इटहरी- रानी-विराटनगर-इटहरी-धरान सडक आयोजनाको काम धरानको तीनकुनेमा पुगेर अड्किएको छ। धरान बजारको प्रवेशद्वार मानिएको तीनकुनेसम्म निर्माण सम्पन्न भएको सडकले बजार प्रवेश गर्न पाएको छैन। मुख्य बजारमा धेरै संरचना भत्किने भन्दै सडक विस्तारको काम रोकिएको हो।
स्थानीयको विरोधपछि धरानको फुस्रेसम्म ७ किलोमिटर क्षेत्रमा काम हुन सकेको छैन। सो क्षेत्रमा पर्ने ७ सय परिवारको घरजग्गा १० वर्षदेखि बेचबिखन गर्न नपाउने गरी रोक्का राखिएको छ।
मुख्य बजार क्षेत्र नबिगार्नेगरी बाइपास गर्नुपर्ने स्थानीय बासिन्दाको अडान छ। पूर्वमेयर मनोज मेन्याङ्बो जनताको अर्बौँको सम्पत्ति रोक्का राखेर विकास नहुने बताउँछन्। सडक आयोजनाको नक्साअनुसार ६ लेनको सडक बीच बजारमा बनाउन नहुने भन्दै उनले बजारमा चार लेनसम्म निर्माण गर्दा हुने बताए। स्थानीय जनप्रतिनिधिले समन्वय गरे विकासको काम नरोकिने उनको दाबी छ।
धरानका पुराना व्यापारी पवन अग्रवाल धरान विस्तारै ओझेल पर्दै गरेको बताउँछन्। ‘पहिला धरानको आकर्षण नै बेग्लै थियो। अहिले इटहरी र विराटनगरतर्फ व्यापार व्यवसाय बसाइ सरेको छ। धरान ओझेलमा पर्यो। कोशी राजमार्गलाई बाइपासको रूपमा लैजाने हो भने धरानको आकर्षण झनै कमजोर हुन्छ,’ बिजनेस न्युजसँग कुरा गर्दै उनले भने।
धरान बसोबासको लागि योग्य भए पनि पानी र व्यापारको कारण मानिसहरू बसाइ सर्न थालेका छन्। पुराना लाहुरेहरूले धरानको सम्पत्ति बिक्री गरेर विदेश लैजाने क्रम बढ्दै गएको छ।
धरानको मुख्य बजारको एक किलोमिटर दक्षिणमा रहेको तीनकुनेबाटै मदन भण्डारी राजमार्ग क्रस हुन्छ। धरान बजार प्रवेश नगरी बाइपास हुने चुरे फेदीको सो सडक पानमाराबाट लेउती खोला हुँदै चतरा पुग्छ।
काठमाडौंबाट उदयपुर हुँदै झापा, इलामसम्म जानुपर्ने यात्रुलाई मदन भण्डारी राजमार्ग सहज पर्छ। धरान हुँदै धनकुटा, ताप्लेजुङलगायत पहाडी जिल्ला जानुपर्ने यात्रुले पनि निर्माणाधीन तमोर चतरा कोरिडोर प्रयोग गर्न सक्छन्। जसले गर्दा चतराबाट धरान, भेडेटार हुँदै तमोर (मुलघाट) सम्मको ५० किलोमिटरको नागबेली सडकको यात्रा ३० किलोमिटरमा पुग्न सकिन्छ। यसअघिको केन्द्र मानिएको धरान जस्तै आगामी दिनमा चतरा मुख्य केन्द्रको रूपमा स्थापित हुने सम्भावना भएकाले बराहक्षेत्रका स्थानीय खुसी छन्।
मुलघाटबाट तमोर कोरिडोर हुँदै पाँचथर छोटो दुरीको राजमार्ग अन्तिम चरणमा छ। कोशी राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई पनि चतरा मुलघाट सहज भएको छ। धरानलाई सहयोग पुग्नेगरी आर्थिक वर्ष २०७८/७९ को बजेट नीति तथा कार्यक्रममा धरान-लेउती सुरुङमार्ग निर्माण कार्य सुरु गरिने योजना आयो। तर कार्यान्वयनको लागि कुनै पहल भएन।
धरानको फुस्रेबाट मुलघाटनजिकैको लेउती खोलासम्म सुरुङ खन्न कोशी प्रदेश सरकारले समेत कार्यक्रम ल्यायो तर त्यसको सम्भाव्यता अध्ययनसमेत हुन सकेको छैन।
कसरी कमजोर बन्यो धरान?
पूर्वको सबैभन्दा पुरानो र भव्य सहर धरान कुनै बेला फेसन, खेलकुद, पर्यटन र व्यापारको हबको रूपमा परिचित थियो। सुनसरी जिल्ला कायम हुनुपूर्व नै धरान नगरपालिका घोषणा भइसकेको थियो। धरानमै पर्ने विजयपुर कुनै समय विजयपुरगढीको रूपमा समेत परिचित थियो।
२०१० सालमा ब्रिटिस गोर्खा भर्ती केन्द्र (घोपा क्याम्प) स्थापना भएपछि धरानमा बसोबास तथा चहलपहल बढेको हो। ब्रिटिस आर्मीमा भर्ती हुन पहाडका युवाहरूको आकर्षणले पूर्वी पहाड र तराई जोड्ने सेतुको रूपमा धरान विकसित भयो। सङ्खुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, ताप्लेजुङको लागि प्रमुख व्यापारिक केन्द्र नै बन्यो धरान।
२०१७ सालमा नगरपालिका घोषित भएको धरान कोशी अञ्चलको सदरमुकाम हो। जसको कारण धरान एक भव्य सहरको रूपमा विकसित भयो। अञ्चल सदरमुकाम भएको हिसाबमा क्षेत्रीयस्तरका सरकारी कार्यालयहरू खुले। ब्रिटिस आर्मीहरूको सोच र पैसाले धरान एक चलायमान सहर बन्यो।
पछि पञ्चायतकालमा सूर्यबहादुर थापा शक्तिशाली भएपछि क्षेत्रीय कार्यालयहरू धनकुटा सरे। विस्तारै धरान केही कमजोर हुन थाल्यो। २०४६ सालपछि गोर्खा भर्ती केन्द्र पोखरा सरेपछि आकर्षण कमजोर बन्दै गयो। २०४५ सालको भूकम्पले सबैभन्दा बढी क्षति धरानमै पर्यो त्यही मौका पारेर धरानमा बाँकी रहेका सरकारी कार्यालय विराटनगर सार्ने काम भयो।
२०४६ सालपछि नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइराला हाबी भएपछि धरान ओझेलमा पर्यो। धरानमा बलियो राजनीतिक प्रतिनिधि नभएका कारण गतिहीन बन्दै गएको बताउँछन् स्थानीय होटेल व्यवसायी छत्र लिम्बु।
२०५० सालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि धरानको रौनक बढ्यो। तर प्रतिष्ठान आफै रोगी भएपछि त्यसको असर सिङ्गो धरानलाई परिरहेको छ।
धरानको एकमात्र आकर्षक मानिएको प्रतिष्ठानभित्र मौलाएको भ्रष्टाचार र चरम राजनीतिकरणले निराशा बढाएको व्यवसायी लिम्बु बताउँछन्। खानेपानीको अभावदेखि दुई दशकदेखि सुरु भएको बसपार्क योजना अलपत्र हुनु धरानको दुर्भाग्य भएको उनको भनाइ छ।
२०५७ सालमा दुई दशकभित्रमा शिक्षा, स्वास्थ्य र पर्यटनको पूर्वाधारयुक्त र सांस्कृतिक केन्द्र बनाउने अभियान सुरु भयो। अभियानको सुरुवात सँगै धरानले ओरालो यात्रा तय गर्यो, जुन हालसम्म जारी छ। फलस्वरुप धरानले प्याराग्लाइडिङ, र्याफ्टिङलगायत साहसिक पर्यटकीय गतिविधि बढायो तर टिकाउन सकेन। देशमै चर्चित बुढासुब्बा गोल्डकप अहिले गुमनाम बन्दै गएको छ।
धरानका मेयर हर्क साम्पाङले धरान मृत सहर नबन्ने उद्घोष गरेका थिए। खानेपानी समस्या समाधान हुने, फोहोरमैला व्यवस्थापन हुने भन्दै उनले धरान समृद्ध बन्ने बताएका थिए। तर हालसम्म फोहोर व्यवस्थापन हुन नसक्दा र खानेपानी समस्याको कारण धरान थकित बन्दै गइरहेको छ।
पानीको हाहाकारसँग जुधिरहेका छन् धरानबासी, भन्छन् - यहाँ टिक्ने अवस्था छैन