सोमबार, जेठ ७ गते २०८१    
images
images

पर्यटक बसपार्क नहुँदा सोह्रखुट्टेको सडकमै पार्किङ, समस्यामा यात्रु र व्यवसायी

images
बुधबार, वैशाख २६ २०८१
images
images
पर्यटक बसपार्क नहुँदा सोह्रखुट्टेको सडकमै पार्किङ, समस्यामा यात्रु र व्यवसायी
फाइल तस्बिर

पर्यटक बसका लागि सुविधासम्पन्न बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन्।

images
images

काठमाडौं- सरकारले पर्यटन क्षेत्रमार्फत मुलुकको आर्थिक विकास गर्ने बताइरहँदा संघीय राजधानी काठमाडौंमा भने पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको छ।

images
images
images

मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटन क्षेत्रअन्तर्गत पर्यटक बसका लागि छुट्टै र व्यवस्थित बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टे सडकलाई बसपार्क बनाएर पर्यटकीय गन्तव्यमा ओहोरदोहोर गर्दै आएका छन्।

images

विगत तीन दशकदेखि काठमाडौंको कान्तिपथ सडकलाई बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि भने काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेको सडकलाई पर्यटक बसपार्कका रुपमा प्रयोग गरिँदै आइएको छ।

images
images

पर्यटक बसका लागि सुविधासम्पन्न बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य छन्। पर्यटक बस संघीय राजधानी काठमाडौंदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन्।

images
images

काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटक बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो। सोह्रखुट्टेबाट सञ्चालन हुने पर्यटकीय बस बिहान ७ बजे पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुरलगायत स्थानमा जाने गरेका छन्।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्यले पर्यटक बसपार्क नहुँदा यात्रुलाई बस चढाउन र ओराल्न समस्या हुँदै आएको बताए। 'पर्यटक सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा जथाभावी रुपमा यात्रुलाई चढाउँदा र ओराल्दा ट्राफिक प्रहरीलाई पनि सास्ती हुँदै आएको छ', उनले भने।

हाल पर्यटक बस दिउँसोमात्र नभएर रातिको समयमा समेत सञ्चालन हुँदै आएका छन्। कोरोना महामारीबाट नराम्रोसँग थला परेको मुलुकको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ। कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहे पनि मुलुकको संघीय राजधानी काठमाडौंमै पर्यटक बसका लागि पार्किङस्थल नहुँदा व्यवसायी समस्यामा परेका हुन्।

नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापाले विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै पर्यटक बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताए। 'पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले विगतदेखि नै राख्दै आएको छ', उनले भने।

नाट्टाले पर्यटकीय बस निर्माणका लागि यातायात व्यवस्था विभाग, प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालय, काठमाडौं महानगरलगायतलाई ध्यानाकर्षण गराउँदै आएको नाट्टाका अध्यक्ष थापाको भनाइ छ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नेपालको पर्यटन क्षेत्रको विकासका साथै पर्यटन प्रवर्द्धनका लागि पर्यटक बसपार्क आवश्यक रहेको बताए। 'पर्यटकीय बसपार्क निर्माण गर्ने कुरामा महानगर सकारात्मक छ', उनले भने।

कामपाले पर्यटक बसपार्क निर्माणका लागि सम्भावित ठाउँको अध्ययनसमेत गरिरहेको जनाएको छ। पर्यटक बसलाई गोँगबुस्थित नयाँ बसपार्कबाट सञ्चालन गर्नका लागि पटकपटक छलफल समेत हुँदै आएको छ। पोखरा महानगरपालिकाले भने पर्यटक बसका लागि छुट्टै बसपार्क निर्माण गरी सञ्चालन गरिसकेको छ।

हाल काठमाडौंबाट पोखरा र चितवनको सौराहका लागि झण्डै एक सय पर्यटकीय बस आवतजावत गर्दै आएका छन् भने तिनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पुर्‍याउँदै आएका छन्। व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन्। रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य रहेको व्यावसायीले गुनासो गरेका छन्।

पर्यटक बसमात्र होइन अन्य सार्वजनिक सवारीसाधनसमेत सडकबाट सञ्चालन हुँदै आएका छन्। कामपा-२६ विष्णुमति किनारामा नयाँ बसपार्क सञ्चालनमा आए पनि त्यसको नजिकै माछापोखरीको वरपरबाट धादिङ, नुवाकोट, रसुवालगायत जिल्लामा जाने सवारीसाधन आवतजावत गर्दै आएका छन्। चितवन र हेटौँडा सञ्चालन हुने माइक्रोबस भने कलंकीको सडकछेउबाट सञ्चालन हुँदै आएका छन्।

जनकपुर, वीरगञ्जलगायतका क्षेत्रमा सञ्चालन हुने सवारीसाधन गौशाला र सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र रामेछाप चल्ने सवारीसाधन भने जडीबुटीबाट सञ्चालन हुँदै आएका छन्।

कामपाले काठमाडौंको चक्रपथ वरपरबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेपनि उक्त निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले सबै सवारीसाधनलाई नयाँबसपार्कभित्रबाट व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि महानगरले काम गरिरहेको बताए।

'काठमाडौंभित्र प्रवेश गर्ने सबै सवारीसाधनलाई व्यवथित रुपमा सञ्चालन गर्ने नीति महानगरले लिएको छ, चाँडो कार्यान्वयनमा जान्छौँ', उनले भने।

काठमाडौंको गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल दैनिक तीन सयदेखि चार सय सवारीसाधन देशका विभिन्न जिल्लामा ओहोरदोहोर गर्दै आएका छन्। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८१०५:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend