आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

दूध बिक्रीबाट मनग्य आम्दानी गर्छन् गुल्मीका किसान

images
शनिबार, वैशाख २२ २०८१
images
दूध बिक्रीबाट मनग्य आम्दानी गर्छन् गुल्मीका किसान

बजारको कुनै समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएका छन्।

images
images

तम्घास- गुल्मीको रेसुंगा नगरपालिका-७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे। विदेश (दुबई)मा उनले होटलमा काम गर्थे। उनी एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन।

images
images
images

अन्ततः उनले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे। सिद्धबाबा गौशला तथा कृषि फर्ममा १० गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गोठमा अहिले १५ माउ गाई छन्। त्यसबाहेक साना बाच्छीहरु पनि छन्। गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दूध उत्पादन गर्छन्। प्रतिलिटर ७५ रूपैयाँमा तम्घासमा उक्त दूध बिक्री गर्छन्।

images
images

'दैनिक ६ हजारको दूध बिक्री हुन्छ। वार्षिक २१ लाख ६० हजार रूपैयाँभन्दा बढी आम्दानी हुन्छ,' पाण्डेले भने, 'दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ।'

images
images

विदेशको काममा स्वतन्त्रता नहुने भन्दै उनले विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताए। पाण्डेसँग अहिले जर्सी, होलिस्टाइनलगायत जातका गाई छन्। 'बिहान साढे ४ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छु,' उनले भने, 'एकचित्त भएर काममा लागे सफल भइन्छ।'

धुर्कोट गाउँपालिका-६ का मेघनाथ अर्यालले कोभिड-१९ भन्दा अगाडि बुटवलमा व्यवसाय गर्थे। विसं २०७७ मा कोरोनाले उनलाई घर फर्कायो। बच्चाबच्चाको पढाइ पनि बन्द भयो। कोभिडले केही समय बुटबल फर्किने स्थिति भएन। केही समयका लागि गाउँ आएका अर्याल पुनः बुटबल नफर्किने गरी भैँसी व्यवसायमा लागे।

२०७७ सालबाटै ‘अर्याल पुशपक्षी फर्म’ बाट भैँसीपालन व्यवसायमा लागेका अर्यालको गोठमा अहिले २२ वटा माउ भैँसी छन्। त्योबाहेक साना पाडापाडी गरेर ३० वटाभन्दा धेरै छन्। 'प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध घरबाटै बिक्री भइरहेको छ,' अर्यालले भने, 'गाउँका १० जनालाई रोजगार पनि दिएको छु।'

उनले एउटा याममा एक सय ५० लिटरसम्म दूध बिक्री गरेको बताए। व्यवसाय सुरु गर्दाको वर्ष बाहिरी वातावरण नबुझेर घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेकाले भैँसीपालन व्यवसायमा सन्तुष्टि मिलेको छ। अर्यालले गत वर्ष भेटेरिनरी कार्यालयले पाँच लाख रूपैयाँको कार्यक्रम दिएर सहयोग गरेको बताए। सुरुमा गाउँमै भैँसीपालन व्यवसाय गर्छुभन्दा नपत्याउने गाउँलेहरु अहिले आफ्नो कर्म देखेर दंग परेका अर्यालको भनाइ छ।

अर्यालले भैँसीपालन व्यवसायका साथसाथै व्यावसायिक मकै र धानखेती पनि गरेका छन्। यसका लागि मालिका गाउँपालिका-६ मा वार्षिक १८ लाख तिर्नेगरी जग्गा भाडामा लिएका छन्। तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउँछन्।

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका-५ वस्तुका रवीन्द्र घिमिरे पनि दूध उत्पादनमै व्यस्त छन्। बिहानदेखि बेलुकासम्म उनको समय गाई/भैँसीको स्याहार, दूध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ।

'अहिलेसम्म एक करोड ६ लाख रूपैयाँ लगानी लगाएको छु, यसबाट ३० गाई/भैँसी अट्ने गोठ बनाएको छु। ३० गाई/भैँसी पनि किनेको छु,' घिमिरेले भने, 'भैँसीपालन व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ।'

घिमिरेले दैनिक ७० भन्दा बढी लिटर दूध बिक्री गरिरहेको बताए। उनले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका छन्। सानैदेखि आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि स्वरोजगार बनाउने आफ्नो लक्ष्य भएको घिमिरे बताउँछन्। कोरोना महामारीपछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उनी बताउँछन्। 'सुरुमा त कसैले पत्याएनन् तर निरन्तर गर्दै गए,' घिमिरेले भने, 'अहिले व्यावसायिक कृषक बन्न पाउँदा खुसी लागेको छ।'

माथिल्लो तह अध्ययन गरेर विदेश नै जानुपर्छ भन्ने धारणा गलत साबित गराउन आफू लागिपरेको उनले बताए। हिमालय माविबाट एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न गाउँ छोडेको २२ वर्षपछि घिमिरे फेरि गाउँ फर्किएर व्यावसायिक भैँसीपालनमा लागेका हुन्। राज्यले कृषि क्षेत्रलाई अगाडि बढाउन अनुदानको सट्टा सरल कृषि कर्जाको व्यवस्था गर्नुपर्ने घिमिरेको भनाइ छ। लम्पी स्किन रोगबाट धेरै गाई/भैँसी गुमाए पन क्षतिपूर्ति नपाएको उनको गुनासो छ।

गुल्मीमा पाण्डे, अर्याल र घिमिरे त व्यावसायिक दुग्ध उत्पादनमा लागेका केही प्रतिनिधिमूलक कृषकमात्रै हुन्। बजारको कुनै समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएका छन्। अधिकांश दूध सम्बन्धित स्थानीय बजारमै खपत हुने गरेको छ। त्यसका अलवा तम्घास, रिडी, सत्यवतीको जुहाङ्ग, रुरुक्षेत्रको बलेटक्सार, मुसिकोटको वामिटक्सार जस्ता ठाउँमा दूध बढी खपत हुँदै आएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले गुल्मीको दुई लाख ६० हजार जनसङ्ख्यालाई वार्षिक ९० लिटरका दरले पिउन पुग्नेगरी दूध उत्पादन भएको बताए। जिल्लामा दूध उत्पादन वृद्धि गर्न भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले अगुवा किसानलाई तालिम दिएको उनले बताए। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend