बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

होटल रेष्टुरेन्टको सफलतापछि क्याफे विस्तारमा सिद्धार्थ ग्रुप, आफ्नै फार्मको कफी 

बिहीबार , पुस ८ २०७८
होटल रेष्टुरेन्टको सफलतापछि क्याफे विस्तारमा सिद्धार्थ ग्रुप, आफ्नै फार्मको कफी 

“एस क्याफे”को विस्तार तीब्रमात्र नभएर यसको इन्टेरियर  र डिजाइन पनि परिवर्तन हुने छ। यसको रिडिजाइनको काम अहिले चलिरहेको र छिटै नयाँ स्वरुपमा एस क्याफे सञ्चालनमा आउनेछ। 

काठमाडौं- एक दशकमै नेपालमा होटल रेष्टुरेन्टको साम्राज्य खडा गरेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले पाँच तारेसम्मको यात्रा तय गरिसकेको छ। एकपछि अर्को स्तरमा लगानी विस्तार गर्दै आएको यो समूहले  अहिले भैरहवामा  पाँचतारे होटल निर्माण गरिरहेको छ। 

खाजा पसल, रेष्टुरेन्ट, गेस्ट हाउस, स्तरीय होटल चारतारे हुँदै पाँचतारे होटलसम्म आइपुगेको सिद्धार्थका लागि होटल इकोसिस्टममा एउटा ट्रेन्डिङ सेवा भने अपुग थियो। पछिल्लो समय सहर बजारमा ट्रेन्डिङ बन्दै गएको क्याफेको व्यापारमा भने सिद्धार्थ खासै आक्रामक थिएन। 

नेपालमा पनि कफी पारखीहरू बढ्दै गएर पछिल्लो समय सहरी क्षेत्रमा क्याफे कल्चर ट्रेन्डिङ बनेको छ। यही अनुपस्थिति महुसुस गरेर सिद्धार्थले  २०७४ सालदेखि क्याफे पनि सुरु गरेको थियो। 

नेपालगञ्जमा चारतारे, सुर्खेतमा चारतारे स्तरोन्नति भइरहेको छ। पूर्वदेखि पश्चिमसम्म मुख्य सहरमा होटल सञ्चालन गरिरहेको सिद्धार्थसँग रेष्टुरेन्ट छन्। महेन्द्रनगर, टिकापुर, कर्णाली चिसापानी, नेपालगञ्जमा होटल र रेष्टुरेन्ट, सुर्खेत,बुटवल,चुम्लिङटार,काठमाडौं, बिर्तामोड लगायतका ठाउँमा होटल तथा रेष्टुरेन्ट सञ्चालित छन्। 

सुरुमा राजमार्गलाई केन्द्रबिन्दु बनाएर होटल तथा रेष्टुरेन्ट निर्माण तथा सञ्चालन गरिरहेको सिद्धार्थले अब भने सहर बजारको नयाँ पुस्तालाई केन्द्रमा राखेर क्याफेमा लगानी विस्तारलाई तीव्रता दिने भएको छ। 

कोरोना महामारीका कारणले विस्तारमा केही ब्रेक लागेपनि अब भने विस्तारको कामले तीव्रता पाउने सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए। 

‘हामीसँग होटल थियो।  विभिन्न स्तरका होटल तथा रिसोर्ट थिए। रेष्टुरेन्ट पनि थिए। तर एउटा ट्रेन्डिङ हुँदै गरेको क्याफे कल्चरमा हाम्रो भेन्चर छुटिरहेको थियो। त्यही महसुस गरेर हामीले क्याफेमा पनि अघि बढ्ने योजना बनाएका थियौँ’ न्यौपानेले भने। 

होटल उद्योगमा सबै प्रकारका ग्राहकलाई  आफ्नै ब्रान्ड र व्यवस्थापनसँग जोड्ने रणनीति अन्तर्गत सिद्धार्थले पछिल्लो समय क्याफेमा लगानी बढाएको हो। नेपालगञ्ज र कोहलपुरमा दुई र काठमाडौंमा एउटा क्याफे सञ्चालनमा छन्। अबको एक महिनाभित्रै थप क्याफे सञ्चालनमा आउने न्यौपानेले जानकारी दिए। 

“एस क्याफे” को नामबाट सञ्चालन हुने यसका आउटलेटहरू प्रत्येक होटलमा खोल्ने तयारी भइरहेको उनले जानकारी दिए। अरु व्यवसायीले फ्रेन्चाइजीको माग गरेपनि अहिलेसम्म त्यस्तो कुनै पनि नीति नरहेको उनले प्रष्ट पारे। 

यसअघि नै काठमाडौंमा खुलेका दुई आउटलेट कोरोना कालमा बन्द भएपनि अब भने थप शाखा खोल्दै जाने उनले बताए। 

“एस क्याफे”को विस्तार तीब्रमात्र नभएर यसको इन्टेरियर  र डिजाइन पनि परिवर्तन हुने छ। यसको रिडिजाइनको काम अहिले चलिरहेको र छिटै नयाँ स्वरुपमा एस क्याफे सञ्चालनमा आउनेछ। 

आफ्नै कफी फार्म 

सिद्धार्थको “एस क्याफे”को एउटा विशेषता हुने छ। त्यो हो सिद्धार्थ कफी। यो समूहले आफ्नै फार्ममा उत्पादन गरिएको कफीलाई सिद्धार्थ कफीको नामबाट ब्रान्डिङ गरेको छ। यही कफी “एस क्याफे”मा उपलब्ध हुने छ। 
आफ्नै पुर्ख्यौली घर गुल्मीमा सिद्धार्थ बायोटेकले कफी फार्म सञ्चालन गरिरहेको छ। गुल्मीको छत्रकोट-१ मा सिद्धार्थले १५० रोपनी क्षेत्रफलमा कफी फार्म सञ्चालन गरिरहेको छ। 

अर्ग्यानिक उत्पादनका लागि कुनै पनि रसायनलाई सम्पर्कमा जान नदिएर फार्म सञ्चालन गरिएको न्यौपानेले जानकारी दिए। 

Tq6vP-coffee.jpg
सिद्धार्थ बायोटिकाको फार्म

सिद्धार्थले क्याफेमा कफीको छुट्टै स्वाद दिनका लागि आफ्नो विशिष्ट उत्पादनमात्र उपलब्ध गराउने नीति लिएको छ। कफी फार्म सञ्चालनका लागि गाइ पालनसमेत गरिएको छ। ‘कफीलाई आवश्यक मलका लागि गाइ पालन पनि सँगै गरेका छौं। यसबाट बहुउद्देश्यीय व्यवसाय पनि भएको छ’ उनले भने। 

एस क्याफेले नेपालीहरुलाई शुद्ध नेपाली स्वादको कफी दिनका लागि आफ्नै उत्पादन थालिएको र यो वर्षसम्म पुग्दा आफ्नै उत्पादन पर्याप्त भएको उनले जानकारी दिए। प्रत्येक वर्ष १५ सयदेखि २ हजारसम्म कफीका बुटा थप गर्दै आएको सिद्धार्थले एस क्याफे जति विस्तार हुन्छ सोही अनुपातमा उत्पादन बढाउँदै जाने छ। 

‘नेपालमा अरेबिका जातको कफी उत्पादन हुन्छ। यो गुणस्तरीय राम्रो मानिन्छ। र यो महंगो पनि हुन्छ। तर नेपालमै यो कफी धेरै पाइदैन। नेपालका क्याफेहरुले विदेशबाट न्यून अल्टिच्युडमा उत्पादन भएको कफी ल्याउँछन् यहाँको गुणस्तरीय कफी विदेश निर्यात गर्छन्’ न्यौपानेले भने ‘हामी नेपालीलाई नेपालकै कफीको सुद्ध स्वाद दिन चाहन्छौं।’ 

उच्च हिमाली क्षेत्रमा उत्पादन हुने नेपाली अरेबिका कफी तुलनात्मक रुपमा कडा नभएपनि स्वास्थ्यका फाइदाजनक भएको उनको दाबी छ। 

सिद्धार्थको क्याफे अवधारणाले दुई फाइदा गर्ने उनको दाबी छ। पहिलो हो नेपाली कफीको स्वाद नेपालकै ग्राहकले लिन पाउनेछन्। दोस्रो भनेको विदेशीहरुले नेपालको युनिक कफीको स्वाद पाउनेछन्। 

‘यसबाट अरु पनि फाइदा छन्। जस्तो अहिले विदेशबाट कफी आइरहेको छ। त्यसलाई हामीले यहीको उत्पादन प्रयोग गर्न थाल्यौं भने केही भएपनि आयात घट्छ’ उनले भने ‘ अर्को कुरा विदेशीहरुमाझ नेपाली कफीको ब्रान्डिङ पनि हुन्छ।’ 

जसरी होटल रिसोर्टमा आफ्नै इकोसिस्टम बनाएको छ सिद्धार्थले त्यसैगरी क्याफेमा पनि गरिरहेको छ। 

कर्मचारीलाई सेयर 

सिद्धार्थले क्याफेलाई आफ्नै नाफाको विस्तारको रुपमा मात्र लिएको छैन। समूहमा कार्यरत कर्माचारीहरुलाई पनि हिस्सेदार बनाउनेगरी क्याफेको अवधारणा अघि बढेको छ। 

समूह अन्तर्गतका अन्य होटल रिसोर्टमा पनि कार्यरत कर्मचारीहरुलाई सेयरहोल्डर हुने अवसर दिएको कम्पनीले क्याफेलाई पनि सोही मोडलमा अघि बढाएको छ। 

zxcSW-05lotplq.jpg

अहिलेसम्म क्याफेमा ७० जनाभन्दा बढी कर्मचारी सेयरसदस्य भइसकेका छन्। 

‘कर्मचारी तलबको भरमा मात्र पर्न भएन। उनीहरुलाई स्वामित्वको अवसर दिएमा एकातिर आम्दानी बढ्छ अर्कोतिर आम्दानी पनि बढ्छ’ न्यौपानेले भने,‘तर हामीले उनीहरुलाई जोखिमको भागिदार भने बनाउँदैनन्। सुरुमा जोखिम कम्पनीले लिन्छ।’ 

नाफा आर्जन गरेर केन्द्रिकृत रुपमा निश्चित समूहलेमात्र लाभ लिने नभइ कम्तिमा काम गर्ने कर्मचारी पनि नाफाको हिस्सेदार बनाउने आफूहरुले नीति सफल देखिएको उनले बताए। 


प्रकाशित : बिहीबार , पुस ८ २०७८०५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend