शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

प्रधानमन्त्री दाहालले गरे हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट उद्‍घाटन

प्रधानमन्त्री भन्छन् - लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ

images
शुक्रबार, वैशाख २८ २०८१
images
images
प्रधानमन्त्री दाहालले गरे हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट उद्‍घाटन

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए।

images
images

नवलपरासी- लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' को शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्‍घाटन गरेका छन्। 

images
images
images

उद्‍घाटन भएसँगै अब नेपालमै एसेम्बल भएको हुन्डाई ब्रान्डका भेन्यू बिक्रीका लागि उपलब्ध हुनेछ। 

images

हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूहअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो। लक्ष्मी मोटर कर्पोरेसन पनि यही समूहअन्तर्गतकै कम्पनी हो। कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरेर हुन्डाई भेन्यूको परीक्षण उत्पादन सकिसकेको छ। 

images

लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाईका कार एसेम्बल गर्न नवलपरासीमा प्लान्ट स्थापना गरेको छ। उक्त प्लान्टमा एसेम्ब्ली लाइनदेखि बनेका कार परीक्षण गर्ने उपकरणसमेत जडान गरिएको छ।

लक्ष्मी समूहले २०७६ मा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरेको थियो। नवलपरासीमा एसेम्बल उद्योग रहने गरी लक्ष्मी मोटर कर्पोरेसनले वार्षिक ८ हजार चारपांग्रे गाडी उत्पादन गर्ने लक्ष्य राखेको थियो।

लक्ष्मी समूहसँगै अन्य सवारी बिक्रेता व्यवसायिक घरानाले पनि एसेम्बल उद्योग दर्ता गरेर बसेका छन् तर एसेम्बल गर्ने प्रक्रिया भने सुरु गरेका छैनन्।  

६ महिनाअघि सुरुमा लक्ष्मी मोटर कर्पोरेसन दुईवटा भेन्यूका सीकेडी परीक्षण उत्पादनका लागि ल्याएको थियो। त्यसपछि ४ महिनाअघि कम्पनीले एकैपटकमा भेन्यू एसेम्बल गर्न एक सयभन्दा बढी सीकेडी किट आयात गरेको थियो। हुन्डाई मोटर कर्पोरेसनले २०२३ डिसेम्बर अन्तिम साता कोरिया तथा भारतबाट सीकेडी आयात गरेको थियो। त्यसयता ठूलै संख्यामा भेन्यूको सीकेडी आयात भइसकेको छ। 

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलियत दिँदै आएको छ। एसेम्बलका लागि ल्याइने मोटरसाइकलका पार्टपूर्जा (सीकेडी वा डीकेडी) आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत र आयकरलगायत अन्य सुविधाहरू सरकारले उपलब्ध गराएको छ।

त्यस्तैगरी कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। कार एसेम्बल गर्दा ल्याइने सीकेडी आयात गर्दा भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत, आयकरलगायत छुट सुविधा दिएको छ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुट सुविधा दिएपछि लक्ष्मी समूहले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात गरेको हो। 

लक्ष्मी मोटर कर्पाेरेसनले ९ सय ९८ सीसीको भेन्यू एस(ओ), ११ सय ९७ सीसीको भेन्यू एस १.२ एमटी र ११ सय ९७ सीसी भेन्यू एसएक्स १.२ एमटी मोडलका सीकेडी आयात गरेर एसेम्बल थालेको हो। एसेम्बल भएर बिक्रीमा आउने भेन्यू पेट्रोल इन्जिनयुक्त हुन्।  

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल 

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्योगी-व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

'निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,' प्रधानमन्त्री प्रचण्डले भने, 'देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ।'

यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ।

'हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,' प्रधानमन्त्री प्रचण्डले भने, 'ती नीति-नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ।' उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे।

'भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ। लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ,' प्रधानमन्त्री प्रचण्डले भने, 'यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।'

उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने संकेत गरेको बताए। 

लक्ष्मी समूहले सुरु गर्‍यो हुन्डाईका कार बनाउन, कति घट्छ नेपालमै एसेम्बल भएको कारको मूल्य? लक्ष्मी समूहले सुरु गर्‍यो हुन्डाईका कार बनाउन, कति घट्छ नेपालमै एसेम्बल भएको कारको मूल्य?


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend