शनिबार, जेठ ५ गते २०८१    
images
images

बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्वार

images
शनिबार, वैशाख २२ २०८१
images
images
बागमती सिँचाइ आयोजना ब्यारेजको तीन दशकपछि जीर्णाेद्वार

४०३ मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार नहुँदा ब्यारेजको संरचना समाप्त हुने खतरा थियो।

images
images

जनकपुर- बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज)को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ। ४०३ मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार नहुँदा ब्यारेजको संरचना समाप्त हुने खतरा थियो।

images
images
images

सर्लाही तथा रौतहटका किसानको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको सो आयोजनाले सम्बन्धित किसान तथा जलउपभोक्ता समितिको संयुक्त बैठकको निर्णयानुसार सो आयोजनाको ब्यारेजसहित संरचनाको मर्मतसुधार कार्य सुरु भएको हो। आयोजनाको विशेष पहलमा ३० जल उपभोक्ता समिति तथा किसानको बैठकले तत्काल सिँचाइका लागि दिँदै आएको पानी बन्द गर्ने निर्णयसमेत गरेको छ।

images

यही बैशाख १३ गतेदेखि आगामी जेठ २० गतेसम्म सो ब्यारेजको मर्मतसुधार गर्नुपर्ने भएकाले सो अवधिमा कुनै पनि बाली उत्पादन नहुँदा तथा पानी आवश्यक नभएको अवस्थामा मर्मतसुधार अगाडि बढाइएको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए। दुई वर्षअगाडि सो ब्यारेजको मर्मतसुधारका लागि ‘टेन्डर’ आह्वान भए पनि किसानले पटक पटक पानीको माग तथा ठेकेदार कम्पनीको ढिलासुस्तीले ब्यारेज मर्मतसुधारमा समस्या आएको थियो।

images
images

आयोजनाका डिभिजनल इन्जिनियर अनुभव चौधरीले लामो समयदेखि ब्यारेजको मर्मतसुधार नहुँदा ब्यारेजको तल्लो पक्की ढलान पूर्णरुपमा फुटेको, ढोका कमजोर भएका, प्लास्टर उप्किएपछि रडहरु देखिएको तथा रड खिया लाग्ने अवस्थामा पुगेको, पर्खाल भत्किएको, जथाभावी फोहोरमैला जमेकाले सुधारको कार्य भइरहेको बताए।

images
images

ब्यारेजको सरसफाइ, रंगरोगन, सिमेन्ट ढलान, तारजाली बिछ्याउने, बिम्व राख्ने, पर्खाल निर्माण, ढोका मर्मतसुधारलगायत कार्य भइरहका छन्। '६५ लाख रूपैयाँको लागतमा ब्यारेजको मर्मत भइरहेको छ', इन्जिनियर चौधरीले भने।

विसं २०३५ मा नेपाल सरकारको लगानीमा निर्माण सुरु भएको सो आयोजनाले २०५० सालदेखि सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। चार सय तीन मिटर लम्बाइ रहेको सो आयोजनाको ब्यारेजमा ५० ढोका तथा दुई मूल नहर रहेका छन्। पूर्वतर्फ ६४.४ क्युसेक पानीको बहाव क्षमता तथा  पश्चिमतर्फ ४८.४ क्युसेक पानीको बहाव क्षमता रहेको छ। पूर्वी नहरबाट २२ हजार ६ सय हेक्टर तथा पश्चिमी नहरबाट २३ हजार तीन सय ४० हेक्टर जमिनमा सिँचाइ भइरहेको उनले बताए।

पश्चिमी मूल नहरअन्तर्गत रौतहटको भलोहिया, वहुवरी तथा वग्ही गरी तीन शाखा तथा सर्लाहीको मानपुर, गढैया र लक्ष्मीपुर गरी तीनवटा शाखा रहेका छन्। ती शाखाबाट पनि उपशाखा र नहरबाट खेतमा सिँचाइ गर्ने काम भइरहेको छ। सो आयोजनाको एक लाख २२ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य छ।

सुनकोशी मरिनडाइभर्सन निर्माण भएपछि सो आयोजनालाई २०८२ सालदेखि ६७ क्युसेक पानी उपलब्ध हुने तथा त्यसबाट धनुषा, महोतरी, सर्लाही, रौतहट र बारा जिल्लामा समेत सिँचाइ हुने आयोजनाले जनाएको छ।

सो आयोजनामा तीन सय कर्मचारी कार्यरत छन्। आयोजनाको चालु आर्थिक वर्षमा ८३ करोड रूपैयाँ बजेट रहेको छ। सो आयोजनाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ६० प्रतिशत भएको इन्जिनियर चौधरीले जानकारी दिए। यसअघि २०५० सालमा गएको बाढीबाट आयोजनामा क्षति पुगेको थियो। रासस


प्रकाशित : शनिबार, वैशाख २२ २०८१०४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend