको ब्याजदर घटेसँगै संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटेको छ।
राष्ट्र बैंकले साधारण मुद्दती निक्षेपको ब्याजदर संस्थागत मुद्दती निक्षेपको भन्दा १ प्रतिशतले कम हुनुपर्ने नीतिगत व्यवस्था गरेकाले जेठ महिनामा संस्थागत मुद्दती निक्षेपको ब्याजदर थप घटेको छ।
चालु आर्थिक वर्षको असोजसम्म उच्च विन्दुमा पुगेको ब्याजदर बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भएको भन्दै बैंक वित्तीय संस्थाले घटाइरहेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम भएपनि कर्जाको माग नबढेको भन्दै बैंक वित्तीय संस्थाहरूले मुद्दती तथा साधारण बचतको ब्याजदर घटाएर बैंकहरूले कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन्।
कर्जा लगानी नभएपछि बैंक वित्तीय संस्थाहरूको वासलात नै प्रभावित हुन थालेपछि बैंकहरूले राष्ट्र बैंकले तोकेको एक पटकमा १० प्रतिशत ब्याजदर घटाउन पाउने सिमाको उपयोग गर्दै ब्याजदर घटाइरहेका छन्। विगत दुई वर्षयता बैंकहरूको मुद्दतीमा उच्च ब्याजदर पाइरहेका बचतकर्तालाई भने अब लगानीको विकल्प खोज्नुपर्ने अवस्था आएको छ। १० देखि १२ प्रतिशतको ब्याजदरमा मुद्दतीमा रकम जम्मा गरेर ब्याज खाइरहेका मुद्दतीको ब्याजदर घटेसँगै लगानीका अन्य क्षेत्रको खोजी गरिरहेका छन्।
बैंकहरूको घट्दो ब्याजदरका कारण बचतकर्ताहरू बचत गर्न निरुत्साहित हुने र बढी प्रतिफल हुने क्षेत्रको खोजीमा जाने संभावना बढेको छ। घट्दो ब्याजदर लगानीका लागि उपयुक्त भएपनि बैंक वित्तीय संस्थाहरूका लागि भने लगानीयोग्य रकम दबाब पर्ने जोखिम रहन्छ।
कम ब्याजदरका कारण बचतकर्ताले अन्य क्षेत्रमा लगानी बढाउने भएकाले बैंकिङ प्रणालीमा बचत घट्ने र यसले तरलता कम गराउने अर्थशास्त्रीय मान्यता रहेको छ।
मुद्दती निक्षेपको ब्याजदर घट्दै गएपछि बचतकर्ताहरूले सेयर बजार तथा ऋणपत्रहरूमा लगानी बढाउने अवस्थामा पुगेका छन। बचतकर्ताहरू मुद्दती निक्षेप बारबारको प्रतिफल प्राप्त हुने वास्तविक क्षेत्रमा लगानी बढाउने दबाबमा छन्।
ठूला संस्थागत निक्षेपकर्ताहरूले दीर्घकालमा बढी प्रतिफल प्राप्त हुने कृषि, जलविद्यूत, पूर्वाधार र सूचनाको प्रविधिको क्षेत्रमा लगानी गरेर अगाडि बढ्नका लागि उपयुक्त समय रहेको जानकारहरू बताउँछन्।
बैंकहरूसँग पर्याप्त मात्रामा लगानीयोग्य रकम रहेकाले ऋण पुँजीको उपयोग गरेर थप लगानीका लागि सुविधाजनक समय रहेको राष्ट्र बैंककै अधिकारीहरू बताउँछन्। अर्थतन्त्रमा लगानी बढाउनका लागि सरकारले आगामी वर्षको बजेटमार्फत उपयुक्त नीति लिन आवश्यक छ।
जेठ महिनाका लागि प्रभु बैंकले ३ महिनादेखि ५ महिनासम्मको मुद्दती निक्षेपको ब्याजदर ६ प्रतिशत र १ वर्ष अवधिको मुद्दतीको ब्याजदर ६.५ प्रतिशत कायम गरेको छ। यस बैंकले ५ वर्ष अवधिको साधारण मुद्दती निक्षेपमा ७ प्रतिशत र सो भन्दा बढी अबधिको मुद्दतीमा ७.५ प्रतिशत ब्याज घोषणा गरेको छ।
लक्ष्मी सनराइज बैंकले जेठमा साधारण मुद्दती निक्षेपमा ६.५ प्रतिशत देखि ७ प्रतिशत ब्याज दिने भएको छ। यस बैंकले लामो अवधिका लागि ७ प्रतिशत र छोटो अवधिका लागि ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो।
सनिमा बैंकले १ वर्षसम्मको मुद्दती निक्षेपमा ५.६५ देखि ६.९० प्रतिशतसम्म ब्याज दिने भएको छ। नबिल बैंकले जेठका लागि मुद्दती निक्षेपको ब्याजदर ५.७५ देखि ६.७५ ब्याजदर निर्धारण गरेको छ।
एभरेष्ट बैंकले २ वर्ष अवधिसम्मको मुद्दती निक्षेपमा ६.५ प्रतिशत ब्याजदर दिने भएको छ। सोभन्दा कम समयका लागि यस बैंकले ६ प्रतिशत ब्याजदर तोकेको छ।
सिद्धार्थ बैंकले १ वर्ष अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.२५ प्रतिशत दिने भएको छ। यस बैंकले ३ महिनादेखि ६ महिनाको अवधिको मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र १ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.७५ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याज दिने घोषणा यस बैंकले गरेको छ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ६ महिना अवधिसम्मको मुद्दती निक्षेपमा ५.५ प्रतिशत र १ वर्ष अवधिको मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिने भएको छ। यस्तै २ वर्षसम्मको मुद्दती निक्षेपमा ६.५ प्रतिशत र २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा ७ प्रतिशत ब्याजदर यस बैंकले तोकेको छ।