काठमाडौं- भृकुटीमण्डपमा आज बुधबारदेखि १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा सुरु भएको महोत्सव बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राज्यले साना तथा घरेलु उद्योगको प्रवर्द्धनमा विशेष नीति अवलम्बन गर्नुपर्ने बताए। साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।
महोत्सवमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयले स्वदेशी वस्तुको उपभोग निर्देशिका चाँडै ल्याउने तयारी गरिरहेको बताए। उक्त निर्देशिकाले स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने राज्यको नीतिमा जोड दिने उनको भनाइ छ।
स्वदेशी व्यापारलाई अनलाइनमा पुर्याउन बजेट छुट्याउने, महिला उद्यमीलाई कर छुट गरी प्रोत्साहन गर्ने, हरेक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना र सञ्चालन गर्नेलगायत कार्यक्रम आगामी बजेटमा समावेश गराउन महासंघका अध्यक्ष सिंहले सरकारलाई सुझाव दिएका छन्।
महोत्सवमा घरेलु उद्यमीका दुई सयभन्दा बढी स्टल प्रदर्शनमा राखिएका छन्।