बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति

चार अर्बको एप्रोन र समानान्तर ट्याक्सी वे निर्माणको टेन्डर रद्द गरिँदै

कम रकम कबुल गर्ने पहिलो र दोस्रो कम्पनी कालो सूचीमा, तेस्रोको पनि डकुमेन्ट पुगेन

बिहीबार , पुस ८ २०७८
चार अर्बको  एप्रोन र समानान्तर ट्याक्सी वे निर्माणको टेन्डर रद्द गरिँदै

२०२० डिसेम्बरमा भएको टेन्डर अहिले सम्झौताको चरणमा पुगिसकेको छ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको विमानस्थल सुधार आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण हुन लागेको एप्रोन र समानान्तर ट्याक्सी वे निर्माणको टेन्डर अन्तिम चरणमा पुगेपछि रद्द गर्ने तयारी गरेको छ।

२०२० डिसेम्बरमा भएको टेन्डर अहिले सम्झौताको चरणमा पुगिसकेको थियो। टेन्डरको काम २०२१ को फेब्रुअरीमा खोलिएको थियो। टेन्डरमा सहभागी कम्पनीको मूल्यांकन सकेर आयोजनाले लगानीकर्ता एसियाली विकास बैंक एडीबीको अनुमतिमा अगस्ट ९ मा प्राविधिक रुपमा ३ वटा कम्पनीलाई सर्ट लिस्ट गरेको थियो।

सर्टलिस्ट भएका कम्पनीहरू बीचको आर्थिक प्रस्ताव आयोजनाले १६ अगस्टमा खोलेको थियो। आर्थिक प्रस्तावमा सबैभन्दा कम रकममा काम गर्ने कबुलसहित अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम गरिरहेको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप / चाइना हावर इन्जिनियरिङ कन्स्ट्रक्सनले आर्थिक प्रस्ताव गरेको थियो। कम्पनीले ४ अर्ब १ करोड रुपैयाँमा काम गर्ने प्रस्ताव गरेको थियो।

साथै सोही कामका लागि दोस्रो कम रकम कबुल गर्नेमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  निर्माणको काम गरिरहेको कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी (सीएएमसीई)  थियो।

यो कम्पनीले ४ अर्ब १० करोड रुपैयाँमा काम गर्ने गरी आर्थिक प्रस्ताव गरेको थियो। कम्पनीलाई पनि लगानीकर्ता एसियाली विकास बैंक एडिबीले कालोसूचीमा राखेको कारण काममा सहभागी हुन नपाउने भएको छ।

एडीबीले पहिलो र दोस्रो नम्बरमा रहेका दुबै कम्पनीलाई काम गर्न नदिनु भन्दै पत्र गरेपछि टेन्डर नै रद्द गर्ने तयारी भएको छ।

दुई वटा कम्पनी अयोग्य भएपछि तेस्रो नम्बरमा रहेको कम्पनीले ठेक्का पाउनु पर्ने भए पनि उक्त कम्पनीको पनि आवश्यक कागजपत्र नपुगेपछि ठेक्का नै रद्द गर्ने तयारी भएको प्राधिकरण स्रोतको भनाइ छ। तेस्रो नम्बरमा चाइना ओभर्सिस इन्जिनियरिङ ग्रुप कम्पनीले ४ अर्ब ५८ करोड रुपैयाँमा काम गर्ने गरी आर्थिक प्रस्ताव गरेको थियो।

आयोजनाका इन्जिनियर दिपेन्द्र श्रेष्ठले अहिले नै ठेक्काको विषयमा कुनै निर्णय नभईसकेका र बाहिर केही सूचना दिन पनि नमिल्ने बताए।

तेस्रो कम्पनीलेको बैंक ग्यारेन्टी नवीकरण नभएको कारण उसले पनि ठेक्का नपाउने भएको छ। यो ठेक्का रद्द भएसँगै उक्त काममा फेरि केही समय ढिला सुस्ती हुने भएको छ। साथै लागत पनि बढ्ने छ।

 


प्रकाशित : बिहीबार , पुस ८ २०७८०१:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend