आइतबार, जेठ ६ गते २०८१    
images
images

अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’

भाटभटेनीमार्फत बेमौसममा पनि उपयुक्त मूल्यमा बिक्री हुने छ तरकारी र फलफूल

images
आइतबार, वैशाख २३ २०८१
images
images
अब खेर जाने छैन किसानको उत्पादन, मीनबहादुर र उमेश मिलेर बनाउँदै छन् अत्याधुनिक ‘कोल्ड स्टोर’

नेपालमा स्थानीय तहहरूमा बनाइएका कतिपय कोल्ड स्टोरमा राखिएका उत्पादन नै बिग्रने समस्या बढिरहेको अवस्थामा उनीहरूले विशेष प्रविधियुक्त उच्चस्तरीय काम होस् भन्नेमा ध्यान दिइरहेका छन्।

images
images

काठमाडौं- भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ र उद्योगी एवं कांग्रेस नेता उमेश श्रेष्ठ मिलेर देशका विभिन्न स्थानमा अत्याधुनिक ‘कोल्ड स्टोर’ निर्माण गर्ने भएका छन्। जसले किसानले उत्पादन गर्ने तरकारी, फलफूललगायतका कृषि उपजले बजार नपाउने र बिग्रिएर जाने समस्या धेरै हदसम्म हल हुने देखिएको छ। 

images
images
images

कृषि उत्पादनलाई बजारको समस्या नहोस् साथै बेमौसममा पनि बिक्री गर्न सकियोस् भन्ने हेतुले मीनबहादुर र उमेशले ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ खोल्न लागेका हुन्। यी दुई उद्यमीले केही मुख्य सहरहरूमा अत्याधुनिक मल्टी चेम्बरसहितको कोल्ड स्टोर खोल्ने योजना तयार पारेर काम अघि बढाइसकेका छन्। 

images

विशेष गरी शित भण्डार (कोल्ड स्टोर) को वातावरण उचित र उपयुक्त बनाइराख्न सकिने र त्यसलाई तलमाथि गर्न सकिने प्रविधिमा आधारित रहेर उनीहरूले काम गर्न लागेका छन्। जसले शित भण्डारको वातावरणमा उत्पादनको वजन उही राखिराख्न सहयोग हुनेछ। आद्रताको उचित स्तर मिलाइरहन सक्दामात्र शित भण्डारमा राखिएका उत्पादनको गुणस्तर रहिरहने छ। 

images
images

नेपालमा स्थानीय तहहरूमा बनाइएका कतिपय कोल्ड स्टोरमा राखिएका उत्पादन नै बिग्रने समस्या बढिरहेको अवस्थामा उनीहरूले विशेष प्रविधियुक्त उच्चस्तरीय काम होस् भन्नेमा ध्यान दिइरहेका छन्। 

images
images

शिक्षा, स्वास्थ्य, जलविद्युतमा लगानी गरिरहेका उद्योगी उमेश श्रेष्ठले पछिल्लो समय कृषि उत्पादनमा पनि कामहरू गरिरहेका छन्। कृषि उत्पादनलाई उपभोक्तासँग जोडेर बजारसम्म पुर्‍याउनका लागि भाटभटेनी स्टोरमार्फत सहज हुने भएकाले यसमा मीनबहादुर गुरुङ पनि सँगै जोडिएका हुन्।

‘हाल देशभर भएका चिस्यान केन्द्रहरू राम्रो नहुँदा त्यहाँ राखिएका उत्पादन छिटो बिग्रने भइरहेको छ, सोही कारण हामीले नमूना कोल्ड स्टोरहरू निर्माण गर्न खोजेका हौँ,’ उद्योगी श्रेष्ठले भने। 

अहिले स्थानीय सरकारलगायत निजी क्षेत्रले पनि विभिन्न शित भण्डार बनाएको भए पनि कुनै पनि स्तरीय नदेखिएका कारण आफूहरूले नमूना रुपमा काम गर्न लागेको उनी बताउँछन्। जसमा पहिलो चरणमा चितवन टाँडीमा ६ बिगाह जग्गामा ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ खोल्ने प्रक्रिया अघि बढाएका छन्। 

ग्रिडिङ, लेबलिङ, प्याकिङ पनि सोही ठाउँमा गर्नेगरी ठूलो स्केलमा काम सुरु गर्न लागिएको श्रेष्ठले बताए। चिवतनमा उत्पादन हुने केराले बजार नपाएर खेल गएको र कृषकले उचित मूल्य नपाएको देखेर पहिलो चरणमा चितवनमा काम गर्न लागेको उनले बताए। चितवन तरकारी र फलफूल उत्पादनमा पनि अग्रणि नै रहेको छ।

'फलफूल र अन्य हरियो तरकारीहरू ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’ मा भण्डारण गर्दा महिनौँपछि पनि ताजा नै राखेर बिक्री गर्न सकिने भएकोले आफूहरू यता केन्द्रित भएको श्रेष्ठ बताउँछन्। 

भण्डार गरिएका कृषि उत्पादन भाटभटेनीका देशभर रहेका विभिन्न २७ स्टोरबाट बेमौसममा पनि बिक्री गरिने योजना उनीहरूले बनाएका छन्। जसका कारण भारतबाट हुने आयातलाई समेत निरुत्साहित गर्न सकिने र उपभोक्तालाई सस्तो मूल्यमा स्तरीय उत्पादन मिल्ने उनीहरू बताउँछन्। जसमा कृषकले समेत राम्रो मूल्य पाउने छन्। उत्पादन खेर जाने समस्या समाधान हुँदा कृषिका लागि ठूलो योगदान हुनेछ। 

पहिलो चरणमा चितवनमा निर्माण गरेसँगै जनकपुर, भैरहवा, नेपालगञ्ज र इटहरीमा पनि १० हजार मेट्रिकटन क्षमताका कोल्ड स्टोर निर्माण गर्ने योजना उनीहरूले बनाएका छन्। 

‘सबै स्थानमा जग्गा तयार भइसकेका छन्, चितवनपछि अन्य ठाउँमा पनि निर्माण गर्दै जाने तयारी छ’ श्रेष्ठले भने। उत्पादित कृषि उत्पादन टिपेको २४ घण्टाभित्र कोल्ड स्टोरमा राख्नुपर्ने भएकाले धेरै उत्पादन हुने क्षेत्रको नजिक-नजिक नै आफूहरूले काम अघि बढाइरहेको उनले बताए। 

अत्याधुनिक कोल्ड स्टोरमा कृषकहरूको उत्पादन स्टोर गराउने र बेमौसमा बिक्रीका लागि बजारमा ल्याउनेगरी काम गर्न लागेको भाटभटेनीका सञ्चालक मीनबहादुरले पनि बताए। ‘भाटभटेनीमा कृषि उत्पादनलाई महत्व दिएरै उपभोक्तालाई जोडिरहेका छौँ, अब कोल्ड स्टोर हुँदा कृषकले राम्रो नाफा पनि पाउने देखिन्छ,’ गुरुङले भने। 

उनीहरूले काम अघि बढाएको ‘मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर’मा एउटा कृषि उपज अर्कोसँग नछुवाइ राखिने छ। सबैका लागि छुट्टाछुट्टै चेम्बरहरू हुने छ। उचित आद्रता र तापक्रम मिलाएर आवश्यकताअनुसार तलमाथि गर्न सकिनेगरी राखिने छ। 

नेपालमा कुनै पनि कृषि उत्पादन बढी भएर सस्तोमा बिक्री गर्न नपर्नेगरी केही महिनादेखि एक वर्षसम्म पनि कोल्ड स्टोरमा राख्न सकिने छ। उनीहरूले भाटभटेनीसँगै आवश्यकताअनुसार अन्‍य स्टोरमार्फत पनि बजारमा पठाउने योजना बनाएका छन्। 

नेपालमा भण्डारण र कोल्ड स्टोर राम्रो नहुनाले पनि मूल्य नपाएको र सिजनको समयमा किसानहरू बिचौलियाको दबाबमा पर्ने गरेको श्रेष्ठको बुझाइ छ। यसैले पनि कृषिप्रतिको आकर्षण बढ्न नसकेको उनी बताउँछन्। विगतमा आफैले पनि उत्पादन खेर जाने समस्या भोगेकाले कोल्ड स्टोरलाई विशेष प्राथमिकता दिएको उनले बताए। 

‘राम्रा कोल्ड स्टोरहरू ठाउँ ठाउँमा सरकारले नै पनि बनाउनु पर्छ, निजी क्षेत्रले बनाउँदा पनि केही सहुलियत दिन आवश्यक छ, अहिले भएका कुनै पनि कोल्ड स्टोर कामलाग्दो छैनन्,’ श्रेष्ठले भने। अब आफूहरूले बनाउन लागेको कोल्ड स्टोरमा जुम्लाको स्याउ टिपेको २४ घण्टाभित्र राख्न सकिए एकवर्षसम्म उस्तै रहने बुझाइ श्रेष्ठको छ। 

‘मेरो आफ्नै फार्मबाट यही वर्ष उत्पादन भएको स्याउ पनि धेरै बिक्री भएन। जुम्लाको स्याउ १ सय ५० रुपैयाँ प्रतिकिलो दिन्छु भन्दा पनि खरिद गर्ने भेटिएनन्, यसैले पनि कोल्ड स्टोर नै आवश्यक देखिएको छ,’ श्रेष्ठले भने। नेपालमा बर्सेनि अर्बौं रुपैयाँको स्याउ आयात भइरहेको भए पनि अन्डरभ्यालु गरेर कलछलीसमेत भइरहेको श्रेष्ठ बताउँछन्। 

अहिले उनीहरूले बनाउन लागेको कोल्ड स्टोरमा जग्गाबाहेक नै २० करोड रुपैयाँसम्म लगानी हुने छ। जग्गासमेतको हिसाब गर्दा लगानी करोडौँ रुपैयाँ हुने छ। जुन लगानीले किसानले समयमा नै उचित मूल्यमा उत्पादनहरू बेचेर नाफा सुरक्षित गर्न सक्ने, उपभोक्ताले स्तरीय उत्पादन बेमौसममा पनि खरिद गर्न सक्ने र आयातसमेत निरुत्साहित गर्न सकिने देखिएको छ। 


प्रकाशित : आइतबार, वैशाख २३ २०८१०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend