नवलपरासी- लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा ४०० केभी नयाँ बुटवल सबस्टेसनको निर्माण प्रक्रिया अघि बढेको छ। एमसीए-नेपालले लिंकसन इण्डिया प्रालिसँग ३९ महिनाभित्र सक्नेगरी बिहीबार निर्माण सम्झौता गरेको छ।
सम्झौता कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको बताए। उनले भने, 'यो ४०० केभी सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना हो र यसले यस क्षेत्रमा सीमापार ऊर्जा व्यापार उल्लेख्य रूपमा उकास्नका लागि विद्यमान २२० केभी सबस्टेसन लाई सघाउनेछ।'
अमेरिकी राजदूत महामहिम डीन आर थम्पसनले नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेसन ले सुधार ल्याउने बताए। उनले भने, 'नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको सुनिश्चित गर्ने सन्दर्भमा अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ। घरेलु उपभोग, विस्तारित व्यापारिक एवं औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेसन ले सुधार ल्याउनेछ।'
यस्तै एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिमाथि प्रकाश पार्दै भने, 'एमसीए-नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेसनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ। बाँकी दुई वटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नका लागि हामी खरिद प्रक्रियाको अन्तिम चरणमा छौँ।'
एमसीए-नेपालले नेपाल सरकारको लगानी तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबाट आर्थिक अनुदान प्राप्त विद्युत् प्रसारण आयोजनाअन्तर्गत यस सबस्टेसनका अतिरिक्त नुवाकोट जिल्लाको रातमाटेमा र तनहुँ जिल्लाको दमौलीमा पनि एक-एक वटा सबस्टेसन निर्माण गर्दैछ। ती सबस्टेसनका लागि निर्माण कम्पनीको छनोट हुँदैछ।
एमसीए-नेपालको सञ्चालक समितिको २०८० साल फागुनमा बसेको बैठकले भारतसँगको सम्झौतामा उल्लेख गरिए अनुरूप सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउनका लागि सहजीकरण गर्न नयाँ बुटवल-गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमी अंशको निर्माणलाई अगाडि बढाउने निर्णय गरेको थियो।