सोमबार, जेठ ७ गते २०८१    
images
images

होटल व्यवसाय छाडेर एक दशकदेखि गाईपालनमा पूर्वसुरक्षाकर्मी, वार्षिक २० लाखसम्म गर्छन् आम्दानी

images
बिहीबार , वैशाख २७ २०८१
images
images
होटल व्यवसाय छाडेर एक दशकदेखि गाईपालनमा पूर्वसुरक्षाकर्मी, वार्षिक २० लाखसम्म गर्छन् आम्दानी

व्यावसायिकरुपमा उन्नत जातका गाईपालन गरेर आत्मनिर्भर बनेका छन् भने उनी आर्थिकरुपमा पनि सक्षम बन्दै गएका छन्।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका -६ गोलौराका ४७ वर्षीय चन्द्रबहादुर डाँगीले व्यावसायिकरुपमा उन्नत जातका गाईपालन गरेका छन्। उनी एक सफल गाईपालकका रुपमा चिनिएका छन्।

images
images
images

व्यावसायिकरुपमा उन्नत जातका गाईपालन गरेर आत्मनिर्भर बनेका छन् भने उनी आर्थिकरुपमा पनि सक्षम बन्दै गएका छन्।

images

विगत नौ वर्षदेखि सो पेसा अँगालेका डाँगीलाई अहिले घरपरिवारका तीन जना सदस्यले पनि दिनभर सहयोग गरिरहेका छन्। डाँगी आजभोलि गाईका बाच्छाबाच्छीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिन्छन्। उनी भन्छन्, 'सबै खर्च कटाएर वार्षिकरुपमा ६ लाख रूपैयाँ बचत गर्न सफल भएको छु।'

images
images

नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत रहेका डाँगी विसं २०५५ मा जाजरकोटको रक्दा इलाका प्रहरी कार्यालयमा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए। त्यस समयमा उनी तत्कालीन द्वन्द्वको समयमा नेकपा (माओवादी) ले रक्दामा थापेको एम्बुसमा परी घाइते भएका थिए। घाइते भएपछि लामो समयको उपचारपछि बाँचेको बताउने डाँगीले तत्कालीन सरकारले द्वन्द्वमा परी अशक्त, घाइते भएका सुरक्षाकर्मीलाई सेवाबाट अवकाश दिने नीति ल्याएपछि आफू विसं २०५९ मा सेवानिवृत्त भएको बताए।

images
images

सोलगत्तै उनी रोल्पास्थित आफ्नो घरमा केही समयसम्म उपचार तथा आराम गरी बसेको र त्यसपछि बसाइँ सरेर दाङको तुलसीपुरमा आएका हुन्। डाँगीले आफ्नो स्वास्थ्यमा सुधार आएपछि तुलसीपुरमा होटल सञ्चालन पनि गरे। घाटा भएपछि होटल व्यवसाय छोडी एक सहकारी संस्थामा जागिर खान सुरु गरे।

सोही सहकारीमा बचत तथा ऋण प्रवाहमा काम गर्दा कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको जानकारी प्राप्त भएपछि आफूले विसं २०७२ देखि सहारा पशुपालन फर्म खोलेर उन्नत जातको गाईपालन सुरुवात गरेको उनले बताए।

सुरुका वर्षमा स्थानीय व्यक्तिको दुई बिघा जमिन वार्षिक १२ हजार रूपैयाँ भाडामा लिइ एक लाख रूपैयाँ लगानी गरेर एउटा जर्सी गाईपालन गरेर सुरुवात गरेको बताउने डाँगीकहाँ अहिले चार वटा जर्सी, १० वटा होलेस्टन, एउटा शाहीवाल जातका गरी जम्मा १७ वटा गाई र १० वटा बाच्छाबाच्छी गरी जम्मामा ३७ वटा रहेका छन्।

एउटा जर्सी गाईको मूल्य एक लाख, होलेस्टन जातको गाईको मूल्य दुई लाख र साहीवाल जातको गाईको मुल्य  एक लाख ५० हजार रूपैयाँ पर्ने डाँगी बताउँछन्। अहिले उनले दैनिक एकसयदेखि  एक सय ५० लिटरसम्म  दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छन्। केही दूध आफ्नै फर्मबाट स्थानीवासीले खरिद गरी लिने गरेको उनले बताए। दाङमा दूधको मूल्य खुद्रामा एक सय रूपैयाँ प्रतिलिटर र दहीको १ सय १० रूपैयाँ रहेको छ।

फर्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका वडा १ंं० निवासी ४५ वर्षीया सुनी चौधरी आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकोले किन्न आएको बताउँछिन्। उनले भनिन्, 'यसअघि एक लिटर दूध किन्न तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुसी लागेको छ।'

डाँगीको फर्ममा अहिलेसम्म २५ लाख रूपैयाँसम्म लगानी भइसकेको छ। दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक १९ देखि २० लाख रूपैयाँसम्म आम्दानी हुने गरेको र सबै खर्च कटाएर आठ लाख रूपैयाँ बचत हुने गरेको डाँगीले बताए।

आफूले दुई बिघा जमिन  गाइपालनको लागि भाडामा लिए पनि सिँचाइ अभावका कारण घाँसखेती गर्न नसक्दा समस्या हुने गरेको छ। घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरणलगायत अन्य सामग्री खरिद गर्दा लागत खर्च बढेको पनि डाँगीले बताए।

'अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन', डाँगीले थपे, 'चार वर्षअघि तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट गाईपालक किसान भनेर पुरस्कृत गर्‍यो, त्यसबाट थप हौसला मिलेको छ।' त्यस्तै कोरोनाका कारण गरिएको बन्दाबन्दीको समयमा आफूले उत्पादन गरेको दूध बजारमा बिक्री नहुँदा केही समस्या भए पनि अहिले भने बजारको कुनै समस्या नभएको डाँगीले बताए।

छोटो समयमा कम लगानी गरेर मनग्य आम्दानी गर्न सकिने भएकाले फर्ममा विभिन्न ठाउँबाट गाई हेर्न, जानकारी लिन तथा गाई खरिदका लागि मानिस आउने गरेको उनले सुनाए।  पढेलेखेकाहरु पैसा कमाउनकै लागि जागिर खानैपर्छ भन्ने सोच राख्नु गल्ती हुने भनाइ राख्ने डाँगीले साँच्चिकै पढेको कुरा व्यवहारमा लागु गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्ने उनको भनाइ छ।

तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभइ व्यावहारिकरुपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन, उत्पादित सामग्रीलाई उचित बजार व्यवस्थापनमा सहयोग गर्न उनले सुझाव दिएका छन्। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१०४:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend