शनिबार, असोज ५ गते २०८१    
images
images

बेनी-जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ६ २०७८
images
images
बेनी-जोमसोम सडक स्तरोन्नतिको काम ६५ प्रतिशत सम्पन्न

कालीगण्डकी करिडोरका १३ वटा खण्ड अन्तर्गत आयोजनाको कार्य क्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ।

images
images

गलेश्वर- गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ।

images
images
images

बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार जोमसोम-कोरला खण्डको ८५ प्रतिशत र बेनी-जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको हो।

बेनी-जोमसोम-कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठवटा पक्की पुल निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिले जानकारी दिए।

'बेलिब्रिजसमेत आवश्यकता अनुसार हटाएर पक्की पुल बनाइरहेका छौँ, हिउँदमा समेत खहरे उर्लिने भएकाले थप पुल निर्माणका लागि प्रस्ताव गरिएको छ', प्रमुख प्रजापतिले भने। कालीगण्डकी करिडोरका १३ वटा खण्ड अन्तर्गत आयोजनाको कार्य क्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुङ्गादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ।

images

सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा आवश्यक पुल निर्माणधिन अवस्थामा र सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर र पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ। पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभीर र पोखर बगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरेको छ।

उनले मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको बताए। 'कालोपत्र सडकमा मोटरेबल पुलले थप सहज भएको छ, प्राकृतिक विपत्तीले केही ठाउँमा पुल निर्माणमा असर गरेको छ', प्रमुख प्रजापतिले भने। गत वर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ।

बाढीले दुबै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमूना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले जनाएको छ। मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्तावसमेत गरिएको छ।

आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरिद ऐन अनुसार थपिएको समयसीमा आगामी चैत महिनामा सकिँदैछ।

ढिलासुस्ती र विभिन्न बाहाना बनाउने निर्माण व्यवसायीलाई आयोजनाले सम्झौता तोड्ने र बैक ग्यारेन्टीसमेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ। ७ अर्ब २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको १८६ किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म ४ अर्ब ७३ करोड रूपैयाँ खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए।  

उनले निर्माण व्यवसायीलाई प्रगतिको आधारमा भुक्तानीसँगै नियमित निगरानीसमेत भइरहेकाले पछिल्लो समय प्रगति भएको बताए। म्याग्दी खण्डमा डिबिएसडी र मुस्ताङमा आसफाल्ट प्रविधिको कालोपत्र भइरहेको छ।

सडकखण्डको सबैभन्दा जोखिम मानिने म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा १.२ किमी सडक विस्तारका लागि डोजरको सहायताले मात्रै ट्र्याक निर्माण नभएपछि विस्फोटक पदार्थको प्रयोगले भिर फुटाउन ५० टन विष्फोटक पदार्थको प्रयोग गरिने र थप १० टनका लागि आवश्यक प्रक्रियामा रहेको आयोजनाले जनाएको छ।

यता सडकखण्डमा पक्की पुल बनेपछि यात्रामा समेत सहज भएको स्थानीयले बताएका छन्। बाहै्रमहिना चिसो मौसममा दुईपाङ्ग्रे सवारीसाधनमा आवतजावत गर्ने यात्रुलाई पक्की पुलले यात्रामा थप सहज भएको छ।

विगतमा सडकखण्ड अन्तरगत पर्ने खोलामा पुल नहुदाँ असारदेखि असोज महिनासम्म याताायातको साधन आवतजावतमा समस्या हुने गरेको थियो। प्राकृतिक सुन्दरताले भरीपूर्ण मुस्ताङमा पुल र कालोपत्रे सडक समेत थपिएपछि सौन्दर्यतामा थप चमक आएको छ। रासस 


प्रकाशित : मंगलबार, पुस ६ २०७८०७:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend