आइतबार, जेठ ६ गते २०८१    
images
images

निगालोबाट बनेका सामग्रीको बिक्रीबाट राम्रो आम्दानी गर्दैछन् धादिङको उत्तरी क्षेत्रका बासिन्दा

images
मंगलबार, वैशाख २५ २०८१
images
images
निगालोबाट बनेका सामग्रीको बिक्रीबाट राम्रो आम्दानी गर्दैछन् धादिङको उत्तरी क्षेत्रका बासिन्दा

पछिल्लो समय यस गाउँमा मोटरबाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन्।

images
images

धुसेनी- धादिङको उत्तरी क्षेत्रका बासिन्दाले निगालोबाट बनेका सामग्रीको बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन्।

images
images
images

तामाङ समुदायको बाहुल्य रहेको गंगाजमुना गाउँपालिका वडा नं १ र २ स्थित धुसेनी, लताप, तावल, रिगाउँ, ताजीमराङ, रिचेतलगायतका बासिन्दाले निगालोबाट बनेका सामग्री बिक्री गरेर मनग्य आम्दानी लिन थालेका हुन्।

images

ती गाउँका बासिन्दाको मुख्य आम्दानी नै निगालोका सामग्री बिक्री वितरण गरेर आर्थिक उपार्जन गर्नु हो। प्रशस्त पानीको स्रोत रहेको यहाँका बासिन्दाले पछिल्लो समय कफी खेतीलाई समेत प्राथमिकता दिँदै आएका छन्।

images
images

गंगाजमुना-२ स्थित धुसेनीकी ४४ वर्षीया मीरा तामाङ दैनिक पाँचवटासम्म थुन्से बुन्छिन्। उनका श्रीमान् सुवास वैदेशिक रोजगारीका लागि मलेसियामा छन्। उनले थुन्से बिक्रीबाट गरेको आम्दानीबाट चारजना छोराछोरीको पालनपोषण गर्दै आएकी छिन्। उनका दुई छोरा र दुई छोरी छन्।

images
images

'मैले थुन्सेसँग चामल, नुन, तेल, मसलालगायतका सामग्री साट्ने गरेको छु, थुन्से बिक्री गर्नुपर्‍यो भने प्रतिथुन्से १ सय ८० रूपैयाँ दिने गरेका छन्, पहिले २ सय सम्ममा बेचेको थियौँ अहिले खासै राम्रो भाउ आएको छैन', उनले भनिन्।

पछिल्लो समय यस गाउँमा मोटरबाटो पुगे पनि थुन्सेको भाउ भने घटेकाले यहाँका किसान चिन्तित भएका छन्।

यस्तै, सोही गाउँकी ७२ वर्षीया श्रीमाया तामाङ पनि निगालोका सामग्री बनाएर बिक्री वितरण गर्दै आएकी छिन्। उनले निगालोका सामग्री बनाएको पचासौँ वर्ष भइसक्यो। उनको घरमा हाल नौ जनाको परिवार रहेको छ।

'यो गाउँमा बिहे गरेर आएदेखि नै निगालोका सामग्री बनाउन सुरु गरेको हुँ, यहाँका सबै मान्छेले निगालोबाट बनेका सामग्री बनाउनुहुन्छ', उनी भन्छिन्। यहाँका महिला आफै निगालो काटेर ल्याएर चोया काढेर निगालोका सामग्री बुन्छन्।

सोही गाउँका ७८ वर्षीय लेका लामा पनि लामो समयदेखि निगालोका सामग्री बनाउँदै आएका छन्। उनले लेका थुन्से, डोका, डाला, मान्द्रो, भकारी सबै सामग्री बनाउँदै आएका छन्। उनलाई थुन्से बुन्नका लागि श्रीमती कान्छी तामाङले समेत साथ दिँदै आएका छन्।

पुर्ख्यौली पेसा भएका कारण पनि यहाँका सबै घरका मानिस निगालोका सामग्री बनाउन व्यस्त हुँदै आएका छन्। धुसेनी, लताप र तावलमा मात्र चार सयभन्दा बढी घर रहेका छन्। यहाँका अधिकांश घरको आम्दानीको स्रोत नै निगालोका चोयाबाट बनेका सामग्री बिक्री वितरण नै हो। यहाँका बासिन्दाले आफ्नो पाखा बारी र अनुत्पादक भूमिमा निगालो खेती गर्दै आएका छन्।

गंगाजमुना-२ का वडाध्यक्ष बलबहादुर तामाङ यहाँका प्रत्येक घरले वार्षिक एक हजार रूपैयाँदेखि एक हजार पाँच सयसम्म निगालोबाट बनेका सामग्री बिक्री वितरण गर्दै आएको बताउँछन्।

यहाँ उत्पादित निगालोका सामग्री धादिङको जिल्ला सदरमुकाम धादिङबेँसीदेखि गोरखा, चितवन, काठमाडौं, पोखरा, लमजुङलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको वडाध्यक्ष तामाङ बताउँछन्।

पछिल्लो समय गंगाजमुना गाउँपालिकाले सफा र स्वच्छ गंगाजमुना अभियानसमेत सुरु गरेको छ। उक्त गाउँपालिकाभित्र उत्पादित फोहरलाई व्यवस्थापन गर्नका लागि गंगाजमुनाले प्रत्येक वडा र गाउँमा फोहर फाल्नका लागि निगालोबाट बनेका थुन्सेको प्रयोग गर्दै आएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ स्थानीयस्तरमा उत्पादित सामग्रीलाई गाउँपालिकाले प्रयोगमा ल्याएर फोहर व्यवस्थापनमा लगाएको बताउँछन्। उक्त गाउँपालिकाले वडा नं १ रिगाउँदेखि वडा नं ७ बुढाथुमसम्मका प्रत्येक वडा र गाउँमा थुन्सेको प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ बताउँछन्।

पर्यटनको अथाह सम्भावना बोकेको गंगाजमुना गाउँपालिकाले भर्खरै ‘गंगाजमुना तीनसुरे पदमार्ग’को समेत अन्वेषण तथा प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ।

गंगाजमुनाभित्र रहेको प्राकृतिक, संस्कृति र साहसिक पर्यटनको विकासका लागि गाउँपालिकाले ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को सहकार्यमा सम्भावित क्षेत्रको अध्ययन तथा अवलोकन गरेको छ।

गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल पर्यटकलाई गंगाजमुनाभित्र आकर्षण गर्नका लागि सरसफाइ र आतिथ्यता नै महत्वपूर्ण भएको बताउँछन्।

'गंगाजमुनालाई सरसफाइको हिसाबले नमूना गाउँपालिका बनाउनका लागि हामीले स्थानीयस्तरमा उत्पादित निगालोबाट बनेका थुन्सेलाई ‘डस्बिन’का रुपमा प्रयोग गरेका हौँ', उनी भन्छन्।

गंगाजमुना गाउँपालिकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मायाको चिनोस्वरुप स्थानीय तहमा उत्पादित निगालोबाट बनेका सामग्रीलाई प्राथमिकता दिने संयोजक ढकाल बताउँछन्। उनले निगालोका सामग्रीलाई पर्यटन प्रवर्द्धनसँग जोड्नका लागि गाउँपालिकाले काम गर्ने बताए। रासस


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१०७:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend