सोमबार, जेठ ७ गते २०८१    
images
images

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल भन्छन् - जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आम्दानी र आत्मसन्तुष्टि

images
बुधबार, वैशाख २६ २०८१
images
images
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल भन्छन् - जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आम्दानी र आत्मसन्तुष्टि

४० हजार रूपैयाँबाट सुरु भएको व्यवसायमा अहिले ६० लाख रूपैयाँ लगानी पुगिसकेको छ। जागिर भन्दा व्यवसायमै आत्मसन्तुष्टि र आम्दानी मिल्ने बताउने गोपाल खनालले पशुपालनबाटै वार्षिक सात लाखसम्म बचत गरिरहेका छन्।

images
images

घोराही- दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उनी शिक्षण पेसामा आबद्ध थिए। गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन्।

images
images
images

‘ग्रीन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरु सबै काम छोडेर यही पेसामा रमाइरहेका छन्। 'शिक्षण पेसा अथवा अन्य कुनै जागिर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिएँ। अहिले यसमै रमाइरहेको छु', खनालले भने, 'कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ। अब त यसैमा अभ्यस्त भइसकेँ।'

images

सुरुवाती दिनमा चार लिटरबाट दूध बेच्न सुरू गरेका उनले हाल एक सय २० लिटर उत्पादन गरेर बिक्री गरिरहेका छन्। त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रिवितरण गर्दै आएको बताउने उनलाई अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाजापाँजो मिलाउन भ्याइनभ्याइ छ। परिवारको सहयोग र आफ्नो मेहनतले ४० हजार रूपैयाँबाट सुरू गरिएको व्यवसायमा अहिले ६० लाख रूपैयाँ लगानी पुगेको खनालको भनाइ छ।

images
images

'सुरुवाती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गर्थ्यो तर निरन्तर मेहनत गरेमा सफलता मिल्दो रहेछ। अहिले मासिक एक लाखको कारोबार गरिरहेको छु भने वार्षिकरूपमा करिब सात लाखसम्म बचत हुने गरेको छ', खनालले भने।

images
images

उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफै उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए। उनी स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ।

उनी व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए विदेशिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्छन्। किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ। त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानून बनाउनसकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए।

'मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि हैनौँ तर विविध कारणले जिल्लामा विभिन्न पेसा-व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर विदेशीन थालेका छन्। यसलाई रोक्न जरूरी छ', उनले भने।

डेरीलाई प्रतिलिटर ७० रूपैयाँमा बिक्री गर्ने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा संलग्न हुन नपाउनुमा छ।  

'हामीले नाफाघाटा, दुःख कष्ट सहेर उत्पादन गर्छौँ तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ। यसले हामीलाई निराश बनाएको छ', खनालले गुनासो गरे।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन्। उनीलगायत घोराही उपमहानगरपालिका-२ रामपुर क्षेत्रका किसानबाट दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, वैशाख २६ २०८११२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend