सोमबार, जेठ ७ गते २०८१    
images
images

बागलुङमा उद्योगग्राममार्फत प्रांगारिक मल उत्पादन

images
बिहीबार , वैशाख २७ २०८१
images
images
बागलुङमा उद्योगग्राममार्फत प्रांगारिक मल उत्पादन

संघीय सरकारको तीन करोड रूपैयाँ लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइसकिएकाले बनेका संरचनामा प्रांगारिक मल उद्योग सञ्चालन गर्न थालिएको वडाध्यक्षको भनाइ छ।

images
images

बागलुङ- जिल्लाका १० पालिकामध्ये उद्योगग्राम स्थापनामा काठेखोला अघि छ। ‘एक पालिका एक उद्योगग्राम’ सञ्चालन गर्ने सरकारको योजना रहे पनि बागलुङका केही पालिकाले जग्गासमेत व्यवस्थापन गर्न सकेका छैनन्।

images
images
images

काठेखोला गाउँपालिकाले उद्योगग्राम सञ्चालन गरी सोहीमार्फत पहिलोपटक प्रांगारिक मल उत्पादन गर्न थालेको छ। बागलुङको काठेखोला-७ रेशमा रहेको औद्योगिकग्राममा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पहिलोपटक प्रांगारिक मल बनाउन थालिएको काठेखोला-७ का वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।

images

'प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक दर्जन युवाले जंगलमा खेर गइरहेको पात, पतिंगर र झाडी संकलन गरी प्रांगारिक मल बनाउन थालिएको छ। पहिलो चरणमा दुई हजार पाँच सय केजी मल बनाउन थालेका छौँ। उक्त मललाई रेशको चिया बगानमा प्रयोग गरिने र चियाको उत्पादन बढाउने योजना छ', वडाध्यक्ष लामिछानेले भने।

images
images

जंगलको झाडी र पतिंगर संकलन गरेर औद्योगिक ग्राममा जम्मा गरी कृषि प्राविधिकको सल्लाहमा प्रांगारिक मल बनाउन प्लाष्टिकका ठूला थैलोमा प्याकिङ गरिसकिएको उनले बताए। उनका अनुसार आगमी दुईदेखि तीन महिनाभित्र प्रांगारिक मल तयार भइसक्नेछ।

images
images

प्रांगारिक मल उत्पादनमा रेश वडा कार्यालयले प्राविधिक सहयोग गरेको छ भने जनशक्ति प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत परिचालन गरिएको हो। आद्यौगिकग्राममा पहिलो उद्योगका रूपमा प्रांगारिक मल उद्योग खोल्ने तयारीअनुसार परीक्षणका लागि मल उत्पादन गर्न सुरु गरिएको जनाइएको छ।

उद्योगग्राममा आवश्यक टहरा निर्माण, सडक पुर्‍याउने, विद्युतीकरण गर्नेलगायत काम गत वर्ष नै सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँमा खेर गइरहेको पतिंगरलाई मल बनाउन सकिने भएपछि आयातित मलको प्रयोग घटाउने र स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले प्रांगारिक मल उत्पादन गरी अग्र्यानिक कृषि उपज बढाउने योजना बनाइएको वडा कार्यालयले जनाएको छ।

दुई वर्षदेखि काठेखोला-७ स्थित रेशमा औद्योगिक ग्राम निर्माण थालेको गाउँपालिकाले हालसम्म दुई टहरा निर्माण सम्पन्न भइसकेको जनाएको छ। आवश्यक उपकरण सञ्चालनका लागि विद्युतीकरण गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिए। संघीय सरकारको तीन करोड रूपैयाँ लागतमा निर्माण हुन लागेको औद्योगिक ग्रामसम्म सडक र विद्युत् पुर्‍याइसकिएकाले बनेका संरचनामा प्रांगारिक मल उद्योग सञ्चालन गर्न थालिएको उनको भनाइ छ। 

काठेखोला गाउँपालिकाले उद्योग ग्रामका लागि ५० करोड रूपैयाँको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएको छ। अहिले निर्माण भइरहेको संरचनामा सञ्चालन गर्न सकिने स-साना उद्योगहरूको योजना पालिकासँग रहेको बताउँदै वडाध्यक्ष लामिछानेले पालिकाको औद्यिगिकग्राम भए पनि वडास्तरीय स-साना उद्योग स्थापना गर्न थालिएको जानकारी दिए। उनले प्रांगारिक मल बनाउन थालेको औद्योगिकग्राममा चिया प्रशोधनसमेत गरिने बताए।

वडाध्यक्ष लामिछानेका अनुसार अहिले रेशमा ३० हजार चियाका बिरुवा उत्पादनका लागि हुर्किरहेका छन् भने पाँच हजार चियाका बिरुवाले उत्पादन दिन थालिसकेका छन्। जंगल सफाइ हुने र जंगलको झाडीले मलसमेत बन्ने भएपछि यहाँका किसानलाई उत्पादनसँग जोड्न थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रांगारिक मल बनाउन खटिएका स्थानीय भूमिश्वर थापाले बताए। उनले अस्थायी रूपमा रोजगारी पाएको भन्दै काम सिकेपछि विस्तारै दीर्घकालीन उपलब्धि हासिल गर्न सकिने बताए। युवालाई गाउँमै रोजगारी दिनका लागि औद्योगिकग्रामले ठूलो सहयोग मिल्ने उनको भनाइ छ।

तीन करोड बजेटमध्ये हालसम्म दुई करोड रूपैयाँ कार्यान्वयनमा गइसकेको गाउँपालिका कार्यालयले जनाएको छ।

औद्योगिकग्राम निर्माणपश्चात यहाँ साना, मझौला र ठूला सबै उद्योग सञ्चालन हुने जनाउँदै उद्योग गर्न चाहने स्थानीयलाई समेत पालिकाले प्रोत्साहन गर्नेछ। पहिलोपटक उद्योगग्राममा उत्पादन हुने दुई हजार पाँच सय केजी प्रांगारिक मल रेशका वडावासी किसानलाई सुपथ मूल्यमा प्रदान गरिने छ। रासस


प्रकाशित : बिहीबार , वैशाख २७ २०८१०२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend